गोल्डेनगेटका दिप्सन केसी प्लेयर अफ द म्याच भए
काठमाडौँ — टाइम्स र गोल्डेनगेट बास्केटबल क्लबले सोमबार हिमालयन जाभा बास्केटबल लिग (एचजेएनबीएल) जित हात पारेका छन् ।
त्रिपुरेश्वरस्थित राखेप कभर्डहलमा टाइम्सले सोलो बास्केटबल क्लबलाई ९५–७२ स्कोरले पराजित गर्यो । लगातार दसौं जित पाएको टाइम्सका लागि श्रेयसबहादुर शाहले सर्वाधिक २४ स्कोर गरे । मनिष केसी प्लेयर अफ द म्याच भए ।
टाइम्सले पहिलो क्वाटर २८–२५ र दोस्रो क्वाटर २८–८ ले अग्रता बनाएर हाफटाइमसम्म ५६–३३ को अग्रता बनाएको थियो । त्यसपछि टाइम्सले तेस्रो क्वाटर २१–१८ ले आफ्नो पक्षमा पार्दा चौथो क्वाटर सोलोले २१–१८ ले स्कोर जोडेको थियो । टाइम्सले ११ खेलबाट २१ अंक जोडेको छ । सोलोको यो नवौं हार हो । सोलो ११ खेलबाट १३ अंक जोडेर पाँचौँ स्थानमा छ ।
अर्को खेलमा गोल्डेनगेटले प्लेबक्स एरेनालाई ११२–५९ को फराकिलो अन्तरले हरायो । गोल्डेनगेटका दिप्सन केसी प्लेयर अफ द म्याच भए । गोल्डेनगेटको पनि ११ खेलमा दसौं जित हो । २१ अंक जोडेको गोल्डेनगेट शीर्षस्थानमा छ भने समान अंक भए पनि टाइम्स दोस्रोमा छ ।
आइतबार राति त्रिभुवन आर्मी क्लबले रोयल स्पोर्ट्सलाई १०२–७५ ले पराजित गरेको थियो । आर्मीले १० खेल खेल्दा नवौं जित पाएको छ । १९ अंकसहित आर्मी तेस्रो स्थानमा छ । आर्मीका लागि निश्चल महर्जनले २२ स्कोर गरे । आर्मीका सयुन राई प्लेयर अफ द म्याच घोषित भए ।
