सन्दीप एक्लैले ७ विकेट लिएपछि कर्णाली निरीह

सन्दीप एक्लैले ९.१ ओभरमा ४३ रन खर्चिंदै ७ विकेट लिएपछि कर्णाली धराशायी बन्यो । प्रस्तावित रामजानकी बहुउद्देश्यीय अन्तर्राष्ट्रिय रंगशालामा बागमतीले पहिलो ब्याटिङ गर्दै ३८.४ ओभरमा सबै विकेट गुमाई १ सय ८० रन बनाएको थियो ।

चैत्र १८, २०८२

अजित तिवारी

Karnali is helpless after Sandeep alone took 7 wickets

जनकपुर — प्रधानमन्त्री (पीएम) कप राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगितामा बुधबार बागमती प्रदेशका सन्दीप लामिछानेको आक्रामक बलिङसामु कर्णाली प्रदेश निरीह बनेको छ । कर्णाली ६० रनले पराजित भयो ।

सन्दीप एक्लैले ९.१ ओभरमा ४३ रन खर्चिंदै ७ विकेट लिएपछि कर्णाली धराशायी बन्यो । प्रस्तावित रामजानकी बहुउद्देश्यीय अन्तर्राष्ट्रिय रंगशालामा बागमतीले पहिलो ब्याटिङ गर्दै ३८.४ ओभरमा सबै विकेट गुमाई १ सय ८० रन बनाएको थियो । ओपनिङ ब्याटर शिवम तिवारीले २२ बलमा १८ र शुभ कंसाकारले २३ बलमा २० रन बनाए । अर्का ब्याटर पवनबहादुर थापाले ३३ बलमा २२, इशान पाण्डेले ४० बलमा २७, विवेक रानामगरले ८० बलमा सर्वाधिक ५६ रन बनाए ।

त्यसपछि आएका बागमतीका ब्याटरबीच राम्रो साझेदारी हुन पाएन । प्रतिश जीसीले १२ बलमा ३, सन्दीप लामिछानेले ५ बलमा २ र सुभाष खत्रीले ५ बलमा १ रन मात्र जोडे । बागमतीले अतिरिक्त २९ रन पाएको थियो ।

Karnali is helpless after Sandeep alone took 7 wickets

कर्णालीका दिवान पुनले ८ ओभरमा २८ रन खर्चिंदै ३ विकेट, प्रकाश जैसीले ४४ रन, दीपेन्द्र रावतले ३० रन र निश्चल रावतले २३ रन खर्चिंदै २–२ विकेट लिएका थिए ।

१ सय ८१ रनको लक्ष्य पाएको कर्णालीको एकपछि अर्को विकेट पतन भयो । कर्णालीले २५ ओभरमै सबै विकेट गुमाई १ सय २० रनमात्र बनाउन सक्यो । ५ ब्याटरबाहेक अरूले दोहरो अंकमा रन बनाउन सकेनन् ।

कर्णालीका ओपनिङ ब्याटर रवीन्द्रजंग शाहीले १८ बलमा १४ रन र सुनिल धमला शून्यमै आउट भए । अर्का ब्याटर निश्चल रावलले ४२ बलमा २८ रन, विपिन विक्रम शाहीले २३ बलमा १५ रन, दिनेश अधिकारीले १५ बलमा २२ रन र दिवान पुनले २२ बलमा १० रन बनाए । अुर्जन क्षेत्रीले ७, दीपेन्द्र रावलले ७, प्रकाश जैसीले ५ रन बनाएका थिए । कर्णालीले अतिरिक्त ७ रन पायो ।

बागमतीबाट सन्दीपको ७ विकेटबाहेक । सुभाष खत्री, प्रतिश जीसी र रिजन ढकालले १–१ विकेट लिएका थिए ।

अजित पत्रकार तिवारी कान्तिपुरका जनकपुर संवाददाता हुन् ।

Link copied successfully