रामप्रसाद राई गाउँपालिका विजयी
धनकुटा — धनकुटाको हिलेमा मंगलबार १८ औ संस्करणको कोशी प्रदेशस्तरीय अन्तरपालिका रामनवमी कप भलिबल प्रतियोगिता सुरु भएको छ ।
हिले भलिबल क्लबको आयोजनामा भएको प्रतिगोगिताको उद्घाटन खेलमा भोजपुरको रामप्रसाद राई गाउँपालिकाले हतुवागढी गाउँपालिकालाई १९–२५, २५–२३, २४–२६, २५–९, १५–१० को सेटले पराजित गरेको थियो ।
प्रतियोगितामा पूर्वका विभिन्न ९ पालिका टिमले सहभागिता जनाएको छ । धनकुटाको पाख्रिवास नगरपालिका र महालक्ष्मी नगरपालिकासहित भोजपुरको अरुण, आमचोक, रामप्रसाद राई, हतुवागढी गाउँपालिका र षडानन्द नगरपालिका छन् । संखुवासभाको सभापोखरी गाउँपालिका तथा झापाको कन्काई नगरपालिकाको टिम रहेको क्लबका अध्यक्ष सन्जिव तामाङले बताए ।
विजेताले २ लाख २ हजार २२२ रुपैयाँ र उपविजेताले१ लाख १ हजार १११ रुपैयाँसहित ट्रफी जित्नेछन् । फाइनल खेल रामनवमीको दिन चैत १३ गते हुनेछ । हिलेमा रामनवमीमा २०५५ सालबाट भलिबल प्रतियोगिता हुँदै आएको आयोजकले जनाएको छ ।
