बास्केटबल लिगमा गोल्डेनगेट र आर्मीको लय   

त्रिपुरेश्वरस्थित राखेप कभर्डहलमा भएको पहिलो खेलमा गोल्डेनगेटले केभिसी हाउन्ड्स र अर्को खेलमा आर्मीले टाइम्स बास्केटबल क्लबलाई हराएको थियो ।

चैत्र १९, २०८२

ध्रुव तुलाधर

Golden Gate and Army in the Basketball League

काठमाडौँ — हिमालयन जाभा राष्ट्रिय बास्केटबल लिगमा बिहीबार दुई शीर्ष टोली गोल्डेनगेट बास्केटबल क्लब र त्रिभुवन आर्मी क्लबले जित पाएका छन् । त्रिपुरेश्वरस्थित राखेप कभर्डहलमा भएको पहिलो खेलमा गोल्डेनगेटले केभिसी हाउन्ड्स र अर्को खेलमा आर्मीले टाइम्स बास्केटबल क्लबलाई हराएको थियो ।

गोल्डेनगेटले ९१–७८ स्कोरमा विजय नतिजा निकाल्यो । गोल्डेनगेटले २६–२२ को अग्रतामा पहिलो क्वार आफ्नो पक्षमा पार्दा दोस्रो क्वाटरमा दुवैले २०–२० स्कोर थपेका थिए । तेस्रो क्वाटरमा गोल्डेनगेटले २७ स्कोर थप्दा हाउन्डसले १९ स्कोर गर्‍यो । चौथो क्वाटर गोल्डेनगेटले १८–१७ को झिनो अग्रतासहित खेल जितेको थियो । उत्कृष्ट प्रदर्शन गरेका गोल्डेनगेटका निकेश मगर प्लेयर अफ द म्याच भए ।

गोल्डेनगेटको १२ खेलमा ११ औ जित हो । टोली २३ अंकसहित शीर्षस्थानमा यथावत छ । हाउन्ड्सको चोथो हार हो । हाउन्डस पछिल्लो पटक पनि गोल्डेनगेटसँगै ९१–८७ स्कोरले हारेको थियो । हाउन्ड्सको लगातार ८ खेलको विजय यात्रा रोकिएको छ । टोली १२ खेलमा २० अंक बटुल्दै चौथो स्थानमा छ ।

त्यस्तै आर्मीले टाइम्समाथि ९७–८५ स्कोरको नतिजा निकाल्यो । आर्मीको ११ औं जित हो । आर्मीले पहिलो चरणमा टाइम्ससँग बेहोरेको हारको बदला लिएको छ । आर्मीले १३ खेलबाट गोल्डेनगेट २३ अंक जोडेको छ । आर्मी दोस्रो स्थानमा छ । दोस्रो हार बेहोरेको टाइम्स २२ अंकसहित तेस्रोमा छ । टाइम्सको लगातार १० खेलको विजय यात्रा रोकिएको छ ।

आर्मीले पहिलोमा २९–२६ र दोस्रोमा २४–२२ स्कोर गर्दै हाफटाइमसम्म ५३–४८ को अग्रता बनाएको थियो । त्यसपछि तेस्रो क्वाटरमा २३–१० को फराकिलो अन्तर बनाएर आर्मी अगाडि बढेको थियो । चौथो क्वाटरमा टाइम्सले २७–२१ स्कोर गरे पनि आर्मीको जितबाट रोक्न सकेन । आर्मीका निश्चल महर्जन प्लेयर अफ द म्याच भए ।

ध्रुव तुलाधर दुई दशकभन्दा बढी समयदेखि पत्रकारिता गरिरहेका छन् । उनी हाल कान्तिपुर दैनिकको खेलकुद ब्युरोमा कार्यरत छन् ।

Link copied successfully