‘फुटबल शून्यको स्थितिमा पुग्यो’

महासचिव राईका अनुसार एन्फाले बुझेको निलम्बनको अर्थ अबको तीन महिना वर्तमान कार्यसमितिले केही काम नगरोस् भन्ने हो ।

चैत्र १४, २०८२

हिमेश

'Football has reached a state of zero'

धुलाबारी — राष्ट्रिय खेलकुद परिषद (राखेप) बाट तीन महिनाका लागि निलम्बित गरेको अखिल नेपाल फुटबल संघ (एन्फा) ले स्थगित चुनावी साधारणसभालाई शुक्रबार भेलामा परिणत गरेको छ । यसक्रममा एन्फाले भनेको छ, नेपाली फुटबल अब शून्यको स्थितिमा पुगेको छ । होटल मेची क्राउनमा आयोजित कार्यक्रममा दुइतिहाइ प्रतिनिधिको उपस्थिति थियो । त्यसमा एन्फा अध्यक्ष पंकजविक्रम नेम्वाङ र महासचिव किरण राईले बोलेका थिए ।

दुवैको एउटै भनाइ थियो, राखेपले एन्फालाई निलम्बन गर्नु ठीक भएन, यसले नेपाली फुटबललाई दुर्घटनातर्फ अग्रसर गराएको छ । यो अहिलेसम्मकै सबैभन्दा जटिल मोड हो । अध्यक्ष नेम्वाङकै भनाइमा बल अब राखेपको कोर्टमा गएको छ, निलम्बनबाट सिर्जित स्थिति मिलाउने काम पनि उसकै हो । उनले भने, ‘हाम्रो सबैभन्दा पहिलो माग त राखेपले निलम्बनको निर्णय नै फिर्ता लिनुपर्छ भन्ने हो ।’

आफ्नो भनाइ राख्ने क्रममा उनको मुख्य तर्क हो, विश्व फुटबल फिफाद्वारा निर्देशित हुन्छ, त्यसैले एन्फाका लागि पनि फिफाको निर्देशन पालना गर्नु मुख्य कर्तव्य हो । ‘नेपालको खेलकुद कानुन अन्तर्राष्ट्रिय फुटबलको नियमअनुसार मिलेको छैन, त्यसलाई परिवर्तन गर्नुपर्छ ।’

उनको थप तर्क थियो, नेपाली फुटबलमा दुई प्रकारका सरोकारवाला छन् । एकथरि फुटबल विकास चाहन्छ अर्को विनाश । अहिले विवाद ल्याउने भनेको विनाश चाहने समूहकै हो ।

उनले राखेपको कदमलाई नेपाली फुटबलमा तेस्रो पक्षको हस्तक्षेपको रूपमा पनि व्याख्या गरे । अध्यक्ष नेम्वाङले थपे, ‘हाम्रो जिम्मेवारी देशको कानुन मान्ने हो, हाम्रो जिम्मेवारी फिफाको विधान मान्नु पनि हो । प्रत्येक खेलको अन्तर्राष्ट्रिय सर्वोच्च निकायसँग मेल खाने कानुन बनाउनुपर्छ ।’ उनले सरकारसँग द्वन्द्व बनाउने पक्षमा नरहेको बताए ।

अन्त्यमा जित सत्यकै हुने र सत्य अहिलेको कार्यसमिति नै रहेको पनि अध्यक्ष नेम्बाङको दाबी थियो । उनले भेलामा उपस्थित प्रतिनिधिलाई नआत्तिन भने । त्यतिमात्र होइन, उनले कार्यक्रममा अन्त्यमा ‘नेपाली फुटबलको जय’ भन्ने नारा पनि लगाए । प्रतिनिधिले पनि तीनपल्ट दोहोर्‍याए । त्यससँगै कार्यक्रम सकिएको घोषणा गरिएको थियो ।

निलम्बनको अर्थ ?

महासचिव राईका अनुसार एन्फाले बुझेको निलम्बनको अर्थ अबको तीन महिना वर्तमान कार्यसमितिले केही काम नगरोस् भन्ने हो । त्यसैले अहिलेको कार्यसमितिले केही काम गर्ने छैन, किनभने काम गर्न पाउँदैन । त्यसैले यो शून्यको स्थिति हो । उनले भने, ‘अबको दिनमा नेपाली फुटबल कहाँ जानेछ, त्यसबारे जिम्मेवारी पूरा गर्ने काम राखेपको भएको छ । अब राखेपले नै फिफासँग आवश्यक पहल गर्नेछ ।’

उनका अनुसार चुनावी साधारणसभाका लागि फिफा र एसियाली फुटबल महासंघ (एएफसी) का प्रतिनिधि नेपाल आएका थिए । बाटोमै छँदै राखेपले एन्फालाई तीन महिना निलम्बन गरेको निर्णय आएको थियो । यस्तोमा ती प्रतिनिधि र एन्फाका पदाधिकारीबीच छलफल भएको थियो । प्रतिनिधिको सल्लाहमा चुनाव नगर्ने स्थिति बन्यो । त्यसपछि मात्रै एन्फाले अर्को सूचना नआएसम्म चुनाव स्थगित गरेको घोषणा गरेको थियो । फिफा र एएफसीका प्रतिनिधि उक्त बैठकपछि फर्किहालेका थिए ।

अबको केही दिनमा ती प्रतिनिधिले फिफालाई आफ्नो प्रतिवेदन पेस गर्नेछ, अन्तिम निर्णय आउने छ । महासचिव राईका अनुसार उनीहरूले के गर्नेछ, त्यसको केही संकेत छैन । उनले थपे, ‘अब हामी कोही पनि नेपाली फुटबलको जिम्मेवारीमा रहेनौं । अब के हुनेछ, त्यो पनि ठ्याक्कै भन्न सक्दैनौं । त्यसैले यो असाध्यै जटिल स्थिति हो ।’ उनले पछिल्लो चारवर्षे कार्यकालमा सबै खाले फुटबल गतिविधि भएको दाबी गर्दै त्यसका बावजुत आफूहरूमाथि लगातार आक्रमण भइरहेकोप्रति असन्तोष जनाए ।

अन्योल र अनिश्चितता

राखेपको एन्फालाई निलम्बन गरेपछि सबैभन्दा बढी समस्या अहिले चलिरहेको प्रतियोगिता र नेपालको अन्तर्राष्ट्रिय सहभागितामा पर्ने भएको छ । अहिले माल्दिभ्सको मालेमा पुरुष यू–२० टिमको साफ च्याम्पिनयसिपमा निरन्तर सहभागितामा प्रश्न रहने छैन । यस्तै एक दुई दिनमै एसियाली छनोट तेस्रो चरणको अन्तिम खेल खेल्न लाओस जान लागेको टिमका लागि समस्या नहुन सक्छ ।

तर अब यो टिम कसरी लाओस जानेछ, त्यसबारे पनि अन्योल र अनिश्चिता छ । सबैभन्दा बढी प्रभाव भने नेपाली महिला राष्ट्रिय टिमलाई पर्नेछ । महासचिव राईले भने, ‘अहिलेकै स्थितिमा महिला टिमले खेल्ने फिफा सिरिज मात्र होइन, भारतमा हुने भनिएको वुमेन्स साफ च्याम्पियनसिपमा सहभागिता पनि अनिश्चित भएको छ ।’ उनका अनुसार अहिले स्थगित पुरुष राष्ट्रिय लिग र महिलाको सहिद स्मारक लिग के हुने हो, त्यो भन्न सकिन्न ।

हिमेश

Link copied successfully