प्रधानमन्त्री कप पुरुष क्रिकेट : गण्डकीमाथि सुदूरपश्चिमको सहज जित

टीबी शाह क्रिकेट मैदानमा भएको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको गण्डकी प्रदेशले ४९ ओभरमा १ सय ९० रन बनाएको थियो ।

चैत्र १९, २०८२

शंकर आचार्य

Prime Minister's Cup Men's Cricket: Sudurpaschim's easy win over Gandaki

पर्सा — प्रधानमन्त्री कप पुरुष क्रिकेट प्रतियोगिताअन्तर्गत बिहीबार वीरगन्जमा भएको खेलमा सुदूरपश्चिम प्रदेशले गण्डकी प्रदेशलाई २ विकेटले पराजित गरेको छ। 

टीबी शाह क्रिकेट मैदानमा भएको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको गण्डकी प्रदेशले ४९ ओभरमा १ सय ९० रन बनाएको थियो । गण्डकीका लागि अर्जुन कुमालले ४४ रन तथा विपिन खत्रीले ३० रनको योगदान दिएका थिए । सुदूरपश्चिमका बलर शेर मल्लाले उत्कृष्ट प्रदर्शन गर्दै १० ओभरमा ४२ रन खर्चेर ५ विकेट लिए । हेमन्त धामीले ९ ओवरमा २६ रन दिई २ विकेट हात पारे ।

जवाफमा सुदूरपश्चिम प्रदेशले ३९ दशमलव २ ओभरमा ८ विकेट गुमाउँदै १ सय ९१ रन बनाएर लक्ष्य पूरा गर्‍यो । उसका अभिषेक पालले ९३ बलमा ६६ रनको महत्त्वपूर्ण इनिङ्स खेले । नारायण जोशीले ४८ बलमा अविजित ४५ रन बनाएर टोलीलाई जितसम्म पुर्‍याए।

गण्डकीका लागि विपिन खत्रीले ५ विकेट लिए पनि उनको प्रयास टोलीलाई जित दिलाउन पर्याप्त हुन सकेन । उनले १० ओभरमा ३६ रन दिई ५ विकेट हात पारेका थिए । अर्का बलर सुभास भण्डारीले १ विकेट लिएका थिए ।

खेलका उत्कृष्ट खेलाडी सुदूरपश्चिमका शेर मल्ल घोषित भए। जितसँगै सुदूरपश्चिम प्रदेशले प्रतियोगितामा आफ्नो स्थिति थप मजबुत बनाएको छ ।

शंकर आचार्य कान्तिपुरका पर्सा संवाददाता हुन् ।

Link copied successfully