विश्वकपमा छनोट हुन नसकेपछि  इटाली फुटबल अध्यक्षको राजीनामा 

मंगलबार विश्वकपको युरोपेली प्लेअफ छनोटमा इटाली टाइब्रेकरमा बोस्निया एन्ड हर्जगोभिनासँग पराजित भएको थियो ।

चैत्र २०, २०८२

एएफपी

Italian football president resigns after failing to qualify for World Cup

मिलान — इटाली लगातार तेस्रोपल्ट विश्वकपमा छनोट हुन असफल भएपछि त्यसको पहिलो असर परेको छ फुटबल संघमा । इटाली फुटबल संघका अध्यक्ष ग्याब्रिएले ग्राभिनाले बिहीबार राजीनामा दिएका छन् । संघको बैठकमार्फत उनले पद छाड्ने निर्णय गरेका हुन् । 

मंगलबार विश्वकपको युरोपेली प्लेअफ छनोटमा इटाली टाइब्रेकरमा बोस्निया एन्ड हर्जगोभिनासँग पराजित भएको थियो । त्यसले गर्दा अमेरिका, क्यानडा र मेक्सिकोमा हुने विश्वकपमा इटाली पुग्न सकेन । त्यस्तै प्रशिक्षण टोलीमा रहेका इटालीका पूर्वकप्तान जियानलुइजी बुफोनले पनि राजीनामा दिएका छन् ।

विश्व फुटबलकै महाशक्ति इटालीको यो असफलतापछि ७२ वर्षीय ग्राभिनाले आफूले सम्हाल्दै आएको जिम्मेवारी छाड्ने निर्णय गरेका हुन् । अब नयाँ नेतृत्वका लागि जुन २२ मा चुनाव हुनेछ । त्यसमा सबैभन्दा बलियो प्रत्याशी जियोभानी मालागो छन् । उनी इटाली ओलम्पिक कमिटीका पूर्वअध्यक्षसमेत हुन् । 

ग्राभिनाले राजीनामा दिएपछि इटालीका प्रमुख प्रशिक्षक गेनारो गाटुसोले पनि आफ्नो पद छाड्ने सम्भावना बढेको छ । ग्राभिनाले नै ती प्रशिक्षकलाई यो सिजनसम्म पदमा रहन अनुरोध गरेका थिए । तर सन् २००७ को विश्वकप विजेता टिमका सदस्यले इटालीलाई विश्व फुटबलको सबैभन्दा ठूलो प्रतियोगितामा छनोट गराउन सकेनन् । ग्राभिना सन् २०१८ मा अध्यक्ष पदमा चुनिएका थिए । 

उनले तत्कालीन अध्यक्ष कार्लो टाभेचिओको स्थान लिएका थिए । त्यही वर्ष सन् २०१८ मा पनि इटाली विश्वकपमा छनोट हुन नसकेपछि टाभेचिओले राजीनामा दिएका थिए । ग्राभिनाको नेतृत्वकालमा इटालीको फुटबलको सबैभन्दा ठूलो उपलब्धि भन्नु नै २०२० को युरो जित्नु थियो । त्यतिबेला प्रशिक्षक रोबर्टो मान्चिनीको नेतृत्वमा इटाली ३७ खेलको अपराजित यात्राबाट गुज्रिएको थियो । 

वेम्बलीमा भएको उक्त फाइनलमा इटालीले इंग्ल्यान्डलाई हराएको हो । तर त्यसयता ग्राभिना अध्यक्ष छँदै इटाली दुईपल्ट विश्वकपमा छनोट हुन असफल रह्यो भने युरोमा डिफेन्डिङ च्याम्पियनको रूपमा पनि इटालीको प्रदर्शन कमजोर रह्यो । ग्राभिनाले पछिल्लो समय इटालीका अन्य खेललाई गैरव्यावसायिक भएको आरोप लगाएपछि उनको चर्को आलोचना भएको थियो ।

इटालीमा अधिकांश ओलम्पिक खेलाडीलाई सरकारी जागिर प्राप्त हुने गर्छ । इटालीले पछिल्लो शीतकालीन ओलम्पिकमा कीर्तिमान ३० पदक जितेको थियो, त्यसमा १० स्वर्ण समावेश थियो ।सन् २०२४ को पेरिस गृष्मकालीन ओलम्पिकमा पनि इटालीले ४० पदक जितेको थियो । तर, यही बेला विश्व फुटबलमा इटालीको प्रदर्शन भने कमजोर बनेको छ ।

एएफपी

Link copied successfully