राजस्थान रोयल्सको सानदार जित
What you should know
गुवाहटी — इन्डियन प्रिमियर लिग क्रिकेट (आईपीएल) को नयाँ सिजन, चेन्नई सुपर किंग्सको नयाँ रुपमा देखिएको टोली । तर ब्याटिङको पिडा भने पुरानै थियो । फलतः चेन्नईले आईपीएल २०२६ को आफ्नो पहिलो खेलमा सोमबार राजस्थान रोयल्ससँग ८ विकेटको पराजय भोग्नु पर्यो ।
पावर प्लेमा ४१ रन बनाउदा टोलीले ४ विकेट गुमाइसकेको थियो, जसको कारण गत सिजन पनि पुछारमा रहेको चेन्नई पहिला ब्याटिङ गर्दै १९.४ ओभरमा १ सय २७ रनमा अलआउट भयो । गुवाहटीको पिच ब्याटिङका लागि त्यत्ति सजिलो थिएन । राजस्थानको कसिलो बलिङले चेन्नई झन कमजोर बनेको थियो ।
लामो समय राजस्थानबाट खेली यसै सिजन चेन्नई आएका सञ्जु सामसन ६ रनमै आउट भए । अघिल्लो महिना भारतलाई ट्वान्टी–२० विश्वकप दिलाउदा प्लेयर अफ द सिरिजमा चुनिएका सामसनलाई नान्ड्रे बर्गरले बोल्ड गरे । सामसनको ओपनिङ जोडी कप्तान रितुराज गायकवाड पनि ६ रनमै जोफ्रा आर्चरबाट बोल्ड भए ।
बर्गरले आयुष महात्रेलाई खाता खोल्न दिएनन् । म्याथ्यु शर्ट पनि २ रनमै आउट भएपछि चेन्नई गम्भिर संकटमा परेको थियो । त्यसपछि चेन्नई ‘इम्प्याक्ट प्लेयर’ लिन बाध्य भएको थियो । सो भूमिकामा आएका सरफराज खानले २ चौका र १ छक्का प्रहार गर्दै १२ बलमा १७ रन बनाए ।
कार्तिक शर्माले १५ बल खेली १ छक्का प्रहार गर्दै १८ रन बनाए । शिवम दुबे ६ रनमै आउट भए । जेमी ओभरटनले सर्वाधिक ४३ रन बनाए । चेन्नईको इनिङ्समा आउट हुने अन्तिम खेलाडी ओभरटनले ३६ बल खेली समान २ चौका र छक्का प्रहार गरे ।
नुर अहमद १, म्याट हेनरी ५ रनमा आउट भए । अंशुल कम्बोज ७ रनमा अविजित रहे । राजस्थानबाट आर्चर, बर्गर र रवीन्द्र जडेजाले २–२ विकेट लिए । आर्चरले ४ ओभरमा १९, बर्गरले ४ ओभरमा २६ रन खर्चे ।
राजस्थानले सन् २००८ मा पहिलो सिजनको आईपीएल जित्दा जडेजा त्यसको प्रमुख सदस्य थिए । त्यसपछि चेन्नईबाट खेल्दै आएका जडेजा यस सिजन राजस्थान आएका हुन् । उनले ३ ओभरमा १८ रन खर्चेर सरफराज र दुबेलाई आउट गरे । ब्रिजेश शर्मा, सन्दीप शर्मा र रवि विस्नोइले १–१ विकेट लिए ।
वैभव सूर्यवंशीले अर्धशतक बनाएपछि राजस्थानले १२.१ ओभरमै लक्ष्य पुरा गर्यो । उनले १७ बल खेली ४ चौका र ५ छक्का प्रहार गरे । उनले यसस्वी जैसवालसँग पहिलो विकेटमा ६.२ ओभरमै ७५ रन जोडे ।
जैसवाल ३६ बल खेली ३ चौका र १ छक्का प्रहार गरी ३८ र कप्तान रियान पराग १० बल खेली समान १ चौका र छक्का प्रहार गरी १४ रनमा अविजित रहे । ध्रुव जिरेल ९ बल खेली ४ चौका प्रहार गर्दै १८ रनमा आउट भए । चेन्नईका कम्बोजले २ विकेट लिए ।
