डेढ महिनाअघि १५ देशका ९० खेलाडीले नाम दर्ता गराएकोमा ५ देशका ६३ खेलाडीको सहभागिता
पोखरा — पश्चिम एसिया युद्धको असर पोखरामा आयोजित अन्तर्राष्ट्रियस्तरको प्याराग्लाइडिङ च्याम्पियनसिपमा पनि परेको छ । नेपाल हवाइ खेलकुद संस्था (ना) को आयोजनामा बिहीबारदेखि पोखरामा सुरु भएको २१ औं नेपाल खुला प्याराग्लाइडिङ च्याम्पियनसिपमा सहभागी हुन १५ देशका ९० खेलाडीले नाम दर्ता गराएकोमा ५ देशका ६३ खेलाडीले मात्रै भाग लिएका छन् ।
संस्थाका अध्यक्ष अनिल केसीका अनुसार हवाइ खेलकुदको अन्तर्राष्ट्रिय नियमनकारी संस्था विश्व हवाइ खेलकुद महासंघ (एफएआई) लाई एक्युरेसी विधातर्फको प्रतियोगिताबारे जानकारी गराइएको थियो । डेढ महिनाअघिदेखि १५ देशका ९० भन्दा बढी खेलाडीले नेपालमा आउन नाम दर्ता गराएका थिए । पश्चिम एसियामा युद्ध चर्किएसँगै ती देशका खेलाडी र ती देश हुँदै नेपाल आउने खेलाडी सहभागी हुन सकेनन् । ‘धेरै उडान रद्द हुँदा सुरक्षाको कारण देखाउँदै खेलाडी आउन चाहेनन्,’ उनले भने, ‘यद्यपि, ६३ पाइलटको सहभागिता पनि उत्साहजनक नै हो ।’
उनका अनुसार युरोपका अस्ट्रिया, इटाली, जर्मनी, पश्चिम एसियाका साउदी अरेबिया, उज्बेकिस्तान, लेबनान लगायत देशका धेरै खेलाडी सहभागी हुन आएनन् । हाल भारत, चीन, फ्रान्स, जर्मनीका १ र नेपालका २७ गरी ६३ पाइलटले एफएआई श्रेणी–२ मा प्रतिस्पर्धा गरिरहेका छन् । तीमध्ये १० जना महिला खेलाडी छन् ।
के हो एक्युरेसी प्रतियोगिता ?
प्याराग्लाइडिङ प्रतियोगिता मुख्यतया दुई प्रकारका हुन्छन् । एउटा ‘क्रस कन्ट्री’ (एक डाँडाबाट अर्को डाँडासम्मको उडान) र अर्को ‘एक्युरेसी’ (निश्चित स्थानमा अवतरण गर्ने) । नेपालमा पहिले बीचमा एउटा अण्डा राखेर टेक्ने पुरानो पद्धति थियो भने अहिले आधुनिक उपकरणको प्रयोग गरिन्छ । पाइलटले सराङकोटबाट उडान भर्छन् । फेवातालको सिरानतिर खपौंदीमा अवतरण विन्दुमा उपकरण राखिएको हुन्छ । खेलाडीहरूले ६ पटकसम्म उडान र अवतरण गर्छन् । जसको अंक सबैभन्दा कम आउँछ अर्थात् जो उक्त उपकरण रहेको विन्दुको सबैभन्दा नजिक अवतरण गर्छ, त्यसैका आधारमा पुरुष, महिला र सामूहिक विधाको विजेता घोषणा गरिन्छ । एफएआई मान्यताप्राप्त प्रतियोगिता भएकोले खेलाडीले व्यक्तिगत अंक समेत जोड्छन् ।
नेपाल हवाइ खेलकुद संस्थाले पोखरामा प्याराग्लाइडिङको दुईवटा प्रि–वर्ल्ड कप र एउटा एसियन च्याम्पियनसिप सफलतापूर्वक सम्पन्न गरिसकेको छ । यसअघि कोरोना महामारीका कारण ५ वर्षअघि प्रतियोगिता रोकिएको थियो । नवौं राष्ट्रिय खेलकुदमा प्याराग्लाइडिङ दुर्घटनामा परेर ०७९ असोज ३० मा पोखराका निसिम थापाको निधन भएपछि नागरिक उड्डयन प्राधिकरणले एकल उडान बन्द गरेसँगै प्रतियोगिता अनिश्चित भएको थियो । प्राधिकरणले एकल उडानका मापदण्ड र कार्यविधि परिमार्जन एवं समायोजन गरी विधिवत रूपमा लागू गरेपछि गत वर्षदेखि एकल उडान खुला गर्यो ।
प्रतियोगिता पुनः सुरू गर्न पाएकोमा अध्यक्ष केसीले खुसी व्यक्त गरे । ‘प्याराग्लाइडिङका लागि पोखरा मात्र नभई नेपालका विभिन्न हिमाली तथा पहाडी क्षेत्रहरू उपयुक्त छन् र भविष्यमा हामी अन्य स्थानहरूमा पनि यस्ता प्रतियोगिताहरू आयोजना गर्दै जानेछौं,’ उनले भने, ‘यसले नेपाललाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउन र पर्यटन प्रवर्द्धन गर्न ठूलो सहयोग पुग्नेछ ।’ यस प्रतियोगितालाई निरन्तरता दिँदै आगामी दिनमा प्रि–वर्ल्ड कप र वर्ल्ड कप जस्ता भव्य कार्यक्रम गर्ने लक्ष्य रहेको उनले सुनाए । प्रतियोगिताअन्तर्गत बुधबार अभ्यास खेल भएको थियो भने बिहीबारदेखि शनिबारसम्म मुख्य प्रतियोगिता हुनेछ ।
