मुम्बईको ऐतिहासिक जित

तीनपटकको विजेता कोलकाताले निर्धारित २० ओभरमा ४ विकेट गुमाई २ सय २० रन बनाएको थियो । जवाफमा पाँचपटकको च्याम्पियन मुम्बईले वानखेडे रंगशालामा २ सय २१ रनको लक्ष्य ५ बलअगाडि २ सय २४ रन बनाएर पूरा गर्‍यो ।

चैत्र १५, २०८२

एजेन्सी

What you should know

मुम्बई — रोहित शर्मा र रायन रिकेल्टनको सानदार ब्याटिङमा पाँचपटकको च्याम्पियन मुम्बई इन्डियन्सले इन्डियन प्रिमियर लिग क्रिकेट (आईपीएल)मा आइतबार विजयी सुरुआत गरेको छ । घरेलु टोलीले कोलकाता नाइट राइडर्समाथि ६ विकेटको ऐतिहासिक विजय हात पार्‍यो । 

शर्मा र रिकेल्टनको जोडीले पहिलो विकेटमा १२ ओभरभित्र १ सय ४८ रनको साझेदारी गरेपछि मुम्बईले वानखेडे रंगशालामा २ सय २१ रनको लक्ष्य ५ बलअगाडि २ सय २४ रन बनाएर पूरा गरेको हो । 

पूर्वकप्तान रोहितले ३९ बल खेली समान ६ चौका र छक्काका साथ ७८ रन बनाए । दक्षिण अफ्रिकी ब्याटर रिकेल्टन ८१ रनमा रनआउट भए । उनले ४३ बल खेल्दै ४ चौका र ८ छक्का प्रहार गरे । 

सूर्यकुमार यादव ८ बल खेली ३ चौका प्रहार गर्दै १६ र तिलक बर्मा १४ बल खेली ४ चौका प्रहार गरी २० रनमा आउट भए । कप्तान हार्दिक पाण्ड्या ११ बल खेली ३ चौका प्रहार गरी १८ र विजयी चौका प्रहार गरेका नमन धीर २ बल खेली ५ रनमा अविजित रहे । 

यसअघि टस जितेर ब्याटिङ रोजेको तीन पटकको विजेता कोलकाताले निर्धारित २० ओभरमा ४ विकेट गुमाई २ सय २० रन बनाएको थियो । मुम्बईबाट भारतको घरेलु क्रिकेट खेल्दै आएका अजिन्क्या रहाने र अङ्क्रिस रघुवंशीले कोलकाताको इनिङ्समा अर्धशतक बनाए । कप्तान रहानेले ४० बल खेली ६७ रन बनाए । उनले ३ चौका र ५ छक्का प्रहार गरे । 

उनले फिन एलनसँग पहिलो विकेटका लागि ब्याटिङ पावर प्लेभित्रै ६९ रनको साझेदारी गरेका थिए । कोलकाताले ८ ओभरभित्रै १ सय रन बनाएको थियो । एलनले १७ बल खेली ६ चौका र २ छक्का प्रहार गरी ३७ रन बनाए । क्यारन ग्रिन १८ रनमा आउट भए । रघुवंशीले २९ बल खेली ६ चौका र २ छक्का प्रहार गरी ५१ रन बनाए । रिंकु सिंह २१ बल खेली ४ चौका प्रहार गरी ३३ र रमनदीप सिंह ४ रनमा अविजित रहे ।

एजेन्सी

Link copied successfully