डेभिस कप छनोट खेल्न सेती किनारदेखि श्रीलंका

१४ वर्षका यी दुई बालक- सुरेन्द्र विक र अभिषेक विक अहिले नेपालको यू–१६ श्रेणीको शीर्ष चार खेलाडीमा छन् । नेपाल टेनिस संघले देशभरका आठ जना उत्कृष्ट खेलाडीमध्येबाट छानेर सुरेन्द्र र अभिषेकलाई कोलम्बो पठाएको हो ।

चैत्र ७, २०८२

दीपक परियार

Sri Lanka to play Davis Cup qualifiers from Seti Kinnera

What you should know

पोखरा — सेती गण्डकी किनारमा बालुवासँग खेल्दै गरेका दुई बालकलाई तीन वर्षअघि टेनिस सिकाउन पोखरा रंगशाला ल्याउँदा यति छिट्टै जुनियर डेभिस कपको छनोट खेल्नेछन् भन्ने गण्डकी प्रदेश टेनिस संघका अध्यक्ष विनोद कायस्थले सायदै सोचेका थिए ।

पोखराको रामघाटमा एक मलामीको भीडमा विनोद कायस्थ थिए । आफन्तको अन्त्येष्टि सकिएर फर्कने तयारीमा थिए तर सेती नदीको किनारबाट आएको एउटा दृश्यले उनको पाइला रोकिदियो । केही बालकहरू अग्लो भीरबाट नदीमा हाम फाल्दै पौडिरहेका थिए । ‘साहस हो कि मूर्खता !’ कायस्थका मनमा प्रश्न उठ्यो । तर त्यो प्रश्नभन्दा ठूलो अर्को सोच पनि आयो, यो साहसलाई सही ठाउँमा उपयोग गर्न सकियो भने ?

उनले ती बालकहरूमध्ये चार जनालाई नजिक बोलाए र एउटा प्रश्न सोधे, ‘टेनिस खेल्छौ ?’ टेनिस भन्ने नाम नसुनेका ती बालकहरू अकमक्किए । त्यो दिनदेखि सुरेन्द्र विक र अभिषेक विकको जीवन फेरिन थाल्यो । अहिले ती दुवै जना नेपालको जर्सी लगाएर जुनियर डेभिस कपको एसिया ओसियाना यू–१६ प्रि–क्वालिफाइङमा भाग लिन शनिबार श्रीलंकाको कोलम्बोतर्फ प्रस्थान गरेका छन् ।

रामघाटमा भेटिएका चार बालकमध्ये दुई थिए सुरेन्द्र र अभिषेक । एउटै विद्यालयमा पढ्ने साथी । दुवैको पारिवारिक पृष्ठभूमि विपन्नतामा रुमलिएको थियो । म्याग्दीको दरबाङबाट पोखरा झरेका सुरेन्द्रका बुबाआमा पश्चिमाञ्चल क्षेत्रीय अस्पताल परिसरमा ज्यामी काम गर्दै छोरालाई पढाइरहेका थिए । अभिषेकको अवस्था झनै कठिन थियो । उनकी आमाले सानैमा छोडेर गएकी थिइन् । बुबाले जिम्मेवारी नलिएको अवस्था थियो । पोखराको दोबिल्लामा बाजे–बज्यैसँग सुकुम्बासी बस्तीमा बस्दै आएका थिए ।

कायस्थले दुवैलाई भोलिपल्ट पोखरा रंगशालामा बोलाए । सुरेन्द्र र अभिषेकले बल ब्वाईका रूपमा टेनिस संसारमा पहिलो पाइला टेके । र्‍याकेट, बल, पोसाक सबै गण्डकी प्रदेश टेनिस संघले व्यवस्था गर्‍यो । बिहान निःशुल्क प्रशिक्षणमा सहभागी हुन्थे । बल ब्वाई गरेर दिनको तीन–चार सय रुपैयाँ आम्दानी पनि हुन्थ्यो । टेनिस बिस्तारै उनीहरूको दैनिकी बन्न थाल्यो ।

तर यो यात्रा सहज थिएन । नयाँ वर्षको साँझ सुरेन्द्र रुँदै कायस्थको घरमा पुगे । बुबाआमाको ज्यामी काम सकिएको थियो । उनीहरू गाउँ फर्किने तयारीमा थिए । कायस्थले भोलिपल्ट बुबाआमालाई भेटे, सुरेन्द्रको प्रतिभाको कुरा गरे । पोखरामै राख्न अनुरोध गरे । बस्ने, खाने, पढ्ने व्यवस्था आफैं मिलाइदिने, कोठाभाडासमेत तिरिदिने प्रस्ताव राखे ।

परिवार मानेको जस्तो लाग्यो । तर भोलिपल्ट बिहान ८ बजेसम्म सुरेन्द्र रंगशालामा देखिएनन् । कायस्थले फोन गरे । सुरेन्द्रका बुबाले बागलुङ बसपार्कमा बस कुरिरहेको बताए । केहीबेरमा म्याग्दीतर्फ हान्निए । ‘मैले नै बस्ने, खाने, पढ्ने व्यवस्था गरिदिन्छु भन्दा पनि मानेनन्,’ कायस्थले भने, ‘गाउँबाट आउनै दिएनन् ।’

