उद्घाटनपछि वर्षाले रोकियो पीएम कप क्रिकेट

शनिबार बिहानदेखि लगातार वर्षा हुँदा जनकपुर र वीरगन्जमा हुने पहिलो दिनको दुबै खेल रद्द गरिएको छ ।

चैत्र ७, २०८२

अजित तिवारी

PM Cup cricket halted due to rain after inauguration

What you should know

जनकपुर — शुक्रबार साँझदेखि हावाहुरीसँगै लगातार परिरहेको पानीका कारण प्रधानमन्त्री (पीएम) कप मेन्स राष्ट्रिय क्रिकेट टुर्नामेन्टको उद्घाटन खेल अवरुद्ध भएको छ ।

शनिबार बिहानदेखि लगातार वर्षा हुँदा जनकपुर र वीरगन्जमा हुने पहिलो दिनको दुबै खेल रद्द गरिएको छ ।     जनकपुरको प्रस्तावित रामजानकी बहुउद्देश्यीय अन्तर्राष्ट्रिय रंगशालाको क्रिकेट मैदानमा लगातारको बर्षाले पानी जमेकाले शनिबारको उद्घाटन खेल रद्द गरिएको नेपाल क्रिकेट संघ (क्यान)ले जनाएको छ । 

उद्घाटन सकेर बिहान ९ बजेअघि नै पहिलो खेल थाल्ने क्यानको तयारी थियो । मौसम प्रतिकूल बन्दा पीएम क्रिकेट कपको उद्घाटन नै दिउँसो १ बजेतिर भएको थियो ।

मधेश प्रदेशका खेलकुद तथा समाज कल्याण मन्त्री वसन्त कुशवाहाले पीएम क्रिकेट कपको जनकपुरमा उद्घाटन गरेलगत्तै बर्षा फेरि सुरु भएको थियो । पीएम क्रिकेट कपको पहिलो दिनको खेल जनकपुरमा मधेश प्रदेश र कोशी प्रदेशबीच र वीरगन्जको नारायणी रंगशालामा कर्णाली प्रदेश र लुम्बिनी प्रदेशबीच थियो । तर, वर्षाका कारण दुबै खेल रद्द गरिएको छ ।

नेपाल क्रिकेट संघ धनुषाका अध्यक्ष शोभाकान्त पाण्डेले वर्षाका कारण उद्घाटन खेल नहुँदा मधेश र कोशी प्रदेशलाई १–१ अंक बाँडिएको बताए । उनले खेल तालिकामा आइतबार कुनै खेल नरहेको पनि बताए । सोमबार मात्र अर्को खेल हुने छ । 

पीएम क्रिकेट कपअन्तर्गत सोमबार जनकपुरमा कोशी र लुम्बिनी प्रदेशबीच खेल हुनेछ । पीएम क्रिकेट कप प्रतियोगिताका निर्देशक आकाश पाण्डेले लगातार पानी परिरहेकाले जनकपुरस्थित रामजानकी रंगशालाको क्रिकेट मैदानको तीन वटै पिचलाई त्रिपालले छोपेर राखिएको बताए । ‘पिच र क्रिकेट मैदानलाई पानीबाट जोगाउने हरसम्भव प्रयास गरिएको छ,’ उनले भने, ‘मौसममा सुधार आए सोमबारदेखि जनकपुरमा खेल निरन्तर हुन्छ ।’

वीरगन्जमा बिहान वर्षा रोकिएकाले ७ ओभरको खेल पनि भएको थियो । कर्णाली प्रदेशले ब्याटिङ गर्दै सात ओभरमा २० रन जोडेको थियो । कर्णाली प्रदेशका ओपनर ब्याटर रवीन्द्र शाहीले ९ रन र अर्को व्याटर सुनिल धमलाले ७ रन जोडेका थिए । लुम्बिनी प्रदेशका बलर सन्देश थापाले ४ ओभरमा १२ रन खर्चिएका थिए भने राजेन्द्र बमले ३ ओभर बलिङ गर्दै एक मेडनसहित ८ रन दिएका थिए ।

लुम्बिनीले टस जितेर फिल्डिङ गर्ने निर्णय गरेको थियो । ७ ओभरको खेल नसकिँदै वीरगन्जमा पनि वर्षा भएपछि त्यहाँको खेल पनि रद्द गरिएको नेपाल क्रिकेट संघ मधेश प्रदेशका कोषाध्यक्ष सुभाष जयसवालले जानकारी दिए । 

पीएम क्रिकेट कपको उद्घाटन जनकपुरमा र समापन वीरगन्जमा हुनेछ । जनकपुरको रामजानकी रंगशालामा उद्घाटनसहित १७ वटा, वीरगन्जको नारायणी रंगशालामा फाइनलसहित १९ वटा र मुलपानी क्रिकेट मैदानको १० वटा खेल खेलाइने छ । सात प्रदेशसहित तीन बिभागीय टोली नेपाल क्लब, नेपाल एपीएफ क्लब र त्रिभुवन आर्मी क्लबबीच पीएम कपमा प्रतिस्पर्धा हुनेछ । 

वैसाख ३ सम्म चल्ने पीएम कप क्यानको एकदिवसीय प्रतियोगिता हो । पीएम कप प्रतियोगिताको विजेता टिमले १० लाख र उपविजेता टोलीले ५ लाख रुपैयाँ नगद पुरस्कार पाउनेछ । 

अजित पत्रकार तिवारी कान्तिपुरका जनकपुर संवाददाता हुन् ।

Link copied successfully