पीएम कप : कोशीविरुद्ध कर्णालीको जित

जनकपुरस्थित प्रस्तावित रामजानकी बहुउद्देश्यीय अन्तर्राष्ट्रिय रंगशालाको क्रिकेट मैदानमा बुधबार कर्णालीले पहिला ब्याटिङ गर्दै ३९.१ ओभरमा सबै विकेट गुमाई १ सय ५१ रन बनाएको थियो ।

चैत्र ११, २०८२

अजित तिवारी

PM Cup: Karnali wins against Koshi

जनकपुर — कोशी प्रदेशले सानो लक्ष्य पनि पछ्याउन नसक्दा प्रधानमन्त्री (पीएम) कप क्रिकेट प्रतियोगितामा कर्णाली प्रदेशसँग १६ रनको हार बेहोरेको छ । यसअघि लुम्बिनी प्रदेशसँग पराजय भोगिसकेको कोशीको यो लगातार दोस्रो हार हो ।

जनकपुरस्थित प्रस्तावित रामजानकी बहुउद्देश्यीय अन्तर्राष्ट्रिय रंगशालाको क्रिकेट मैदानमा बुधबार कर्णालीले पहिला ब्याटिङ गर्दै ३९.१ ओभरमा सबै विकेट गुमाई १ सय ५१ रन बनाएको थियो । जवाफमा कोशी ४४.४ ओभरमै १ सय ३५ रनमा अलआउट भयो ।

कर्णालीबाट विपिनविक्रम शाहीले ९८ बलमा सर्वाधिक ६३ रन बनाए । उनले ४५ बलमा ३२, सुनिल धमलाले १० बलमा १९ र कप्तान दिवान पुनले १८ बलमा १० रन बनाए । अन्य ब्याटरहरूले भने दोहारो अंकमा रन बनाउन सकेनन् । कोशीका बलर प्रेम कामतले उत्कृष्ट प्रदर्शन गरे । उनले १० ओभरमा ३१ रन खर्चिंदै ४ विकेट लिए । अर्का बलर ज्ञानेन्द्रबहादुर श्रेष्ठले ७ ओभरमा ३० रन खर्चिंदै ३, सुजन थपलियाले ६.१ ओभरमा २२ रन खर्चिंदै २ र विपिनकुमार महतोले ५ ओभरमा ३६ रन खर्चेर १ विकेट लिए ।

सानो लक्ष्य पछ्याउन पनि कोशीले संघर्षपूर्ण ब्याटिङ गर्नुपरेको थियो । ८० रन बनाउँदा नै ६ विकेट गुमाएको अवस्थामा कोशी विजय लक्ष्यबाट टाढिसकेको थियो । राष्ट्रिय क्रिकेटमा अर्को एउटा हार बेहोर्ने स्थितिमा टोली पुगेको थियो ।

सुमन श्रेष्ठले ७५ बलमा २०, सकिब हकले २६ बलमा १७, अंकित सुवेदीले १६ बलमा १७, दीपेश कँडेलले ६६ बलमा २६, शिंवाश बजागाईंले ४२ बलमा २३ रन बनाए । सोनु अन्सारी र फिर्दोश अन्सारी शून्यमै पवेलियन फर्किए । कोशीले १८ अतिरिक्त रन पाएको थियो । कर्णालीका दिनेश अधिकारीले ५ विकेट लिए । उनले ८.४ ओभरमा २७ रन खर्चिंदै ५ विकेट लिए । दिवानले ९ ओभरमा २८ र प्रकाश जोशीले ७ ओभरमा ३५ रन खर्चिंदै २–२ तथा दीपेन्द्र रावतले ९ ओभरमा २० रन खर्चेर १ विकेट लिए ।

वीरगन्जमा भएको खेलमा मधेश प्रदेशले सुदूरपश्चिमलाई ५ विकेटले हरायो । मधेशको यो पहिलो जित हो । नारायणी क्रिकेट मैदानमा टस हारेपछि ब्याटिङ निम्तो पाएको सुदूरपश्चिम ४३.२ ओभरमा १ सय ६० रनमै अलआउट भयो ।

ओपनर अभिषेक पालले सर्वाधिक ३३ रन बनाए । उनले ४५ बल खेल्दा ५ चौका प्रहार गरे । राजु रिजाल ९, खडक बोहरा ७, नरेन भट्ट ८, मिलन बोहरा ९, कप्तान शेर मल्ल १ रनमै आउट भए । किरण ठगुन्ना र नारायण जोशीले समान २३ तथा अशोक धामीले अविजित १९ रन बनाए । मधेशका अरनिको यादवले ३ विकेट लिए । उनले ७.२ ओभरमा २ मेडन राख्दै २५ रन खर्चे । प्रदीप पासवानले २, रुपेश सिंह, मोहम्मद आदिल, आशिक बैठा र पवन सर्राफले १–१ विकेट लिए ।

मधेशले ३३.४ ओभरमा लक्ष्य पूरा गर्‍यो । प्लेयर अफ द म्याच अरनिकोले ७८ बल खेल्दै ९ चौकासहित अविजित ४६ र आदिलले ३० बल खेल्दा समान २ चौका र छक्का प्रहार गर्दै ३४ रन बनाए ।

अजित पत्रकार तिवारी कान्तिपुरका जनकपुर संवाददाता हुन् ।

Link copied successfully