प्रधानमन्त्री क्रिकेट कप : मधेशको विजयी यात्रामा रोक

बिहीबार भएको खेलमा लगातार जित्दै आएको मधेश प्रदेशलाई ६ विकेटले पराजित गर्दै आर्मी विजय बनेको हो ।

चैत्र १९, २०८२

अजित तिवारी

Prime Minister's Cricket Cup: Madhesh's winning journey halted

जनकपुर — त्रिभुवन आर्मी क्लबले प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा आफ्नो दबदबा कायम राखेको छ । 

जनकपुरस्थित प्रस्तावित रामजानकी अन्तर्राष्ट्रिय रंगशालाको क्रिकेट मैदानमा बिहीबार भएको खेलमा लगातार जित्दै आएको मधेश प्रदेशलाई ६ विकेटले पराजित गर्दै आर्मी विजय बनेको हो । मधेश प्रदेशले सुरुमा ब्याटिङ गर्दै ४८.२ ओभरमा सबै विकेट गुमाएर १ सय ८४ रन बनाएको थियो । मधेश प्रदेशका ओपनिङ व्याटर मयन यादव र निरजकुमार यादव सस्तैमा पवेलियन फर्किएका थिए । 

मयनले १८ बलमा संघर्षपूर्ण ५ रन बनाएर आउट भए भने निरजले पनि २३ बलमा ९ रन मात्र जोड्न सके । मधेश प्रदेशका अर्का ब्याटर कप्तान अनिलकुमार साह भने अरु खेलभन्दा यो खेलमा व्याटिङमा चलेका हुन् । अरु खेलमा औसत रन बनाएका साहले यो खेलमा ६२ बलमा ४१ रन बनाए । अर्का व्याटर पवन सर्राफले ३९ बलमा २३ रन, अरनिको यादवले १९ बलमा ९ रन र विशाल सुस्लिङले सर्वाधिक ७३ वलमा ५१ रन बनाएका थिए । 

यस्तै, आदिल आलमले १४ बलमा ४ रन, रुपेशकुमार सिंहले ८ रन, विशाल पटेलले २६ वलमा १६ रन, रंजितकुमारले ५ बलमा ४ रन बनाएका थिए । मधेश प्रदेशले अतिरिक्त १४ रन जोडेका थिए । आर्मी क्लबको कसिलो बलिङको अगाडि मधेश प्रदेशले खुलेर ब्याटिङ गर्न सकेको थिएन । 

आर्मीका बलर बसिर अहमदले ८.३ ओभरमा ३१ रन खर्चिदै सर्वाधिक ३ विकेट लिएका थिए । साहव आलमले १० ओभर फ्याँक्दै ४० रन दिएर २ विकेट, नरेश साउदले १० ओभरमा २७ रन दिँदै २ विकेट लिएका थिए । आकाश चन्दले ६ ओभरमा ३३ रन खर्चिँदै १ विकेट, कुशल मल्लले ७ ओभरमा १४ रन दिँदै १ विकेट र पवन सार्कीले ३ ओभरमा १५ रन खर्चिँदै १ विकेट लिएका थिए । 

१ सय ८५ रनको लक्ष्य लिएर मैदानमा उत्रिएका आर्मीका ब्याटरले २९.३ ओभरमा नै ४ विकेटको क्षतिमा १ सय ८५ रन बनाएर विजयी भए । 

आर्मीका ओपनिङ व्याटर तृतराज दासले ७२ बलमा सर्वाधिक ६९ रन बनाए । अर्का ओपनर कप्तान विनोद भण्डारीले २९ बलमा ३२ रन बनाएर आउट भए । भिम सार्कीले ८ रन बनाएर आउट भए । कौशल मल्लले २९ बलमा २४ रन, वसिर अहमदले ३९ बलमा ४१ रन र अर्जुन साउदले ७ बलमा १ रन बनाए । आर्मीले अतिरिक्त ७ रन पाएका थिए । 

मधेश प्रदेशका बलर आदिल आलमले ३ ओभरमा २५ रन खर्चिँदै २ विकेट, विशाल सुस्लिङले २.२ ओभरमा १० रन दिँदै १ विकेट र पवन सर्राफले ६ ओभर फ्याँक्दै ३२ रन खर्चिएर १ विकेट लिएका थिए ।

अजित पत्रकार तिवारी कान्तिपुरका जनकपुर संवाददाता हुन् ।

Link copied successfully