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल बनेपछि कास्कीकोटको तोरीपानी टेक–अफबाट व्यावसायिक उडान हुँदै आएको थियो । प्रतियोगिता अवधिभरका लागि साविकको सराङकोट टेक–अफ नै प्रयोग गरिएको छ । त्यसका लागि नोटाम जारी गरिएको नागरिक उड्डयन प्राधिकरण पोखरा कार्यालयकी प्रवक्ता जसोदा सुवेदीले बताइन् । ‘कम भिजिबिलिटी हुँदा उपकरण उडान नियम (आईएफआर) प्रयोग हुन्छ, त्यस्तो बेला यो क्षेत्रमा प्याराग्लाइडिङ उडानको अनुमति दिन मिल्दैन,’ उनले भनिन्, ‘अहिले भिजिविलिटी राम्रो भएको अवस्थामा दृश्य उडान नियम (भीएफआर) प्रयोग भइरहेकोले नोटाम जारी गरेर प्रतियोगिता गर्नु अनुमति दियौं ।’
खेलतर्फ आकर्षित हुँदै व्यावसायिक पाइलट
प्याराग्लाइडिङ एकल उडानबाट खेलकै रुपमा विकास भएको थियो । पछि व्यवसायिक रुपमा दुईजना उड्ने ‘टेन्डम’ उडान सुरु भयो । पोखरामा सहभागी हुन आएका विदेशी खेलाडी अन्तर्राष्ट्रिय स्तरका रहेको प्रतियोगिता संयोजक एवं संस्थाका पूर्व अध्यक्ष सुनिल भट्टराईले बताए । ‘उनीहरुले यहाँको हावापानी र उडान क्षेत्रको अनुभव विश्वभर फैलाउनेछन्, जसले गर्दा नेपालको प्याराग्लाइडिङ क्षेत्रको विश्वव्यापी प्रचार हुनेछ,’ उनले भने, ‘अर्कोतर्फ, प्याराग्लाइडिङले नेपालका लागि पहिले नै अन्तर्राष्ट्रिय पदक जितिसकेको छ । त्यसैले पदक जित्न सक्ने सबैभन्दा दक्ष टोली प्याराग्लाइडिङमै छ ।’
प्रतियोगिताको पुनरागमनले आगामी दिनमा नेपाली खेलाडीले अन्य खेलले जित्न नसकेका अन्तर्राष्ट्रिय पदक समेत भित्र्याउने आशा उनले व्यक्त गरे । नेपालको पुरुष समूहले सन् २०१८ मा इन्डोनेसियामा भएको १८ औं एसियाली खेलकुदमा क्रस कन्ट्रीतर्फ रजत पदक जितेको थियो । २० वर्षको इतिहासमा एसियाली खेलकुदमा नेपालले पाएको उक्त एक मात्र पदक थियो । उक्त समूहमा विजय गौतम, विमल अधिकारी, सुशील गुरुङ, युकेश गुरुङ र विशाल थापा सहभागी थिए । टिमको प्रशिक्षक योगेश भट्टराई थिए । प्रतियोगितामा जापान पहिलो भएको थियो । ‘जसरी ब्राजिललाई फुटबलले चिनाउँछ, त्यसरी नै नेपाललाई प्याराग्लाइडिङले चिनाउने दिन टाढा छैन,’ भट्टराईले भने ।
प्रतियोगिताको पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले उद्घाटन गरे । उनले पोखरेली पर्यटनको मेरुदण्डका रूपमा रहेको प्याराग्लाइडिङ उडानलाई नियमित सञ्चालनका लागि विभिन्न पहल गरिएको स्मरण गरे । अन्तर्राष्ट्रिय विमानस्थलका कारण विस्थापित हुने अवस्थामा पुगेको प्याराग्लाइडिङ उडानलाई पुनः सञ्चालन गर्ने सन्दर्भमा विभिन्न चरणमा समाधान केन्द्रित छलफल गरिएको उनले बताए । पोखरा भ्रमणमा आउने अधिकांश पर्यटकको प्रमुख रोजाइमा पर्ने गरेको प्याराग्लाइडिङ उडानलाई अझ व्यवस्थित बनाउन व्यवसायीलाई उनले आग्रह गरे । सुरक्षाको पक्षलाई मजबुत बनाउँदै पर्यटकलाई गुणस्तरीय सेवा प्रदान गर्न उनले सुझाव दिए ।
नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश कार्यालय प्रमुख मणिराज लामिछाने पोखरा आउने पर्यटकका लागि प्याराग्लाइडिङ छुटाउनै नहुने गतिविधि भएको बताए । ‘यस्ता अन्तर्राष्ट्रियस्तरका कार्यक्रमले विश्व समुदायमा नेपालको पर्यटनबारे सन्देश पुर्याउछन्,’ उनले भने, ‘बढीभन्दा बढी साहसिक पर्यटक भित्र्याउने आशा गरेका छौं ।’
प्रतियोगितामा एक्युरेसी पुरुष, एक्युरेसी महिला र टिम गरी तीन विधामा प्रतिस्पर्धा हुनेछ । पुरुषतर्फ पहिलो, दोस्रो र तेस्रो हुनेले क्रमशः १ लाख ५० हजार, १ लाख र ५० हजार रुपैयाँ पुरस्कार पाउनेछन् । महिलातर्फ र टिमतर्फका पुरस्कार राशि ७५ हजार, ५० हजार र २५ हजार रुपैयाँ रहेको छ ।
