पहिलो खेलमा पराजित भएयता डिफेन्डिङ च्याम्पियन पुलिसले लगातार दोस्रो खेल जितेको हो ।
काठमाडौँ — शंकर रानाको शतकप्रेरित नेपाल पुलिस क्लबले प्रधानमन्त्री (पीएम) कप पुरुष राष्ट्रिय क्रिकेटमा बिहीबार बागमती प्रदेशलाई ७ विकेटले पराजित गरेको छ । पहिलो खेलमा पराजित भएयता डिफेन्डिङ च्याम्पियन पुलिसले लगातार दोस्रो खेल जितेको हो ।
मूलपानीको माथिल्लो मैदानमा ओपनिङ ब्याटर शंकरले १ सय १६ रन बनाएपछि पुलिसले २ सय ६६ रनको लक्ष्य ४४ ओभरमा २ सय ७१ रन बनाएर पूरा गरेको थियो । प्लेयर अफ द म्याच शंकरले १ सय २८ बल खेल्दा १३ चौका र ४ छक्का प्रहार गरे । उत्कृष्ट लयमा रहेका शंकरले अघिल्लो महिना नेपाल एपीएफ क्लबविरुद्धको दुईदिवसीय खेलमा पनि अविजित १ सय ५ रन बनाएका थिए ।
उनले दिनेश खरेलसँग पहिलो विकेटमा २५ ओभरभित्र १ सय ५९ रनको साझेदारी गरे । दिनेशले ७५ बल खेल्दै ८ चौका र ३ छक्कासहित ७० रन बनाए । दिलशाद अली ८ रनमा आउट भए पनि कप्तान आरिफ शेख र रशिद खान मिलेर पुलिसलाई आरामदायी जित दिलाए । आरिफले ४७ बलमा ३ चौका र २ छक्कासहित ४३ र रशिदले २ बलमा १–१ चौका र छक्का प्रहार गर्दै १० रन बनाई अविजित रहे । बागमतीका रिजन ढकाल, कप्तान सन्दीप लामिछाने र सुवास खत्रीले १–१ विकेट लिए ।
यअसघि टस जितेर ब्याटिङ रोजेको बागमती ४९.२ ओभरमा २ सय ६५ रनमा अलआउट भयो । इशान पाण्डे र पवन थापाले अर्धशतक बनाएपछि बागमतीले ठूलो स्कोर बनाएको थियो । शुभ कंसाकार १४, आशुतोष घिरैया २२ र शिवम तिवारी १२ रन बनाई आउट भएको अवस्थामा इशान र पवनले तेस्रो विकेटमा १ सय २४ रनको साझेदारी गरे ।
इशानले ८० बल खेल्दै ६ चौका र ३ छक्कासहित ७० तथा पवनले १ सय १ बल खेल्दा ६ चौका र १ छक्कासहित ७९ रन बनाए । विवेक रानामगर ७, उत्तम थापामगर २१, प्रतिश जीसी ५, सन्दीप १३ र सुवास १ रनमा आउट भए । पुलिसबाट दिनेश र रशिदले ३–३ विकेट लिए । दिनेशले ५ ओभरमा १४ र रशिदले ९ ओभरमा १ मेडन राख्दै ५४ रन खर्चे । करण केसीले ९.२ ओभरमा १ मेडन राख्दै ५४ रन खर्चेर २ र ललित राजवंशीले १० ओभरमा १ मेडन राख्दै ४७ रन खर्चेर १ विकेट लिए ।
आर्मीलाई सफलता
पुलिस जस्तै आर्मीले पनि ३ खेलमा दोस्रो जित पायो । आर्मीले पनि गण्डकी प्रदेशलाई ७ विकेटले नै पराजित गरेको थियो । अर्जुन कुमालले ६७ र दीपक डुम्रेले ५१ रन बनाएपछि टस जितेर ब्याटिङ रोजेको गण्डकीले मूलपानीको तल्लो मैदानमा ४९.४ ओभर खेल्दै २ सय ४ रनमा अलआउट भएको थियो ।
ओपनर अर्जुनले १ सय २ बल खेल्दै ४ चौका र १ छक्का तथा दीपकले ४५ बलमा ३ चौका र २ छक्का प्रहार गरे । गौरव बिक ६, वंश क्षेत्री १०, सिब्रिन श्रेष्ठ १४, सन्देश पन्थी १३, कप्तान विपिन खत्री ४, कमल परियार ३, अंकित न्यौपाने १ र कृष्ण पौडेल १७ रनमा आउट भए । सुवास भण्डारी १० रनमा अविजित रहे । आर्मीका आकाश चन्द र शाहब आलमले ३–३ विकेट लिए । आकाशले १० ओभरमा ४८ र शाहबले १० ओभरमा ५३ रन खर्चे । कुशल मल्लले १० ओभरमा १ मेडन राख्दै १८ रन खर्चेर २ विकेट लिए ।
ओपनिङ जोडी तृतराज दास र कप्तान विनोद भण्डारीले १८ ओभरभित्र १ सय १० रन जोडेपछि आर्मीले ३४ ओभरमै आवश्यक रन बनाएको थियो । विनोदले ५७ बल खेल्दै ७ चौका र २ छक्कासहित ५८, तृतराजले ५१ बलमा ८ चौका र १ छक्कासहित ५१ रन बनाए । अर्जुन शून्यमा आउट भए । तृत, विनोद र अर्जुन एउटै ओभरमा आउट भए ।
कुशल र भीम सार्कीले चौथो विकेटमा अविजित १ सय रनको साझेदारी गरी आर्मीलाई जिताए । भीम ५३ बलमा ४ चौका र २ छक्कासहित ५४, कुशल ४२ बलमा ३ चौका र २ छक्कासहित ४३ रन बनाई अविजित रहे । गण्डकीका सुवासले ७ ओभरमा २६ रन खर्चेर २ र विपिनले १० ओभरमा ३८ रन खर्चेर १ विकेट लिए ।
यस प्रतियोगितामा शुक्रबार जनकपुरमा मधेश र लुम्बिनी प्रदेश तथा वीरगन्जमा कोशी र सुदूरपश्चिम प्रदेशबीच प्रतिस्पर्धा हुनेछ ।
