पीएम क्रिकेट कप: सुदूरपश्चिमद्वारा लुम्बिनी पराजित

वीरगन्जस्थित टिबी शाह क्रिकेट मैदानमा लुम्बिनीले टस जितेर सुदूरपश्चिमलाई व्याटिङ गर्न लगाएको थियो ।

चैत्र १६, २०८२

शंकर आचार्य

PM Cricket Cup: Sudurpaschim defeats Lumbini

पर्सा — प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिता अन्तर्गत सोमबार वीरगन्जमा भएको खेलमा सुदूरपश्चिमले लुम्बिनी प्रदेशलाई १२ रनले पराजित गरेको छ ।  

वीरगन्जस्थित टिबी शाह क्रिकेट मैदानमा लुम्बिनीले टस जितेर सुदूरपश्चिमलाई व्याटिङ गर्न लगाएको थियो । सुदूरपश्चिमले ४५ ओवर ४ बलमा १ सय ६८ रनको स्कोर खडा गर्‍यो । 

सुदूरपश्चिमका दीपक बोहरले ५५ बलमा ३० र हेमन्त धामीले ४४ बलको सामना गरेर २९ रनको योगदान गरे । लुम्बिनीका बलरहरु अजय चौहानले १० ओवरमा २५ रन दिँदै ४ विकेट लिए भने सन्तोष यादवले ९ ओवर ४ बलमा ३९ रन दिएर ४ विकेट हात पारे । 

जवाफी व्याटिङ गरेको लुम्बिनीका व्याट्सम्यान सुदूरपश्चिमका बलर सामु लामो समय टिक्न सकेनन् । ४० ओवर २ बलमा १ सय ५६ रन मात्र बनाएर लुम्बिनी टिम समेटिन पुग्यो । लुम्बिनीका सन्तोष यादवले ८४ बलको सामना गरेर सर्वाधिक ६७ रन बनाए । त्यसैगरी, दर्श सुनारले ४९ बलमा ३६ रन जोडे । तर दुबैको मिहनेत सफल हुन सकेन । 

सुदूरपश्चिमका बलरहरुमा शेर मल्लले १० ओवरमा ३२ रन दिएर ३ र खडक बोहराले ५ ओवर २ बलमा १३ रन दिएर ३ विकेट हात पारे । बोहरा ‘प्लेयर अफ द म्याच’ पनि घोषित भए । 

शंकर आचार्य कान्तिपुरका पर्सा संवाददाता हुन् ।

Link copied successfully