फाइनल खेल शुक्रबार हुनेछ । प्रतियोगिताको विजेता टोलीले नगद २ लाख २ हजार २ सय २२ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेताले नगद १ लाख १ हजार १ सय ११ रुपैयाँ प्राप्त गर्नेछ
धनकुटा — भोजपुरको रामप्रसाद राई गाउँपालिका र झापाको कनकाई नगरपालिका धनकुटाको हिलेमा जारी १८ औं संस्करणको कोसी प्रदेश स्तरीय अन्तरपालिका रामनवमी कप भलिबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेका छन् ।
हिले भलिबल क्लबको आयोजनामा भइरहेको प्रतियोगिताअन्तर्गत बिहीबार भएको सेमिफाइनलमा रामप्रसादले धनकुटाको पाख्रिबास नगरपालिकालाई र झापाको कनकाई नगरपालिकाले भोजपुरको षडानन्द नगरपालिकालाई पराजित गर्दै फाइनलमा स्थान बनाएका हुन् । पहिलो सेमिफाइनलमा रामप्रसादले पाख्रिवासलाई २५-१६, १५-२५, २२-२५, २७-२५, १५-११ को सेटले पराजित गरेको हो । त्यस्तै कनकाईले षडानन्दलाई १७-२५, २५-२३, २५-१८ र २५-१९ को सेटमा पराजित गरेको हिले भलिबल क्लबका अध्यक्ष सञ्जीव तामाङले जानकारी दिए ।
फाइनल खेल शुक्रबार हुने आयोजकले जनाएको छ । प्रतियोगिताको विजेता टोलीले नगद २ लाख २ हजार २ सय २२ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेताले नगद १ लाख १ हजार १ सय ११ रुपैयाँ प्राप्त गर्नेछ । प्रतियोगितामा कोसी प्रदेशका ९ विभिन्न पालिकाको सहभागिता रहेको छ । हिलेमा रामनवमीमा २०५५ सालबाट भलिबल प्रतियोगिता सञ्चालन हुँदै आएको छ ।
