एसिया कप छनोटको निराशाजनक यात्रा 

लाओससँग १–० ले पराजित भएसँगै नेपालले एसिया कप  छनोटमा जितविहीन भएर यात्रा टुंग्यायो

चैत्र १८, २०८२

हिमेश

Disappointing journey to Asia Cup qualifiers

काठमाडौँ — जति बेला एसिया कप फुटबल छनोट तेस्रो चरणको ‘ड्र’ निस्केको थियो, त्यति बेलाका मुख्य प्रशिक्षक म्याट रसले दाबी गरेका थिए, नेपालको छनोट सम्भावना छ । यति बेला छनोटमा समूह ‘एफ’ को सबै खेल सकिएको छ, नेपाल निराशाजनक रूपमा अन्तिम स्थानमा रह्यो । नेपालको खातामा ३ अंक त रह्यो, तर यो मलेसियाविरुद्धको कारबाहीमा जुरेको मात्रै थियो । लाओसविरुद्धको अन्तिम खेलमा हारका साक्षी रहे, नयाँ प्रशिक्षक गुग्लिएर्ल्मो एरेना । 

इटालीका यी प्रशिक्षकको नेपालका लागि डेब्यु खेल थियो । उनको नेतृत्वमा नेपालले आसलाग्दो खेल प्रदर्शन सकेन र भेन्टियानमा मंगलबार भएको खेलमा लाओसको हातबाट १–० ले पराजित भयो । लाओसबाट एकमात्र गोल बोनफाचान बोनकोङले ४८ औं मिनेटमा गरे । नेपालको प्रदर्शन धेरै हदसम्म कमजोर रह्यो । पूरा खेल अवधिमा नेपालले एकमात्र उल्लेखनीय आक्रमण बुनेको थियो । यो कृतिशरत्न छुन्जुको नाममा रह्यो । 

लाओसले बुनेका केही सटिक आक्रमण गोलमा परिणत भएको भए जित अन्तर अझ फराकिलो हुन्थ्यो । लाओसविरुद्ध नेपालको यो लगातार दोस्रो हार हो । यो नै छनोटमा नेपालका सबैभन्दा खराब प्रदर्शन रह्यो । समूहमा लाओस नै त्यस्तो टिम थियो, जसका विरुद्ध नेपालले जित अपेक्षा गर्न सक्थ्यो, तर मैदानी नतिजा ठीक विपरीत रह्यो । खेलअघि प्रशिक्षक एरेनाले भनेका थिए, यो खेलमा जितबाहेक अर्को विकल्प हुने छैन । 

नेपालले त्यो जितको विकल्पका लागि सम्भावना नै देखाउन सकेन । यो यति धेरै खराब नतिजा किन रह्यो भने लाओससँग यसअघिका सबै ६ खेलमा नेपाल लगातार अपराजित थियो । त्यसमध्ये ४ खेलमा नेपाल विजयी थियो । 

समूहको अर्को खेलमा भियतनामले मलेसियालाई ३–१ ले हरायो । यो नतिजापछि भियतनाम ६ खेलबाट १८ अंकसहित शीर्षस्थानमा रह्यो । भियतनाम यसअघि नै एसिया कपका लागि छनोट भइसकेको छ । मलेसिया ९ अंकसहित दोस्रोमा रह्यो । लाओस ६ अंकमा सानले तेस्रो स्थानमा रहन सफल रह्यो । नेपालले भने चौथो तथा अन्तिम स्थानमा चित्त बुझायो । सम्भवतः नेपालले यो खेल नियमअनुसार आफ्नै भूमिमा खेल्न पाएको भए फरक नतिजा सम्भव हुने थियो, तर दशरथ रंगशाला फिफाको प्रतिबन्धबाट गुज्रिइरहेको छ । 

जितहीन नेपाल

अन्तर्राष्ट्रिय फुटबलमा यति बेला एक अर्को खराब चरणबाट गुज्रिइरहेको छ । टिमले जित हात पार्न नसकेको लगातार ८ खेल पुगेको छ । नेपालले पछिल्लो पटक सन् २०२५ को मार्चमा सिंगापुरलाई उसकै मैदानमा १–० ले हराएको थियो । त्यसलगत्तै नेपाल मलेसियासँग छनोट खेलमा २–० ले पराजित भएको हो । पछि मलेसियाले अयोग्य खेलाडी खेलाएको आरोपमा कारबाही भोगेको थियो । त्यसै कारण नेपालको पक्षमा ३–० को विजय नतिजा आइपुगेको थियो । 

त्यसयता नेपालले कुनै पनि खेल जितेको छैन । यी ५ खेलमध्ये ५ खेलमा पराजित छ भने तीन खेल बराबरीमा टुंगिएको छ । अझ यी सबै खेलमध्ये पाँचमा नेपालले गोल पनि गर्न सकेको छैन । यसबीच तीन प्रशिक्षक टिमसँग जोडिए । त्यसमा विदेशी रस र म्याटसँगै हरि खड्का थिए । नेपालले अब यो जितविहीन यात्रा कहिले टुंग्याउने हो, त्यो टुंगो छैन । किनभने विवाद र अन्योलबीच नेपाली फुटबललाई लिएर फिफाले के निर्णय गर्ने हो, त्यो पनि अनिश्चित छ ।

हिमेश

Link copied successfully