गालातासारेलाई एनफिल्डमा बुधबार सजिलै ४–० ले पराजित गर्दै उसले समग्रमा ४–१ को अग्रता लिएको हो ।
काठमाडौँ — इंग्लिस प्रिमियर लिगको प्रतिनिधित्व गर्दै लिभरपुलले युरोपेली च्याम्पियन्स लिगको अन्तिम आठ खेल्ने भएको छ । गालातासारेलाई एनफिल्डमा बुधबार सजिलै ४–० ले पराजित गर्दै उसले समग्रमा ४–१ को अग्रता लिएको हो ।
लिभरपुलका लागि डोमिनिक सबोसलाई, ह्युगो एकिटिके, रायन ग्रेभेनवेर्च र मोहमद सलाहले गोल गरे । तर टोटनहम र न्युकासल युनाइटेड भने प्रतियोगिताबाट बाहिरिने अन्य इंग्लिस क्लब भएका छन् ।
टोटनहमले बुधबार अन्तिम १६ को दोस्रो लेगको खेलमा एटलेटिको म्याड्रिडलाई ३–२ ले हराए पनि समग्रमा ७–५ ले पछाडि परेको हो । टोटनहमका लागि त्यस खेलमा जाभी सिमोन्सले दुई गोल गरे । बार्सिलोनाले न्युकासल युनाइटेडमाथि ७–२ को जित निकाल्दै समग्रमा ८–३ को निर्णायक अग्रता लिन सफल रह्यो । बार्सिलोनाका लागि राफिन्हा, लामिन यामल र रोबर्ट लेवनडोस्कीले दुई दुई गोल गरे ।
बायर्न म्युनिकले भने एटलान्टामाथि ४–१ को जित दर्ता गर्दै समग्रमा १०–२ को ठूलो अग्रता लियो । यससँगै प्रतियोगिताको अन्ति आठको समीकरण पनि पूरा भएको छ । अब अन्तिम आठमा स्पोर्टिङ लिस्वन र आर्सनल, रियल म्याड्रिड र बायर्न म्युनिक, बार्सिलोना र एटलेटिको म्याड्रिड तथा पेरिस सेन्ट जर्मेन (पीएसजी) र लिभरपुल भिड्ने छन् ।
