चर्च ब्वाइज पुनः लय समात्दै

यससँगै टोली उपाधि होडमा कायम रह्यो । सातदोबाटोको एन्फा कम्प्लेक्समा बुधबार भएको खेलमा चर्च ब्वाइजले संकटालाई ५–२ गोलले हरायो ।

चैत्र ५, २०८२

कान्तिपुर संवाददाता

Church Boys are back in the swing of things

काठमाडौँ — चर्च ब्वाइज युनाइटेड राष्ट्रिय लिग फुटबलमा फेरि जितको बाटोमा फर्केको छ । यससँगै टोली उपाधि होडमा कायम रह्यो । सातदोबाटोको एन्फा कम्प्लेक्समा बुधबार भएको खेलमा चर्च ब्वाइजले संकटालाई ५–२ गोलले हरायो ।

यो जितपछि चर्च ब्वाइजको ११ खेलबाट २५ अंक भएको छ । अंक तालिकामा समान २५ अंकसहित तीन टिम छन् । त्यसमा चर्च ब्वाइज, मछिन्द्र एफसी र एपीएफ क्लब रहेका छन् । 

गोल अन्तरले अझै मछिन्द्र शीर्षमा छ भने उसको पछाडि चर्च ब्वाइज र एपीएफ रहेका छन् । चर्च ब्वाइजले यसअघि फ्रेन्ड्ससँग बराबरी खेलेपछि बाटो बिराएको थियो । संकटा भने ११ खेलबाट १२ अंकमै सीमित रह्यो । सहिद स्मारक लिग ‘ए’ डिभिजन विजेता चर्च ब्वाइजको जितमा सुमित श्रेष्ठले ४५ र ७९ औं मिनेटमा गरी दुई गोल गरे । टोलीका लागि रोहन कार्कीले २८ औं मिनेटमा पहिलो गोल गरेका थिए । 

मिलन राईले ६० औं मिनेटमा तेस्रो गोल गरे । त्यसपछि संकटाबाट विवेक राईले ६५ र रिचर्ड ओनयेमाले ७३ औं मिनेटमा गोल गरेका हुन् । खेलले ८० औं मिनेट छुँदा विवेक मगरको आत्मघाती गोलमा चर्च ब्वाइजको ५ गोलको औचारिकता पूरा भएको थियो । 

एन्फा कम्प्लेक्समै भएको पहिलो खेलमा फ्रेन्ड्स र जावलाखेल युथ क्लबले १–१ को बराबरी खेले । जावलाखेलले ४७ औं मिनेटमा प्रकाश दर्लामी मगरको गोलबाट अग्रता लिएको थियो । तर ५२ औं मिनेटमा प्रशान्त लक्समले फ्रेन्ड्सबाट बराबरी गोल फर्कार्ए । यो नतिजापछि जावलाखेल ११ खेलबाट १५ अंक बटुल्न सफल रह्यो ।

जावलाखेलले पछिल्ला ३ खेलमा अपराजित रहेर ५ अंक बटुलेको छ । फ्रेन्ड्स भने ११ खेलबाट १३ अंकमा रह्यो । फ्रेन्ड्स पनि केही लयमा रहेको छ । टोली आफ्नो पछिल्ला ५ खेलमा अपराजित छ ।

कान्तिपुर

Link copied successfully