मधेशको कसिलो बलिङका कारण लुम्बिनीले २६ ओभरमै सबै विकेट गुमाएर ९९ रन मात्र बनाउन सक्यो ।
What you should know
जनकपुर — थोरै लक्ष्य दिएको मधेश प्रदेशको कसिलो बलिङका कारण लुम्बिनी प्रदेश २६ ओभरमै सबै विकेट गुमाएर ९९ रनमा समेटिएको छ । प्रधानमन्त्री (पीएम) क्रिकेट कप प्रतियोगिताअन्तर्गत शुक्रबारको एक दिवसीय खेलमा लुम्बिनी प्रदेशलाई पराजित गर्दै मधेश प्रदेशले लगातार दुई खेल जितेको छ ।
जनकपुरको प्रस्तावित रामजानकी बहुउदेश्यीय अन्तर्राष्ट्रिय रंगशालामा रहेको क्रिकेट मैदानमा सुरुमा व्याटिङ गर्दै मधेश प्रदेशले ३८.१ ओभरमा सबै विकेट गुमाएर १ सय २४ रनको लक्ष्य दिएको थियो ।
मधेश प्रदेशका मयन यादवले ७० बलमा सर्वाधिक ३१ रन बनाए । मधेशका कप्तान अनिल साह १ रन बनाएर पवेलियन फर्किए । हिमांशु दत्तले २४ बलमा ८ रन जोडे, पवन सर्राफले ३४ बलमा १९ रन, अरनिको यादवले १४ बलमा ११ रन, आदिल आलमले २१ बलमा २३ रन, विशाल पटेलले २४ बलमा ९ रन, रुपेशकुमार सिंहले १७ बलमा २ रन र अभिषेक तिवारीले १३ बलमा १ रन बनाएका थिए ।
मधेश प्रदेशले १६ रन अतिरिक्त पाएका थिए । लुम्बिनी प्रदेशका बलर सन्देश थापाले ५.१ ओभरमा १३ रन दिँदै ३ विकेट लिए । अर्का बलर सन्तोष यादवले ८ ओभरमा ३८ रन खर्चिँदै ३ विकेट, अजय चौहानले ९ ओभरमा २६ रन दिँदै २ विकेट र निर्मल गुरुङले १० ओभरमा १५ रन खर्चिँदै १ विकेट लिएका थिए ।
१ सय २५ रनको लक्ष्य पछ्याएका लुम्बिनी प्रदेशका व्याटरहरु भने मधेश प्रदेशको बलिङअगाडि निरिह देखिए। मधेशको कसिलो बलिङका कारण लुम्बिनीले २६ ओभरमै सबै विकेट गुमाएर ९९ रन मात्र बनाउन सक्यो ।
लुम्बिनीका ओपनिङ व्याटर रञ्जित खत्री खड्का शून्य रनमै आउट भए । अर्का व्याटर देव खनाल पनि १७ बलमा १२ रन बनाउँदै पवेलियन फर्किए । निर्मल गुरुङ, आकाश त्रिपाठी र प्रज्वल थापा भने शून्य रनमै आउट भए ।
लुम्बिनीका व्याटर सुमित श्रेष्ठले ३४ बलमा ३० रन बनाए । दर्श सोनारले ४ रन, सन्तोष यादवले १२ रन, सन्देश थापाले १६ रन, राजेन्द्र बमले ६ रन र अजय चौहानले १ रन बनाएर सस्तैमा आउट भए । लुम्बिनी प्रदेशले १५ अतिरिक्त रन जोडेको थियो ।
मधेश प्रदेशका बलरहरु बिशाल पटेलले ९ ओभरमा २४ रन खर्चिदै सर्वाधिक ५ विकेट लिए । अर्का बलर प्रदिप पासवानले ५ ओभरमा १३ रन दिँदै २ विकेट र रुपेश सिंह, आदिल आलम तथा आशिक बैठाले १–१ विकेट लिएका थिए ।
