सूर्य नेपाल वेस्टर्न ओपन : भुवन एक स्ट्रोकले अगाडि

दोस्रो दिन ३ अन्डर ६६ खेलेका भुवनले समग्रमा ३ अन्डर १ सय ३५ को स्कोरसहित शुक्रबहादुर राईलाई एक स्ट्रोकले पछि पारे ।

चैत्र ५, २०८२

कान्तिपुर संवाददाता

Surya Nepal Western Open: Bhuvan leads by one stroke

पोखरा — हिमालयन गल्फ कोर्समा भइरहेको २६ औं संस्करणको सूर्य नेपाल वेस्टर्न ओपनमा बिहीबार भुवन नगरकोटीले एक स्ट्रोकको अग्रता लिएका छन् ।

दोस्रो दिन ३ अन्डर ६६ खेलेका भुवनले समग्रमा ३ अन्डर १ सय ३५ को स्कोरसहित शुक्रबहादुर राईलाई एक स्ट्रोकले पछि पारे । शुक्र २ अन्डर ६७ खेल्दै समग्रमा २ अन्डर १ सय ३६ सहित दोस्रो स्थानमा झरेका छन् ।

१ ओभर ७० को स्कोर बनाएका जयराम श्रेष्ठ समग्रमा १ ओभर १ सय ३९ सहित तेस्रो स्थानमा झरे । समग्रमा २ ओभर १ सय ४० को स्कोरमा सञ्जय लामा चौथो स्थानमा उक्लिए । उनले लगातार दोस्रो दिन १ ओभर ७० को कार्ड बनाए । पहिलो दिनका संयुक्त लिडर भूबहादुर गुरुङले ५ ओभर ७४ को प्रदर्शन गरे । उनी समग्रमा ५ ओभर १ सय ४३ सहित घरेलु प्रो भूबहादुर पाँचौं स्थानमा तल झरे ।

समग्रमा ६ ओभर १ सय ४४ स्कोर गरेका रमेश अधिकारीले ४ ओभर ७३ मा सके । उनी छैटौं स्थानमा रहे । समग्रमा ७ ओभर १ सय ४५ को स्कोरसहित सुरेश तामाङ र भुवनकुमार रोक्काले सातौं स्थान बाँडे । सुरेशले २ ओभर ७१ र भुवनले ४ ओभर ७३ खेले । ४ ओभर ७३ स्कोर बनाएका रवि खड्का समग्रमा ८ ओभर १ सय ४६ सहित नवौं तथा समग्रमा ९ ओभर १ सय ४७ सहित नेपाल नम्बर एक गल्फर नीरज तामाङ दसौं स्थानमा छन् । नीरजले ४ ओभर ७३ को प्रदर्शन गरे ।

यसअघि लगातार दुई प्रतियोगिता जितेका भुवनले  शीर्षस्थानमा एकल अग्रता बनाउने क्रममा फ्रन्टनाइन २–अन्डर ३२ मा सके । उनले तेस्रो, चौथो, पाँचौं र नवौं होलमा बर्डीको सफलता प्राप्त गरे । ५ पारको छैटौं होलमा डबल बोगी खेपे । यसपछि १० र १३ औं होलमा एक–एक शट बचाउँदा ११ औं होलको बोगीले ब्याकनाइन १ अन्डर ३४ मा पूरा गरे ।

शुक्रले फ्रन्टनाइन १ ओभर ३५ मा सक्ने क्रममा पहिलो, तेस्रो र सातौं होलमा बोगी खेपे । दोस्रो र छैटौं होलमा शट बचाए । यसपछि ब्याकनाइनमा सम्हालिँदै ३ अन्डर ३२ को स्कोर निकाले । उनले १०, १५ र १७ औं होलमा बर्डीको सफलता पाए ।

जयरामले तेस्रो होलको बर्डीविरुद्ध दोस्रो र चौथो होलमा बोगी प्रहार गर्दै फ्रन्टनाइन १ ओभर ३५ खेले । यसपछि १० औं होलमा बर्डी र १८ औं होलको बोगीले ब्याकनाइन इभन–पार ३५ मा सके ।

एमेच्योरतर्फ राहुल विश्वकर्मा ८ स्ट्रोकको अग्रतासहित शीर्षमा छन् । उनले ३ ओभर ७२ सहित समग्रमा ३ ओभर १ सय ४१ को स्कोर निकाले । पहिलो दिन संयुक्त शीर्षस्थानमा रहेका राहुल समग्रमा भने पाँचौं स्थानमा झरे । किशन परियारले ३ ओभर ७२ मा दोस्रो दिनको खेल सके । उनले समग्रमा ११ ओभर १ सय ४९ स्कोर जोडे । एमेच्योरतर्फ यी दुईले मात्र कट बनाए ।

समग्रमा १२ ओभर १ सय ५० स्कोरमा कट लागू हुँदा १८ प्रो र २ एमेच्योर गरी २० जनाले अन्तिम दिनको लागि स्थान सुरक्षित गरे । प्रोतर्फ तोरणविक्रम शाही, रामे मगर, वसन्तराज गुरुङ, प्रदीपकुमार लामा, सुमन परियार, शिवकुमार माझी, दिनेश प्रजापति र दीपक मगरले कट बनाए ।

नेपाल प्रोफेसनल गल्फर्स एसोसिएसन (एनपीजीए) द्वारा आयोजित प्रतियोगितामा २६ प्रो र १६ एमेच्योर गल्फरको सहभागिता छ ।  

कान्तिपुर

Link copied successfully