जय ट्रफीले देखाएको बहुदिवसीय क्रिकेटको महत्त्व

तीनदिने क्रिकेट नेपाली खेलाडीले पहिलो पटक पूरै खेलेका थिए, जसले विभिन्न सम्भावनाका ढोकाहरू खोलेको थियो 

चैत्र ७, २०८२

विनोद पाण्डे

The Jay Trophy shows the importance of multi-day cricket

काठमाडौँ — जय ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगिता एक समय नेपाली क्रिकेटको ज्यान थियो । २०३७ मै यसको सुरुआत भएको थियो, जबकि नेपालले अन्तर्राष्ट्रिय क्रिकेट खेल्न लागेको २०५२ देखि मात्र हो । अन्तर्राष्ट्रिय क्रिकेटमा सहभागिता जनाउनुअघि नै नेपालसँग घरेलु क्रिकेटको एउटा आधार थियो । 

नेपाल क्रिकेट संघ (क्यान) का तत्कालीन अध्यक्ष जयकुमारनाथ शाहका नाममा यो ट्रफी आयोजना हुँदै आएको थियो । त्यो समयमा ५० ओभरबाहेक अन्य क्रिकेटको कल्पनै गर्न सकिँदैनथ्यो तर यसको सुरुआत दुईदिवसीयबाट भएको थियो । २०५७ सम्म जय ट्रफी आयोजना भयो र त्यसयता यसलाई विभिन्न प्रतियोगिताले विस्थापित गरे । 

४ दशकभन्दा बढी क्यानको नेतृत्व गरेको शाहको निधन भएको पनि ८ वर्षभन्दा बढी भइसकेको अवस्थामा गत वर्षबाट जय ट्रफी पुनः ब्युँतिएको थियो, दुईदिवसीय संरचनामा । अहिले यसको महत्त्व चार दशक अगाडिकै जस्तै हुन लागेको छ । जय ट्रफीको फाइनल तीनदिवसीय संरचनामा भएपछि नेपाली क्रिकेटमा यसलाई एउटा राम्रो संकेतका रूपमा हेरिएको छ । 

क्यानले हरेक वर्ष ७ प्रदेश टोली र ३ विभागीय टोलीलाई समावेश गरेर प्रधानमन्त्री कप आयोजना गर्दै आएको छ । यो एकदिवसीय संरचनाको प्रतियोगिता हो । यसको शीर्ष चार टोली जय ट्रफीका लागि छनोट हुन्छन् । जय ट्रफीमा चार टोलीले दुईदिवसीय संरचनामा राउन्ड रोबिन लिगमा प्रतिस्पर्धा गरेका थिए भने फाइनल तीन दिनको भएको थियो । 

गत वर्ष पहिलो संस्करण जनकपुर र वीरगन्जमा आयोजना भएको थियो भने यस पटक सबै खेल राजधानीमा भए । नेपाल पुलिस क्लबले मूलपानीको माथिल्लो मैदानमा लगातार दोस्रो वर्ष त्रिभुवन आर्मी क्लबलाई पराजित गर्दै च्याम्पियन बन्यो । गत वर्ष हुस्सुले गर्दा वीरगन्जमा भएको फाइनलको पहिलो दिन धेरै प्रभावित भएको थियो र केवल १७ ओभरको खेल मात्र हुन सकेको थियो । यस पटक फाइनल पूरा रोमाञ्चक रह्यो र पूरा तीन दिन हरेक क्षण नतिजा उलटफेरको स्थिति बन्यो । त्यसैले पूरा तीन दिन नेपाली खेलाडीले पहिलो पटक खेल्न पाएका थिए । 

बहुदिवसीय क्रिकेटमा खेलिने भएकाले जय ट्रफी क्रिकेटको प्रभाव छिट्टै देखिने यसमा सहभागीहरू जनाउँछन् । जति क्रिकेट खेल्यो, उति क्षमता बढ्दै जाने, त्यसमा पनि बहुदिवसीय खेलले त्यो क्षमता वृद्धि गर्ने विजेता पुलिसका प्रशिक्षक मञ्जित श्रेष्ठ जनाउँछन् बहुदिवसीय क्रिकेटमा खेलिने भएकाले जय ट्रफी क्रिकेटको प्रभाव छिट्टै देखिने यसमा सहभागीहरू जनाउँछन् । जति क्रिकेट खेल्यो, उति क्षमता बढ्दै जाने, त्यसमा पनि बहुदिवसीय खेलले त्यो क्षमता वृद्धि गर्ने विजेता पुलिसका प्रशिक्षक मञ्जित श्रेष्ठ जनाउँछन् । उनी भन्छन्, ‘हामीलाई तीनदिवसीय क्रिकेटको महत्त्व धेरै छ, नेपाली क्रिकेटमा तीनदिवसीय क्रिकेट भइरहनुपर्छ । खेल स्थितिलाई कसरी लिएर जाने, विकेटमा कसरी टिकेर खेल्ने तीनदिवसीय जस्तो संरचनाले मात्र अनुभव गराउँछ । ट्वान्टी–२० मा नभए पनि यसले ५० ओभरको क्रिकेट खेल्न निकै सहयोग गर्छ, नेपाली क्रिकेटलाई अहिले चाहिएकै एकदिवसीय क्रिकेट हो । तीनदिवसीय वर्षमा दुई वटा भयो भने अझ राम्रो हुन्छ ।’

