विजेता बन्न जापान पूर्ण हकदार

जापान उपाधिका लागि वास्तवमै हकदार थियो, किनभने च्याम्पियन टिम ६ खेलमा २९ गोल गर्न सफल थियो, खाएको भने एक मात्र थियो ।

चैत्र १०, २०८२

कान्तिपुर संवाददाता

Japan fully deserves to be the winner

What you should know

सिड्नी (एएफपी) —  

महिलाको एसियाली फुटबलको सबैभन्दा ठूलो उपाधि आफ्नो टिमले जितेपछि प्रशिक्षक निल्स नेल्सनले भनेका छन्, जापान यसका लागि पूर्ण हकदार थियो । वुमेन्स एसियन कप उपाधि जित्ने क्रममा जापानले अस्ट्रेलियालाई उसकै भूमिमा १–० ले हराएको थियो । 

त्यसको भोलिपल्ट मिडियासामु प्रस्तुत हुने क्रममा प्रशिक्षक नेल्सनले जापानी टिम अरूका लागि पनि प्रेरणा रहने दाबी गरे । फाइनलसम्मको यात्रामा जापानलाई कसैले पनि छुन सकेको थिएन । अस्ट्रेलियाले भने टोलीलाई बलियो चुनौती नै दिएको थियो, तर माइका हामानोले १७ औं मिनेटमा लामो दूरीबाट गरेको गोल ७४ हजार दर्शकसामु दुई टिमबीचको निर्णायक अन्तर रह्यो । 

डेनमार्क र स्विट्जरल्यान्डका पनि पूर्वप्रशिक्षक रहेका नेल्सनले भने, ‘जापानी खेलाडीसँग काम गर्न पाउनु पनि मेरा लागि खुसीको उपलब्धि हो । उनीहरू असाध्यै राम्रा फुटबल खेलाडी हुन् ।’ उनी सन् २०२४ यता जापानी टिमसँग आबद्ध छन् । नेल्सनले थपे, ‘यसै कारण मलाई लाग्छ, जापानी टिम अरू धेरैका लागि प्रेरणास्रोत रहन सक्छ । जापानी खेलाडी यति धेरै प्रतिशाली छन् कि उनीहरूको अब एउटा छुट्टै शैली बनेको छ । फाइनलमा हामीले आफ्नो खास लयले खेल्न सकेनौं । तर खेलाडीमा जुन विशेषता थियो, त्यसले हामीलाई प्रतिद्वन्द्वीको तुलनामा राम्रो बनायो । जापानी खेलाडी असाध्यै मिहिनेती पनि छन् ।’

प्रशिक्षक नेल्सनले थपे, ‘फुटबलमा राम्रो मात्र भएर मात्र पुग्दैन । कसैलाई प्रमाणित गर्नु छ भने जित्नु एकमात्र उपलब्धि हो । जहिलेसम्म ठूलो कुनै उपाधि जित्न सकिन्न, त्यसको केही पनि अर्थ हुन्न । फाइनलमा हामीले सक्दो खेल्न सकेनौं । तर हाम्रो खेलका कारण त्यसमा हामी बलियोसँग उपस्थित थियौं । जापानले यो उपाधि नजितेको धेरै भइसकेको थियो, त्यसैले पनि यो सफलता विशेष छ ।’

विश्व वरीयताको छैटौं स्थानको जापान फाइनलमा उपाधिका लागि बलियो प्रत्याशी थियो । भलै, राष्ट्रिय भावनाले ओतप्रोत अस्ट्रेलियाली समर्थकले पूरा रंगशाला भरिएको थियो । अस्ट्रेलिया आफैं पनि सन् २०१० यता पहिलो उपाधि जित्ने प्रयासमा थियो । फाइनल आफैंमा कस्तो थियो भने यसको नतिजा कुनै पनि बेला कसैको पक्षमा हुन सक्थ्यो । तर अन्त्यमा जित जापानकै रह्यो । टोली सन् २०१४ र २०१८ पछि अर्को उपाधि थप्न सफल रह्यो । संयोग कस्तो भने ती दुवै फाइनलमा पनि विपक्षी टिम अस्ट्रेलिया नै थियो । अझ जित–हारको स्कोर पनि समान नै । प्रशिक्षक नेल्सनले अस्ट्रेलियाली टिमको पनि प्रशंसा गर्न बिर्सेनन् । उनले भने, ‘अस्ट्रेलियाली टिम विश्वस्तरीय छ, खेलाडी पनि उत्तिकै राम्रा छन् ।’ 

अस्ट्रेलियाली प्रशिक्षक जोए मोन्टेमुरोले पनि यसपल्टको प्रतियोगितामा आफ्नो टिमको यात्रा आफैंमा उत्कृष्ट रहेको बताए । भलै, उपाधि उनको टिमको पक्षमा रहेन । उनले फाइनलको पीडायादी हार बिर्सन खोज्दै अब आफ्नो ध्यान सन् २०२७ मा ब्राजिलमा हुने विश्वकपतर्फ हुने बताए । उनले भने, ‘मसँग पछिल्लो समय २६ योद्धा थिए, तिनले २१ दिन सक्दो राम्रो खेले । यो सबै मेरा लागि असाध्यै ठूलो उपलब्धि हो । नतिजा कहिले आफ्नो पक्षमा हुन्छ, कहिले हुन्न । हामीले ठूलो टिमविरुद्ध खेलेर फाइनल पुगेका हौं । हाम्रो लक्ष्य पनि यही हो ।’

मोन्टेमुरोले अगाडि भने, ‘अहिले हाम्रो टिममा हामीभन्दा भावना छ । यो आफैंमा ठूलो हो । अब हामी यही हारमा सीमित रहेर बस्नुहुन्न, हाम्रो ध्यान अगाडि हुनुपर्छ । राम्रो भविष्यका लागि हाम्रो प्रयास कायम रहनेछ ।’ उनको धारणा थियो, जापान उपाधिका लागि वास्तवमै हकदार थियो, किनभने च्याम्पियन टिम ६ खेलमा २९ गोल गर्न सफल थियो, खाएको भने एकमात्र थियो । यसले पनि देखाउँछ, जापानी टिम वास्तवमै कति बलियो थियो ।

कान्तिपुर

Link copied successfully