नेपाली फुटबलको भविष्य अन्योलमा रहेकै बेला आज लाओससँगको महत्त्वपूर्ण खेलमा नेपाल मैदान उत्रिँदै छ ।
What you should know
काठमाडौँ — टिम पहिला विदेश प्रस्थान, त्यसपछि मात्र टिम घोषणा । एसिया कप छनोट फुटबलको तेस्रो चरणमा मंगलबार हुने आफ्नो अन्तिम खेलका लागि लाओस पुगेको नेपाली राष्ट्रिय फुटबल टिमको चर्चा हो यो ।
राष्ट्रिय खेलकुद परिषद (राखेप) ले अखिल नेपाल फुटबल संघ (एन्फा) लाई निलम्बन गरेको जटिल परिस्थितिबीचको यो पहिलो अन्तर्राष्ट्रिय खेल हुनेछ । डर छ, कुनै ठूलै अप्रिय घटनाअगाडि यो अन्तिम अन्तर्राष्ट्रिय खेल पनि हुन सक्नेछ ।
एन्फा स्रोतलाई विश्वास गर्ने हो भने फिफाले नेपाली फुटबललाई लिएर कुनै निर्णय दिनु अघि यही खेल कुरिरहेको छ । यो खेलपछि फिफाका लागि आफ्नो निर्णय दिन बाटो खुल्नेछ । ठीक यहींनिर इतिहासको एउटा संयोग पनि छ । जति–जति बेला नेपाली फुटबल यस्तै विवादमा पर्छ, ठीक त्यही बेला मैदानी फुटबल भने राम्रो हुने गर्छ । यस्तोमा के लाओसविरुद्ध नेपालले उसकै भूमिमा राम्रो खेल्ने विश्वास गर्न सकिन्छ ?
यो खेल अन्य दुई कारणले विशेष छ । पहिलो कारण हो, यही खेलबाट नेपालका लागि मुख्य प्रशिक्षक गुग्लिएर्ल्मो एरेनाले डेब्यु गर्दै छन् । नेपालले पाएको दोस्रो इटालियन प्रशिक्षकको नेतृत्वमा नेपालले पहिलोपल्ट खेल्दै छ । दोस्रो कारण हो, लाओसविरुद्ध बदला लिन अवसर । अन्तर्राष्ट्रिय फुटबलमा भुटानपछि नेपालका लागि सबैभन्दा प्रिय प्रतिद्वन्द्वी थियो भने त्यो लाओस थियो । लाओसविरुद्ध खेल्यो कि जित लगभग निश्चित जस्तै थियो ।
तर, यसपल्टको छनोटमा त्यो कथा फेरियो । नेपालले यस छनोटमा पहिलो लेगमा लाओसको सामना गर्दा २–१ को पराजित भोग्यो । धेरै अर्थमा यो नतिजालाई अन्तर्राष्ट्रिय फुटबलमा सबैभन्दा खराब मान्न सकिन्छ । अब त्यसलाई भुलाउने एउटै उपाय भनेको यसपल्ट लाओसलाई उसकै घरमा हराएर बदला लिने मात्र हो । त्यसो त यो खेल दशरथ रंगशालामै हुनुपर्ने हो, तर फिफा र एसियाली फुटबल महासंघ (एएफसी) ले अन्तर्राष्ट्रिय खेलका लागि रंगशाला अयोग्य ठानेको छ ।
फेरि यो त्यही खेल हो, जसले समूहको अन्तिम स्थानमा रहने टिमको निर्णय गर्नेछ । भियतनाम यसअघि नै यो समूहबाट एसिया कपका लागि छनोट भइसकेको छ । मलेसियाविरुद्ध हुने उसको खेलको नतिजाको पनि खासै अर्थ छैन । मलेसिया दोस्रो स्थानमै रहेनछ । यो त्यही टिम हो, जसले अयोग्य खेलाडी खेलाएवापत कारबाहीमा जितेको २ खेल गुमाइसकेको छ । त्यसैले जति बेला नेपाल लाओसविरुद्ध मैदानमा उत्रन्छ, टिमसामु जितबाहेक अर्को विकल्प हुने छैन ।
समूहमा अहिलेको तालिकामा भियतनाम १५ अंकमा शीर्षमा छ । त्यसपछि मलेसियाको ९ अंक छ । सबै ५ खेल जितेको मलेसिया कारबाहीको मारमा छ । त्यसपछि लाओस र नेपाल समान ३ अंकमा छन् । नेपालले खासमा छनोटमा एउटै खेल पनि जितेको छैन । दुवै टिमले जुन ३ अंक हात पारेको हो, त्यो मलेसिया कारबाहीमा परेपछि ३–० जितको निर्णयबाट आएको हो ।
जितकै लागि खेल्ने
नेपालका इटालियन प्रशिक्षक एरेना पनि यो तथ्यमा सहमत छन् । उनले भनेका छन्, वास्तवमै नेपाललाई जितबाहेक अर्को नतिजा स्वीकार्य हुने छैन । सोमबार आयोजित प्रिम्याच कन्फ्रेन्समा उनले भनेका छन्, ‘लाओसविरुद्ध हामी जितकै लागि मैदानमा उत्रन्छौं । युवा र अनुभवी खेलाडीको सन्तुलन मिलाएर लाओस आएका छौं ।’ संयोग एउटा अर्को के छ भने उनी यसअघि लाओस टिमकै प्रशिक्षक थिए । त्यसैले पनि उनलाई भन्दा लाओस टिमबारे अरू कसलाई नै थाहा हुन्छ होला ?
