पुलिसलाई फेरि जय ट्रफीको उपाधि

गत वर्ष वीरगन्जमा आर्मीलाई नै पराजित गरेर उपाधि जितेको पुलिसले यसपालि पनि त्यही लय समात्यो।

चैत्र ६, २०८२

विनोद पाण्डे

Police win Jai Trophy again

काठमाडौँ — नेपाल पुलिस क्लबले लगातार दोस्रो वर्ष जय ट्रफी मेन्स इलिट कप क्रिकेटको उपाधि जितेको छ । रशिद खान र कुशल भुर्तेलले ९४ रनको साझेदारी गरेपछि पुलिसले मूलपानीको माथिल्लो क्रिकेट मैदानमा बिहीबार सम्पन्न फाइनलमा त्रिभुवन आर्मी क्लबलाई ४ विकेटले हरायो ।

पुलिसले २ सय २७ रनको लक्ष्य तेस्रो तथा अन्तिम दिनको खेलको चियासत्रपछि पूरा गर्‍यो । पुलिसले त्यसक्रममा ५७ ओभरभित्र २ सय ३० रन जोडेको हो । गत वर्ष वीरगन्जमा पनि पुलिसले आर्मीलाई नै पराजित गर्दै उपाधि जितेको थियो । तर यसपल्ट त्यस्तो थिएन । 

आर्मीले पहिलो खेलमै पुलिसलाई ९ विकेटले पराजित गरेको थियो । पुलिसले दुवै इनिङ्समा क्रमशः १८७–८ र ८८ रनको स्कोरमात्र बनाउन सकेको थियो । यसले पुलिसको सेमिफाइनल पुग्ने सम्भावना कठिन बनाइदिएको थियो । त्यसयता पुलिसले जोडदार प्रदर्शन गर्दै सबै ३ खेल जितेर उपाधि आफ्नो पक्षमा पारेको हो । पुलिसका प्रशिक्षक मन्जित श्रेष्ठ उपाधि यात्रालाई स्वाभाविक मान्छन् ।

Police win Jai Trophy again

‘हाम्रो टिमवर्क निकै राम्रो छ, हामी सबै क्रिकेट मैदानमा लागिपरेका व्यक्तिहरू छौं, हार्ने स्थितिमा पनि खेलाडीको मात्र होइन, व्यवस्थापक र प्रशिक्षण टोलीको जोसजाँगर त्यहीअनुरुपको छ,’ नेपाली राष्ट्रिय टोलीका पूर्व खेलाडी उनले भने, ‘हाम्रो टिममा राम्रो समन्वय छ । टोलीमा कुनै दबाब छैन, खेलाडीले जस्तो स्थितिमा पनि सकरात्मक रूपमा खेल्न पाउँछन् ।’ प्रहरीको संगठन राम्रो भइरहेकाले नतिजा पनि राम्रो दिइरहेको उनको बुझाइ छ । 

दिलसाद अली ५७ बल खेल्दै ४ चौका र १ छक्का प्रहार गरेर ३१ र शंकर राना ८ बल खेलेर २ चौकासहित १३ रनमा अविजित रहे । अमित श्रेष्ठ शून्य र दिनेश खरेल २५ रनमा आउट भएपछि रशिद र कुशलले तेस्रो विकेटमा ठोस साझेदारी गरेका थिए । कुशलले ५१ र रशिदले ८१ रन बनाए । कुशलले ६४ बल खेल्दै ५ चौका र प्लेयर अफ द फाइनल रशिदले १ सय २८ बल खेल्दै ८ चौका र ३ छक्का प्रहार गरे । 

Police win Jai Trophy again

कुशल र आरिफले निर्धक्कका साथ खेलेपछि पुलिसले आर्मीलाई कुनै अवसर दिएन । कप्तान आरिफ शेख २१ बल खेल्दै समान १ चौका र छक्का प्रहार गरी १४ र गुलशन झा १ रनमा आउट भए । आर्मीका पवन कार्कीले २ र शाहब आलमले १ विकेट लिए ।

यसअघि १७८–९ बाट तेस्रो दिनको खेलको सुरुआत गरेको पुलिसले थप ४८ रन जोडेको थियो । आकाश चन्द र घाइते अवस्थामा ब्याटिङ गरेका सोमपाल कामीले दसौं विकेटमा कुल ४९ रन जोडे । सागर ढकालले आकाशलाई आउट गरेर उक्त साझेदारी तोडेका थिए ।

आकाशले १ सय २ बल खेल्दै ५ चौकासहित ३७ रन बनाए । देब्रेहातमा लागेको चोटका बावजुत खेलेका सोमपाल २३ रनमा अविजित रहे । उनले ७६ बल खेल्दै ३ चौका प्रहार गरे । सागरले १६.२ ओभरमा २ मेडन राख्दै ४३ रन खर्चेर ४ विकेट लिए । करण केसी र ललित राजवंशीले ३–३ विकेट लिए ।

Police win Jai Trophy again

पहिलो इनिङ्समा दुवै टोलीले समान २ सय २१ रन बनाएका थिए । इमरान शेखको ५०, भीम सार्कीको ३९ र कुशल मल्लको ३८ रनमा आर्मीले पहिलो इनिङ्समा २ सय २१ रन बनाएको थियो । करणले अविजित ७२ रन बनाएपछि पुलिसको पहिलो इनिङ्सको स्कोर पनि २ सय २१ रनमै रोकिएको थियो ।

पुलिसका ललित राजवंशी उत्कृष्ट बलर र प्लेयर अफ द सिरिजमा चुनिए । फाइनलअघि उनले २० विकेट लिएकाले उनलाई उत्कृष्ट बलरको उपाधि दिइएको थियो भने फाइनलको ६ विकेटसहित कुल २६ विकेट लिएका उनी प्लेयर अफ द सिरिज पुरस्कारको हकदार भए । बागमती प्रदेशका इशान पाण्डे उत्कृष्ट ब्याटरमा चुनिए । उनले समूह चरणका ३ खेलमा ३ सय ३१ रन बनाएका थिए । फाइनलमा क्रमशः १८ र ५१ रन बनाउँदै पुलिसका कुशल भुर्तेलले इशानलाई उछिन्दै कुल ३ सय ३६ रन बनाए । विजेतालाई नेपाल क्रिकेट संघका सचिव पारस खड्का र कोषाध्यक्ष पदम खड्कालगायतले पुरस्कृत गरेका थिए ।

विनोद पाण्डे कान्तिपुरका खेलकुद ब्यूरो प्रमुख हुन् ।

Link copied successfully