धर्मेन्द्रको कप्तानीमा यू–२० टोली माल्दिभ्सतिर

गत फागुन १९ मा मुख्य प्रशिक्षक उर्जन श्रेष्ठले २३ सदस्यीय अन्तिम टोली घोषणा गरेका थिए । टोली कप्तानमा तोकिए धर्मेन्द्र । नेपालको समूहमा आयोजक माल्दिभ्स, भुटान र श्रीलंका रहेको छ । समूह ‘बी’ मा भारत, बंगलादेश र पाकिस्तान छ ।

चैत्र ६, २०८२

डीबी बुढा

U-20 team headed to Maldives under Dharmendra's captaincy

जुम्ला — माल्दिभ्समा हुने साफ यू–२० च्याम्पियनसिपका लागि जुम्ला तातोपानी गाउँपालिका–७ का धर्मेन्द्र कुँवरको कप्तानीमा नेपाली फुटबल टोलीले सहभागिता जनाउँदै छ । मार्च २३ देखि अप्रिल ३ सम्म हुने च्याम्पियनसिपको समूह ‘ए’ मा परेको छ, नेपाल । 

गत फागुन १९ मा मुख्य प्रशिक्षक उर्जन श्रेष्ठले २३ सदस्यीय अन्तिम टोली घोषणा गरेका थिए । टोली कप्तानमा तोकिए धर्मेन्द्र । नेपालको समूहमा आयोजक माल्दिभ्स, भुटान र श्रीलंका रहेको छ । समूह ‘बी’ मा भारत, बंगलादेश र पाकिस्तान छ । नेपालले मार्च २३ मा भुटानसँग, मार्च २५ मा श्रीलंका र मार्च २७ मा माल्दिभ्ससँग खेल्ने तालिका छ । 

शुक्रबार माल्दिभ्स जाने नेपाली टोलीमा धर्मेन्द्रसहित एलिक श्रेष्ठ, अनुभव पुरी, भक्तबहादुर परियार, विजय उराँव, विज्ञान खड्का, विनायक थारु, गणेश पुलामी मगर, जोन विष्ट, निशान राज लावत, पवन पाख्रिन, पेम्बा नोर्बु भोटे, प्रशान्त मोक्तान, प्रसुन तामाङ, रन्जित लामा, रोहन मोक्तान, रोशन तामाङ, सविन लुङ्गेली मगर, सविन राई, सिद्धान्त खड्का, सुवास बम, सुजन बस्नेत, सुजन डंगोल छन् । टोलीमा सात अफिसियल हुनेछ ।

जुम्ला तातोपानी–७ का सर्मीगाउँका २० वर्षे धर्मेन्द्रलाई सानैदेखि फुटबलप्रतिको मोहले तान्यो । उनले गाउँमा कपडाको बल बनाएर साथीसँग स्कुले मैदानमा फुटबल खेल्न थाले । गाउँमा कतिले जतिसुकै खेल खेले पनि अवसर पाउँदैनौं भन्दै निराशा देखाउँथे, केहीले फुटबलप्रति रुचिले राम्रो स्थानमा पुर्‍याउने भन्दै हौस्याइरहन्थे । तर धर्मेन्द्रले आफ्नै गतिमा फुटबल खेलिरहे ।

U-20 team headed to Maldives under Dharmendra's captaincy

उनका बुवा सिंह कुँवर पहिलेदेखि जडिबुटीको व्यापार गर्थे । पछिल्लो समयमा उनको खलंगामा कपडा पसल छ । धर्मेन्द्रले पनि खलंगामै बसेर फुटबल खेल्न थाले । उनको बसोबास नजिकै सीमाचौर मैदान छ । युवाहरू प्रायः त्यो मैदानमा फुटबल खेलिरहन्छन् । त्यही हेरेर पनि उनले फुटबलको सैद्धान्तिक र व्यवहारिक ज्ञान सिके । गाउँले दाजु मानबहादुर कुँवरले पनि धर्मेन्द्रमा खेलाडी बन्ने क्षमता देख्थे । ‘हामीले सँगै खेल्यौं,’ मानबहादुरले भने, ‘उसको जोस र फुटबलप्रतिको लगावले नै यहाँसम्म पुर्‍याएको हो ।’ मिजासिलो स्वभाव भएकाले पनि जिल्लाका सिनियर खेलाडीले धमेन्द्रलाई प्रतियोगिताहरूमा समेटिरहेका हुन्थे । 

१४ वर्षको उमेरमा उनले सदरमुकाम खलंगामा आयोजित जिल्ला लिगमा खेले । उनको टिम विजेता नै बन्यो । जिल्ला फुटबल संघ जुम्लाले आयोजना गरेको लिगमा धमेन्द्र किपर थिए । उनको गोलकिपिङ क्षमतालाई दर्शकले मुक्तकण्ठले प्रशंसा गर्थे । 

२०७७ सालमा नेपालगन्जमा भएको एन्फा प्रेसिडेन्ट लिग पनि खेले । लेकाली युवा क्लव जुम्लाबाट खेलेका उनले एक खेलमात्र खेल्न पाए । कम उमेरका कारण आयोजकबाट अयोग्य भए । प्रतियोगितामा १६ वर्ष पुगेको हुनुपर्नेमा उनको उमेर १५ वर्ष मात्रै भएकाले उनले थप खेल खेल्न पाएनन् । 

जिल्ला फुटबल संघ जुम्लाका अध्यक्ष भरत बुढथापाले फुटबलप्रतिको लगाव, शारीरिक वनावट देखेर धमेन्द्रलाई जावलाखेल युथ क्लबसँग जोडिदिए । अहिले उनी ५ वर्षदेखि निरन्तर फुटबल प्रशिक्षणमा छन् । फरक यत्ति हो, जुम्ला हुँदा उनी गोलकिपर थिए, अहिले फरवार्ड छन् । 

जावलाखेल युथमा उनले दुई वर्ष गोलकिपिङमै प्रशिक्षण लिए । तर पछि उनको क्षमता फरवार्डमा थप परिस्कृत देखियो । माध्यमिक स्तरको शिक्षा जुम्लाको खलंगास्थित जीएमडी मोर्डन पब्लिकबाट हासिल गरेका धर्मेन्द्रले मेगा नेसनल कलेज कुमारीपाटीबाट उच्च शिक्षा उत्तीर्ण गरेका छन् । सानैदेखिको राष्ट्रिय खेलाडी बन्ने धोको पूरा गरेका छन् । उनको ८ जनाको परिवार छ । उनलाई परिवारले राम्रै साथ दिएको छ । फुटबल खेल र खेलाडीको महत्व उनले परिवारलाई राम्ररी बुझाएका छन् । 

उनले स्कुल हुँदै एथलेटिक्समा समेत प्रयास गरे । उनी राष्ट्रपति रनिङ सिल्डमा भाग लिन सुर्खेतदेखि काठमाडौंसम्म पुगे । तर फुटबलतिरको लगाव बढ्दै जाँदा एथलेटिक्स छोडे । अबको लक्ष्य राष्ट्रिय फुटबलर बन्ने छ । यतिमात्र नभएर गाउँबस्तीसम्म फुटबल पुर्‍याउने उनको सोच छ । अध्यक्ष बुढथापाले साधनस्रोतको अभावका बीच पनि जुम्ली छोरो कप्तानसम्म पुग्नु गर्वको विषय भएको बताए ।

डीबी बुढा कान्तिपुरका जुम्ला संवाददाता हुन् ।

Link copied successfully