प्रधानमन्त्री कप पुरुष राष्ट्रिय प्रतियोगिताको काठमाडौंमा भएको पहिलो दिनको खेलमै बसिर अहमद र आसिफ शेखको शतक
What you should know
काठमाडौँ — त्रिभुवन आर्मी क्लबले जय ट्रफी मेन्स इलिट कपको फाइनलमा नेपाल पुलिस क्लबसँग पाएको पराजयको बदला लिएको छ । बिहीबार मात्र पुलिसले तीनदिवसीयको फाइनलमा आर्मीलाई ४ विकेटले पराजित गरी उपाधि रक्षा गरेको थियो ।
तर बसिर अहमदले शतक बनाएपछि आर्मीले आइतबार प्रधानमन्त्री (पीएम) कप पुरुष राष्ट्रिय प्रतियोगितामा पुलिसलाई २२ रनले पराजित गर्यो । गत वर्ष भैरहवामा आर्मीलाई नै ६ विकेटले पराजित गरी पुलिसले पीएम कप जितेको थियो । सो खेलमा बसिरले अविजित ८६ रन बनाए पनि आर्मी ४३ ओभरमा १ सय ५४ रनमा अलआउट भएको थियो ।
उनै बसिरले १ सय रन बनाएपछि आर्मीले मूलपानीको तल्लो मैदान भिजेका कारण ४७ ओभरमा छोट्याइएको खेलमा ८ विकेट गुमाई २ सय ४३ रन बनाएको थियो । उनले यो इनिङ्स त्यस्तो बेलामा खेले, जतिखेर आर्मीले १७ ओभरभित्र ५८ रन बनाउँदा ४ विकेट गुमाइसकेको थियो । एक महिनाअघि मात्र जय ट्रफीमा नेपाल एपीएफ क्लबविरुद्ध पनि अविजित १ सय १ रन बनाएका बसिरले यस पटक ८६ बल खेल्दै ८ चौका र २ छक्का प्रहार गरे ।
पहिलो चार ब्याटर तृतराज दास १३, अर्जुन साउद र इमरान शेख समान १० तथा कुशल मल्ल ७ रनमै आउट भएको अवस्थामा बसिर र अनुभवी भीम सार्कीले पाँचौं विकेटमा ८२ रनको साझेदारी गरे । भीमले ६५ बल खेली ६ चौका र २ छक्कासहित ६२ रन बनाए । कप्तान विनोद भण्डारी ५, पवन कार्की शून्यमा आउट भए । नरेन साउद २२ बल खेली १ छक्का प्रहार गर्दै २१ रनमा अविजित रहे ।
पुलिसका श्रवण यादवले ३ विकेट लिए । उनले ६ ओभरमा २४ रन खर्चेका थिए । सागर ढकालले ९ ओभरमा ३ मेडन राख्दै ३४ र रशिद खानले ९ ओभरमा ६५ रन खर्चेर २–२ तथा ललित राजवंशीले १० ओभरमा ३९ रन खर्चेर १ विकेट लिए ।
चोटका कारण आफ्ना प्रमुख ब्याटर कुशल भुर्तेलबिनै खेलेको पुलिस ४५.३ ओभरमा २ सय २१ रनमा अलआउट भयो । दिनेश खरेल इनिङ्सको पहिलो बलमा र अमित श्रेष्ठ ५ रनमा आउट भएपछि दबाबमा रहेको पुलिसबाट शंकर रानाले ४६, रशिद खानले ६० र कप्तान आरिफ शेखले ३८ रन बनाए । शंकरले ६६ बल खेली ५ चौका र १ छक्का, रशिदले ८२ बल खेली ५ चौका र २ छक्का तथा आरिफले ४३ बल खेली ४ चौका र २ छक्का प्रहार गरे ।
दिलसाद अली ७, गुलशन झा १०, करण केसी १६ बल खेली १ चौका र २ छक्का प्रहार गरी २३, श्रवण १३ तथा ललित शून्यमा आउट भए । आर्मीका नरेन साउदले ३ विकेट लिए । उनले १० ओभरमा ५७ रन खर्चे । आकाश चन्दले ७ ओभरमा ३८ रन खर्चेर २, कुशल, शाहव आलम, पवन र प्लेयर अफ द म्याच बसिरले १–१ विकेट लिए ।
