नेपालका लागि अन्तिम चारमा प्रवेश गर्नु ठूलो रहेन, खालि समस्या त्यसलाई काट्न गाह्रो हुनु हो । मालेमा रहेका प्रशिक्षक उर्जन श्रेष्ठ आशावादी छन् ।
What you should know
काठमाडौँ — दक्षिण एसियाली पुरुष उमेर समूहको सबैभन्दा माथिल्लो प्रतियोगिता हो, यू–२० साफ च्याम्पियनसिप । यति बेला आठौं संस्करण माल्दिभ्सको मालेमा भइरहेको छ ।
सुरुआती दुई संस्करण जितेको नेपाल सन् २०२४ मा अन्तिम पटक फाइनल पुगेको थियो । यस्तोमा नेपालसामु तेर्सिएको चुनौती हो, के यसपल्टको प्रतियोगितामा नेपाल फाइनल पुग्नेछ त ?
समूह चरणमा राम्रो प्रदर्शनका कारण विश्वास गर्ने ठाउँ भने छ । नेपाल यसपल्ट समूह ‘ए’ मा रहेको थियो र यसमा अपराजित रहँदै सेमिफाइनल पुगेको हो । नेपाल लगातार सेमिफाइनल पुगेको यो लगातार पाँचौंपल्ट हो । नेपाल एक पटक मात्र सेमिफाइनल पुग्न सकेको छैन, २०१९ मा ।
यस्तोमा नेपालका लागि अन्तिम चारमा प्रवेश गर्नु ठूलो रहेन, खालि समस्या त्यसलाई काट्न गाह्रो हुनु हो । मालेमा रहेका प्रशिक्षक उर्जन श्रेष्ठ आशावादी छन् । ‘यसपल्ट समूह चरणमा हाम्रो प्रदर्शन राम्रो रह्यो । सुरुको खेलमा डिफेन्समा केही समस्या आएको थियो । यो समस्या धेरै हदसम्म समाधान भइसकेको छ । हामीलाई अगाडि पनि केही समन्वयको अभाव छ । हामीसँग यसलाई सच्याएर सेमिफाइनलको तयारी गर्न तीन दिन रहेको छ ।’
बुधबार हुने पहिलो सेमिफाइनलमा नेपालले बंगलादेशको सामना गर्नेछ । अर्को सेमिफाइनलमा भारत र भुटान भिड्दै छन् । नेपालले आफ्नो समूह जित्ने क्रममा नेसनल स्टेडियममा भएका खेलमा भुटानलाई २–१ र श्रीलंकालाई १–० ले हराएको थियो । माल्दिभ्सविरुद्धको खेल भने १–१ को बराबरीमा टुंगेको थियो ।
यी सबै खेलमा नेपालले विपक्षी टिमबाट बलियो चुनौती नै सामना गर्नुपरेको थियो । ‘यो प्रतियोगितामा जति पनि टिम छन्, सबै उस्तै बराबरी छन् । त्यसैले पनि नजिकको प्रतिस्पर्धा चलिरहेको छ,’ प्रशिक्षक श्रेष्ठको विश्लेषण रहेको छ । अर्को समूहमा भारत र बंगलादेश पनि अपराजित छन् ।
डिफेन्डिङ च्याम्पियन भारत गोल अन्तरका आधारमा समूहको शीर्षमा रहेको थियो । यिनै दुई टिमबीच पछिल्लो संस्करणको फाइनल पनि भएको थियो । ‘अहिले हामी बंगलादेशी टिमको विश्लेषण गर्ने प्रयासमा छौं । त्यसपछि आवश्यक रणनीति तयार पार्नेछौं,’ श्रेष्ठ भन्छन् ।
२०२४ मा काठमाडौंमै भएको फाइनलमा नेपाललाई बंगलादेशले पराजित गरेको थियो । त्यति बेला पनि प्रशिक्षक श्रेष्ठ नै थिए । २०२५ मा भने नेपाल सेमिफाइनलमै रोकिएको थियो र त्यस बेला पनि बंगलादेशविरुद्धको खेलमै हारको सामना गर्नुपरेको थियो ।
त्यसैले श्रेष्ठ के पनि मान्छन् भने बंगलादेशको सामना गर्दा सतर्क रहनुपर्नेछ तर अघिल्लो खेलका नतिजा नै सबथोक भने होइनन् । उनको दाबी हो, नयाँ दिन नयाँ खेल हुनेछ, सबै सम्भावना खुला रहेको छ ।
माले पुगेयता नेपालले बेहोरेको सबैभन्दा ठूलो समस्या नै त्यहाँको गर्मी रहेको थियो । उच्च तापक्रमसँग अभ्यस्त हुन केही समय पनि लाग्यो ।
प्रशिक्षक श्रेष्ठ थप्छन्, ‘अहिले भने हाम्रा खेलाडीलाई मालेको मौसमसँग बानी परिसकेको छ । लिग चरणका हाम्रा तीनै खेल दिउँसो परेको थियो । संयोगले अहिले हाम्रो सेमिफाइनल पनि दिउँसो नै परेको छ । हामीलाई अहिलो त्यो समयमा खेल्न सजिलो भएको छ ।’
