सूर्य नेपाल गल्फ टुरको पाँचौं तथा २६ औं संस्करणको सूर्य नेपाल वेस्टर्न ओपनमा शुक्रबार इभन–पार ६९ खेलेका भुवन नगरकोटीले समग्रमा ३–अन्डर २ सय ४ को स्कोरमा सञ्जय लामालाई एक स्ट्रोकले हराउँदै उपाधिमा ह्याट्रिक गरे ।
What you should know
पोखरा — भुवन नगरकोटीले सूर्य नेपाल वेस्टर्न ओपनको उपाधि जितेका छन् । सूर्य नेपाल गल्फ टुरको पाँचौं तथा २६ औं संस्करणको सूर्य नेपाल वेस्टर्न ओपनमा शुक्रबार इभन–पार ६९ खेलेका भुवनले समग्रमा ३–अन्डर २ सय ४ को स्कोरमा सञ्जय लामालाई एक स्ट्रोकले हराउँदै उपाधिमा ह्याट्रिक गरे ।
करियरको १४ औं उपाधिसँगै उनले नगद १ लाख ७० हजार प्राप्त गरे । यसअघि यो सिजनमा उनले सूर्य नेपाल एनपीजीए टुर च्याम्पियनसिप र सूर्य नेपाल काठमाडौं ओपनको उपाधि जितेका थिए । भुवनसँग अन्तिम १८ होलको खेल सकिँदा मात्र १ स्ट्रोकको अग्रता थियो । तर शुक्र र जयरामले सुरुआतदेखि नै खेल बिगार्दा भुवनलाई सजिलो भयो ।
दिनको खेलमा ४–अन्डर ६५ खेल्दै समग्रमा २–अन्डर २ सय ५ को स्कोरमा सञ्जय दोस्रो भए । उनले नगद १ लाख २५ हजार हात पारे । एमेच्योर राहुल विश्वकर्माले ४–अन्डर ६५ को स्कोरकार्ड बनाए । समग्रमा १–अन्डर २ सय ६ सहित तेस्रो भए ।
धरानका गल्फर शुक्रबहादुर राईले ४–ओभर ७३ मा अन्तिम दिनको खेल सकाउँदा समग्रमा २–ओभर २ सय ९ सहित चौथो भए । प्रोतर्फ तेस्रो भएका उनले नगद १ लाख आफ्नो नाममा लेखाए । जयराम श्रेष्ठले ६–ओभर ७५ मा अन्तिम दिनको खेल सकाउँदा समग्रमा ७–ओभर २ सय १४ सहित पाँचौं स्थानमा चित्त बुझाए । उनले ८२ हजार प्राप्त गरे ।
पोखराका घरेलु गल्फर भुबहादुर गुरुङ छैटौं भए । उनले समग्रमा ८–ओभर २ सय १५ स्कोर बनाए । शुक्रबारको खेल ३–ओभर ७२ मा पूरा गरे । उनले नगद ७२ हजार पाए । समग्रमा १०–ओभर २ सय १७ सहित भुवनकुमार रोक्का र दिनेश प्रजापति संयुक्त रूपमा सातौं भए । भुवनले ३–ओभर ७२ र दिनेशले २–अन्डर ६७ को स्कोर निकाले । उनीहरूले समान ६५ हजार प्राप्त गरे ।
यस्तै समग्रमा १२–ओभर २ सय १९ बनाएका तोरणविक्रम शाही नवौं हुँदै ५१ हजारको हकदार बने । आज उनले २–ओभर ७१ मा खेल सकाए । १३–ओभर २ सय २० स्कोर बनाएका रमेश अधिकारी र सुरेश तामाङ संयुक्त रूपमा दसौं भए । आज रमेशले ७–ओभर ७६ र सुरेशले ६–ओभर ७५ मा खेल सकाए । उनीहरूले ४४ हजार नगद पुरस्कार हात पारे ।
विजयी खेलाडीलाई सूर्य नेपाल प्रालिका डेपुटी जनरल म्यानेजर केशव प्रधान र नेपाल गल्फ संघका अध्यक्ष टासी घलेले पुरस्कृत गरे । नेपाल प्रोफेसनल गल्फर्स एसोसिएसन (एनपीजीए) द्वारा आयोजित प्रतियोगितामा २६ प्रोफेसनल तथा १६ एमेच्योर खेलाडीको सहभागिता रहेको थियो । सूर्य नेपाल प्रालिद्वारा प्रायोजित प्रतियोगितामा यो पटक कुल पुरस्कार राशि वृद्धि गरिएको थियो । कुल १० लाख ५० हजार नगद पुरस्कार रहेको यो प्रतियोगितामा शीर्ष १८ स्थानसम्मका प्रोफेसनल खेलाडीले नगद पुरस्कार प्राप्त गरे ।