केही दिनपछि सुरेन्द्रले माइजूको मोबाइलबाट फोन गरेर भने, ‘आउन मन छ, तर बसभाडा छैन ।’ कायस्थले भने, ‘आइहाल, भाडा यतै दिन्छु ।’ ७ वैशाख ०८० को बिहान हिँडेका सुरेन्द्र साँझ पोखरा आइपुगे । उनीसँग एउटा पुरानो झोला, एकसरो लुगा र पाखुरामा मसीले लेखिएको ‘कायस्थ सर’को फोन नम्बर थियो ।

अहिले सुरेन्द्र र अभिषेक दुवै कायस्थकै घरमा बस्छन् । पोखराको मैत्रेय पाठशालामा कक्षा ८ मा पढ्छन् । हरेक बिहान रंगशालास्थित टेनिस कम्प्लेक्समा पसिना बगाउँछन् । १४ वर्षका यी दुई बालक अहिले नेपालको यू–१६ श्रेणीको शीर्ष चार खेलाडीमा छन् । नेपाल टेनिस संघले देशभरका आठ जना उत्कृष्ट खेलाडीमध्येबाट छानेर सुरेन्द्र र अभिषेकलाई कोलम्बो पठाएको हो ।

कोलम्बोमा ९ देखि १४ चैतसम्म हुने एसिया ओसियाना यू–१६ प्रि–क्वालिफाइङमा नेपालसहित १३ देश सहभागी छन् । भुटान, ब्रुनाई, गुआम, मकाउ, माल्दिभ्स, मंगोलिया, म्यानमार, ओमान, पाकिस्तान, प्यासिफिक ओसियाना, सिंगापुर र श्रीलंका सहभागी छन् । यो प्रि–क्वालिफाइङबाट छनोट हुने खेलाडी डेभिस कप जुनियरको मुख्य क्वालिफाइङ खेल्नेछन् । डेभिस कप टेनिसको विश्वकपका रूपमा चिनिन्छ । प्रि–क्वालिफाइङमा खेलाडीले गर्ने प्रदर्शनका आधारमा देशकै समेत श्रेणी घटबढ हुन्छ । 

सुरेन्द्र र अभिषेकलाई शुक्रबार गण्डकी प्रदेश टेनिस संघले बिदाइ गरेको थियो । बिदाइ समारोहमा पोखरा महानगर खेलकुद विकास समितिका अध्यक्ष दीपक गोदार, कास्की जिल्ला टेनिस संघका अध्यक्ष राजकुमार गुरुङ, पोखरा–१५ का वडाध्यक्ष तोरण बानियाँ, टेनिस संघका सल्लाहकार गोपीबहादुर भट्टराई, गण्डकी प्रदेश उद्योग वाणिज्य महासंघका कार्यवाहक अध्यक्ष सूर्यबहादुर भुजेल, गण्डकी प्रदेश टेनिस संघका उपाध्यक्ष लोक गुरुङ लगायतले छोटो अवधिको प्रशिक्षणपछि नेपालको झन्डा अंकित जर्सी लगाएर खेल्नुस्, गौरवको विषय भएको भन्दै जितको शुभकामना दिए । 

सुरेन्द्र र अभिषेकसँगै रंगशालामा झन्डै ३० बालबालिका टेनिस प्रशिक्षण लिइरहेका छन् । गण्डकी प्रदेश टेनिस संघले प्रदेश खेलकुद परिषद्को ‘खेल्छ गण्डकी’ कार्यक्रमअन्तर्गत तीन वर्षअघि यो ग्रासरुट टेनिस सञ्चालन गरेको हो । पोखराका सुकुम्बासी बस्ती र आर्थिक रूपमा कमजोर परिवारका ६ देखि १४ वर्षका बालबालिका छानिएर प्रशिक्षण लिइरहेका छन् । प्रमुख प्रशिक्षक नीरज थापा, सहायक प्रशिक्षक निर्मल मगर र नवराज शर्माको निर्देशनमा उनीहरूले बिदाको दिन दुई घण्टा र अन्य दिन डेढ घण्टा प्रशिक्षण लिन्छन् । र्‍याकेट, बल, पोसाक, बिहानको खाजा र यातायात खर्च संघले नै व्यहोर्छ । प्राविधिक सहयोग कास्की जिल्ला टेनिस संघले गरेको छ । 

प्रदेश टेनिस संघले ‘ग्रो टेनिस’ कार्यक्रममार्फत विपन्न परिवारका ११ खेलाडीलाई प्रतिखेलाडी १० लाख रुपैयाँ लगानी गर्ने गरी प्रशिक्षण दिइरहेको छ । ‘पोखराले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी, अम्पायर, प्रशिक्षक उत्पादन गरिरहेको छ,’ कायस्थले भने, ‘यो टेनिस कम्प्लेक्सलाई चाहिने जनशक्ति यहीं उत्पादन होस् भन्ने हाम्रो उद्देश्य हो ।’

दीपक परियार कान्तिपुरका पोखरा संवाददाता हुन् ।

Link copied successfully