चारपटकको विश्वकप च्याम्पियन इटाली लगातार तेस्रोपटक विश्वकपमा छनोट हुन असफल
रोम — विश्व फुटबलको महाशक्तिले एकपल्ट फेरि अविश्वसनीय पीडा भोग्नुपरेको छ । चारपल्टको विश्वकप च्याम्पियन इटाली लगातार तेस्रो पटक विश्वकपमा छनोट हुन असफल भयो । यो टोलीका लागि लज्जाबोधको स्थिति बन्यो । युरोपेली प्लेअफ छनोटमा मंगलबार इटाली १० खेलाडीमा सीमित रहेर ६६ औं वरीयताको बोस्निया एन्ड हर्जगोभिनाको हातबाट पेनाल्टी शुटआउटमा पराजित भएको थियो ।
त्यसअघि निर्धारित र अतिरिक्त समयको खेल १–१ को बराबरीमा टुंगिएको थियो । मोइस केनले अजुरीका लागि सुरुमै गोल गरेका थिए । लगत्तै इटालीका सेन्टर ब्याक एलेसान्द्रो बोस्टिनो सिधा रातो कार्ड खाएर मैदान छाड्न बाध्य रहे । बोस्नियाका वैकल्पिक खेलाडी हारिस ताबाकोभिचले ७९ औं मिनेटमा बराबरी गोल फर्काए । फुटबलका उपलब्धिमा गर्व गर्ने इटाली यसअघिका दुई प्लेअफमा स्विडेन र उत्तरी म्यासेडोनियासँग हारेको थियो ।
इटालीका प्रशिक्षक गेनारो गाटुसोले खेलपछि भने, ‘सबैलाई हामी किन चुक्यौं र यस पछाडिको कारण भन्न सजिलो हुनेछ । तर वास्तविक तथ्य के हो भने हामी लगातार तेस्रोपल्ट विश्वकप छनोट हुनबाट चुकेका छौं । अहिले आफ्नो लक्ष्य हात पार्न हामी असफल रहँदै आएका छौं । यो इटालीको राष्ट्रिय टिमसँगै क्लबका लागि पनि निकै कठिन परिस्थिति हो ।’
बोस्नियाले टाइब्रेकर ४–१ ले जित्यो । टोली सन् २०१४ यता पहिलो पटक विश्वकपमा छनोट हुन सफल रह्यो । त्यो नै बोस्नियाको एक मात्र विश्वकप खेलेको अनुभव थियो । पेनाल्टीमा पिओ इस्पोसिटो र ब्रायन क्रिस्टान्टे गोल गर्न चुके । यस्तोमा अमेरिकामा जन्मेका इस्मिर बाज्राकटेरेभिचले बोस्नियाका लागि पेनाल्टीमा निर्णायक गोल गरे । यससँगै बोस्नियाली टिममा खुसीसाली छायो भने इटालीका खेलाडी स्तब्ध देखिए ।
इटालीका डिफेन्डर लियोनार्दो स्पिनजालोले भने, ‘अहिले पनि हामी विश्वास गर्न सकिरहेका छैनौं । हामी जसरी विश्वकपबाट बाहिरियौं र जुन प्रकारले यी सबै घटना भए, यसले हामी सबै स्तब्ध छौं । यो हाम्रो मात्र दुःख होइन, यो त हामी सबै परिवारको पीडा हो । हाम्रा केही सन्ततिले इटालीले विश्वकप खेलेको पनि हेर्न पाएका छैनन् ।’ युरोपेली मंगलबार प्लेअफबाट स्विडेन, टर्की र चेक गणतन्त्र भने विश्वकपका लागि छनोट भएका छन् ।
इटालीले सन् १९३४, १९३८, १९८२ र २००६ मा विश्वकप जितेको थियो । अब इटाली जत्तिको टिमले कम्तीमा १६ वर्ष यो प्रतियोगिता नखेलेर एक कालखण्ड बिताउने भएको छ । सन् २०१० र २०१४ को विश्वकपमा इटाली छनोट भएता पनि दुवै अवसरमा नकआउट चरण पुग्न असफल भएको थियो । यस्तोमा इटालीको फुटबलको संघर्ष त्यही बेलादेखि सुरु भइसकेको थियो, त्यो एकाएक देखिएको थिएन ।