उनी थप्छन्, ‘मेरो अहिलेको लक्ष्य भनेको युवा खेलाडीको पुस्ता तयार पार्नु हो । त्यसैले केही नयाँ अनुहार टिममा राखेको छु । हामी खेलका लागि पूर्ण तयार छौं ।’ कप्तान किरणकुमार लिम्बू पनि मान्छन्, जित नै एक मात्र उद्देश्य रहनेछ । उनले भने, ‘मैदानमा उत्रेपछि जित नै लक्ष्य हुने गर्छ । राम्रो तयारी भएको छ । प्रशिक्षकले बुनेको रणनीतिअनुसार खेल्नेछौं ।’ खेल नेपाली समयअनुसार साँझ ७ बजे सुरु हुनेछ । तय छ, नेपाली भूमिमा खेल्नुपर्ने खेल आफ्नै घरमा खेल्न पाएर लाओस खुसी नै रहेको हुनुपर्छ ।
५ नयाँ अनुहार
एरेनाले तयार पारेको टिम अलिकति फरकभन्दा हुन्छ । उनको २३ सदस्यीय टिममा ५ नयाँ अनुहार छन् । उनीहरू पेम्बा दोर्जे, मिलन राई, युवराज खड्का, रोमन भुजेल र योगेश धिमाल हुन् । उनीहरू आएयता बाहिरिएका ठूला नाममा अञ्जन विष्टदेखि एरिक विष्ट र लाकेन लिम्बू छन् । खासमा मलेसियाविरुद्ध छनोट खेलको टिमबाट ७ खेलाडी हटाइएको छ । स्थगित राष्ट्रिय लिग २०८२ मा राम्रो गर्नेले मौका पाएको स्थिति हो यो ।
कप्तानमा किरण भइहाले । टिमका अन्य खेलाडीमा अभिषेक लिम्बू, आदित्य शाक्य, अनन्त तामाङ, आयुष घलान, विमल पाण्डे, विशाल सुनार, दिपेश गुरुङ, जिलेस्पीजंग कार्की, कृतिशरत्न छुन्जु, मणिकुमार लामा, मनीष डाँगी, रोहन कार्की, रोहित चन्द, सनिश श्रेष्ठ, सुमन श्रेष्ठ, सुमित श्रेष्ठ र योगेश गुरुङ । सम्भवतः प्रशिक्षक एरेनाले जसरी अहिले टिमको घोषणा गरेका छन्, उनको एउटा नजर भविष्यको टिममा केन्द्रित छ, विशेषतः साफ च्याम्पियनसिपका लागि ।
फुटबलभित्रको विवादकै कारण नेपाल र हङकङबीचको खेलसमेत स्थगित भइसकेको स्थितिमा जति बेला टिम लाओसविरुद्धको खेलपछि स्वदेश फर्कने छ । एउटै प्रश्न सबैतिर तेर्सिएको हुनेछ, अब नेपाली फुटबलमा के हुनेछ ? फिफाको प्रतिबन्धपछि कतै साफ च्याम्पियनसिप खेल्ने अवसर त गुम्ने होइन ? यदि यो डरले अहिलेका खेलाडीलाई पनि सताइरहेको छ, उनीहरू आफ्नो खेलजीवनलाई लिएर अनिश्चित छन् भने त्यो भन्दा अर्को ठूलो दुर्भाग्य के नै होला र ?