एकदिवसीय विश्वकपको छनोटको आधार रहेको विश्वकप लिग २ मा नेपालको प्रदर्शन संकटको अवस्था रहेको छ । नेपाली ब्याटरले पर्याप्त समय विकेटमा बिताउन नसक्दा त्यसको प्रभाव नतिजामा देखिएको छ । घरेलु क्रिकेटमा जय ट्रफीजस्ता प्रतियोगिताको अभावमा नेपाली ब्याटरहरूले लामो इनिङ्स खेल्न सकिरहेका छैनन् । घरेलु क्रिकेटमा बहुदिवसीय संरचना भएमा त्यसले नेपाली ब्याटरको विकासलाई बढाउने विश्वास लिन सकिन्छ । एउटा उदाहरण जय ट्रफीको फाइनलको दुई संस्करणलाई लिन सकिन्छ । गत वर्ष फाइनलमा चौथो इनिङ्समा आर्मी १ सय ३ रनको लक्ष्य पछ्याउँदा केवल २९.२ ओभर खेली ७४ रनमा अलआउट भएको थियो । तर यस पटक फाइनलमा २ सय २७ रनको लक्ष्य लिएर आएको पुलिसले परिपक्व ब्याटिङ गर्दै सहज जित हात पारेको थियो । यसले नेपाली क्रिकेट खेलाडीलाई लामो इनिङ्स खेल्न वातावरण बनाइदिएको स्पष्ट हुन्छ । 

यसमा कुनै शंका छैन, गत वर्षको भन्दा विकेट राम्रो भएकाले पनि यस पटकको फाइनल प्रतिस्पर्धात्मक बनेको थियो । जय ट्रफी खेलेको निकै राम्रो अनुभव बटुलेको पुलिसका कप्तान आरिफ शेख जनाउँछन् । ‘हाम्रा लागि टेस्ट क्रिकेट भनेकै जय ट्रफी हो । बेसिक, स्किल, फिटनेसको परीक्षण हुन यस्तो प्रतियोगिता निकै जरुरी छ । यस्तो प्रतियोगिताले नेपाल क्रिकेटलाई पक्कै सहयोग गर्छ, चाहे त्यो व्यापक खेलाडी ल्याउन होस् वा फिटनेस, ब्याट्सम्यानको स्किल विकास गर्न,’ आरिफ भन्छन्, ‘तीनदिवसीय क्रिकेट खेल्न म्याच टेम्परामेन्ट, धैर्य अति आवश्यक हुन्छ । नेपाली क्रिकेट एउटा स्थानमा छ, त्योभन्दा माथि पुग्न स्किल विकास गर्नुपर्ने हुन्छ, त्यो तीनदिवसीय क्रिकेटले गर्नेछ । तीनदिवसीय खेल्नलाई सबैभन्दा पहिला फिटनेस चाहिन्छ । रेस्ट र न्युट्रिसनको महत्त्व पनि यस्तै संरचनाको खेलले बुझाउने हो । रेस्ट र न्युट्रिसन पुगेन भने अर्को दिन मैदानमा पुगेर खेलाडीले शतप्रतिशत दिन सक्दैन ।’

२०६३ मा पनि क्यानले दुईदिवसीय क्रिकेट आयोजना गरेको थियो तर मधेश आन्दोलनसँगै लिग चरणको खेल चलिरहँदा प्रतियोगिता स्थगित हुन पुगेको थियो । १८ वर्षपछि रातो बल नेपाली क्रिकेटमा फर्किएसँगै यसका नयाँ आयामहरू देखिएका छन् । भीम सार्की, शंकर राना, बसिर अहमद र तृतराज दासले शतक प्रहार गरेका थिए । गत वर्षको प्रतियोगितामा देब्रेहाते स्पिनरको दबदबा रहेको थियो । फाइनलमा सागर ढकालले कुल ११ विकेट लिएका थिए । प्रतियोगितामा आर्मीका शाहव आलमले ३३ र पुलिसका ललित राजवंशीले २४ विकेट लिएका थिए । ललितले यस पटक पनि त्यसलाई निरन्तरता दिँदै २६ विकेट लिए । तीनदिवसीय क्रिकेट खेलेपछि मात्र फिटनेस कुन स्तरमा रहेको थाहा पाइने उनी जनाउँछन् । यो संरचनाको क्रिकेट खेलिरहने हो भने ट्वान्टी–२० र एकदिवसीयमा धेरै सहयोग पुग्ने उनी बताउँछन् । 

‘लगातार तीन दिन पूरै खेलेको अनुभव यसअघि थिएन । मानसिक रूपमा बलियो भएर खेल्नुपर्ने रहेछ, एउटा बलरका रूपमा एकनासको प्रदर्शन दिन जरुरी हुन्छ,’ ललितले भने, ‘मूलपानीको विकेट कीर्तिपुरको भन्दा फरक छ । यो विकेट ब्याटिङका लागि पनि राम्रो थियो, त्यसले गर्दा बलरको हिसाबमा चुनौती थियो । एउटा सेट ब्याटरलाई कसरी ट्याकल गर्ने भन्ने विकेटमा धेरैबेर बलिङ गरेपछि मात्र थाहा हुन्थ्यो । यस्तो बेलामा कस्तो योजना बनाउनुपर्छ, त्यो पनि यस्तो क्रिकेटले बुझायो ।’

विनोद पाण्डे कान्तिपुरका खेलकुद ब्यूरो प्रमुख हुन् ।

Link copied successfully