एपीएफ विजयी
आसिफ शेखको १ सय १४ रनमा एपीएफले माथिल्लो मूलपानीमा बागमती प्रदेशलाई ७१ रनले पराजित गर्यो । टस हारेर ब्याटिङको निम्तो पाएको एपीएफले निर्धारित ५० ओभरमा ८ विकेट गुमाई २ सय ७१ रन बनायो । प्लेयर अफ द म्याच आरिफले १ सय ५ बल खेली १४ चौका र ३ छक्का प्रहार गरे ।
दीपक बोहरा ३ र कप्तान रोहित पौडेल ९ रनमै आउट भएपछि आसिफ र सन्दीप जोराले तेस्रो विकेटमा १ सय ३ रनको साझेदारी गरे । जोराले ५३ बल खेली ५ चौका र २ छक्का प्रहार गरी ५२ रन बनाए । सुमित महर्जन १८, अमरसिंह रौटेला १ रनमा आउट भए । लोकेश बम र युवराज खत्रीले सातौं विकेटमा जोडेको ५२ रन एपीएफका लागि अर्को निर्णायक साझेदारी बन्यो । लोकेशले ३६ बल खेली समान १ चौका र छक्कासहित २९ रन बनाए ।
युवराज ३९ बल खेली २ चौका प्रहार गरी २६ रनमा अविजित रहे । नन्दन यादव ५ रनमा अविजित रहे भने कमलसिंह ऐरी ३ रनमा अविजित रहे । बागमतीबाट रिजन ढकालले ४ विकेट लिए । उनले १० ओभरमा ४४ रन खर्चे । ईशान पाण्डेले ६ ओभरमा २३ रन खर्चेर २ तथा कप्तान सन्दीप लामिछाने र सोनु देवकोटाले १–१ विकेट लिए ।
जवाफमा आएको बागमती ४५.१ ओभरमा २ सय रनमा अलआउट भयो । अन्तिम जोडी रिजन र सुवास खत्रीले ५३ रनको साझेदारी गरेपछि बागमतीको स्कोर हेर्न लायक बनेको थियो । १० औं नम्बरमा ब्याटिङ गरेका सुवास ५४ बल खेली ३ चौका र १ छक्का प्रहार गरी २७ रनमा आउट भए भने रिजन २७ बल खेली समान १ चौका र छक्का प्रहार गरी २० रनमा अविजित रहे ।
बागमतीका माथिल्लो क्रमका ब्याटरले निकै निराशाजनक प्रदर्शन गरेका थिए । आशुतोष घिरैया ९, शुभ कंसाकार ८, शिवम तिवारी २५, ईशान १७ रनमा आउट भए । उत्तम थापामगरले ५३ बल खेली १ चौकासहित २६ र विवेक रानामगरले ६४ बल खेली २ चौका र १ छक्कासहित ३६ रन बनाए । सोनु ७, प्रतिश जीसी ६, सन्दीप शून्यमा आउट भए । एपीएफका रोहित र अभिषेक गौतमले ३–३ विकेट लिए । रोहितले १० ओभरमा २ मेडन राख्दै २२ र अभिषेकले १० ओभरमा २ मेडन राख्दै ४३ रन खर्चे । कमल, नन्दन, युवराज र अमरले १–१ विकेट लिए ।
प्रतियोगिता शनिबार मधेश प्रदेशको जनकपुर र वीरगन्जबाट सुरु भएको थियो । पहिलो दिनको दुवै खेल वर्षाले रद्द बनाएको थियो । सोमबार जनकपुरमा कोशी र लुम्बिनी प्रदेशका बीच तथा वीरगन्जमा कर्णाली र सुदूरपश्चिम प्रदेशबीच खेल हुनेछ । काठमाडौंमा मंगलबार खेल हुने कार्यक्रम रहेको छ ।