यसबीच इटालीले सन् २०२१ मा भने युरोपेली च्याम्पिनयसिपको उपाधि चुमेको थियो । इटालीले अन्तिम पटक विश्वकपको नटआउट चरणमा खेलेको भनेको सन् २००६ मा थियो, जतिबेला उपाधि जित्ने क्रममा फाइनलमा फ्रान्सलाई टाइब्रेकरमा हराएको थियो । इटालीको फुटबल संघका अध्यक्ष ग्याब्रियल ग्राभिनाले भनेका छन्, ‘मलाई लाग्छ, हामी अहिले साँच्चै ठूलो समस्यामा छौं ।’
इटाली विश्वकपमा छनोट नभएको भनेको यसअघि सन् १९५८ मा मात्र थियो । यस्तोमा अब १५ वर्षमुनिका इटालीको एउटा पुस्ताले नै आफ्नो देशले विश्वकप खेलेको हेर्न पाएका छैनन् । अहिले इटालीको राष्ट्रिय टिममा जति पनि खेलाडी छन्, त्यसमध्ये कसैसँग विश्वकप खेलेको अनुभव छैन । अहिलेको हारले प्रशिक्षक गाटुसोको भविष्य के हुनेछ, त्यो पनि अन्योलपूर्ण छ ।
उनले पछिल्लो जुनमा टिमको जिम्मा पाएका थिए, त्यति बेला प्रशिक्षक लुसियानो स्पालेटीलाई बर्खास्त गरिएको थियो । नर्वेविरुद्धको खेल गुमाएयता नै इटालीको टिम संकटमा परेको हो । नर्वेसँग दोस्रो छनोट खेल पनि गुमाएपछि इटाली समूहको दोस्रो स्थानमा थियो । गाटुसोले अन्त्यमा भने, ‘हामी विश्वकपमा छनोट हुन सकेनौं, त्यसैले म व्यक्तिगत रूपमै सबैसँग माफी माग्न चाहन्छु । अहिले भविष्यबारे कुरा गर्नु ठीक हुन्न । हामी विश्वकपमा छनोट हुनुपर्ने नै थियो ।’
विश्वकपलाई ४८ टिमकै टुंगो
डीआर कंगो र इराकको छनोटसँगै विश्वकप २०२६ खेल्ने टिमको चयनको लामो र जटिल यात्रामा बुधबार पूर्णविराम लागेको छ । अमेरिका, क्यानडा र मेक्सिकोमा हुने विश्वकपमा भाग लिने सबै ४८ टिमको टुंगो लागेको हो । विश्व फुटबलको सबैभन्दा ठूलो प्रतियोगितामा छनोट भएका भाग्यमानी देश कुन कुन हुन् त ?
एसिया (९)
जापान, इरान, दक्षिण कोरिया, अस्ट्रेलिया, साउदी अरेबिया, कतार, उज्वेकिस्तान, जोर्डन र इराक ।
अफ्रिका (१०)
मोरक्को, सेनेगल, अल्जेरिया, ट्युनेसिया, इजिप्ट, घाना, आइभरी कोस्ट, दक्षिण अफ्रिका, केप भार्डे र डीआर कंगो ।
युरोप (१६)
इंग्ल्यान्ड, फ्रान्स, जर्मनी, स्पेन, पोर्चुगल, नेदरल्यान्ड्स, बेल्जियम, क्रोएसिया, स्विट्जरल्यान्ड, अस्ट्रिया, स्कटल्यान्ड, नर्वे, स्विडेन, टर्की, चेक गणतन्त्र, बोस्निया एन्ड हर्जगोभिना ।
दक्षिण अमेरिका (६)
अर्जेन्टिना, ब्राजिल, उरुग्वे, कोलम्बिया, इक्वेडर र पाराग्वे ।
उत्तर तथा मध्य अमेरिका (६)
अमेरिका, क्यानडा, मेक्सिको, पानामा, हाइटी र क्यारासाउ ।
ओसियाना (१)
न्युजिल्यान्ड
