सातदोबाटोस्थित एन्फा कम्फ्लेक्समा मंगलबार नव जनजागृति र काँत्रेबिहार भिड्दा त्यो त्यस्तो खेल रहने निश्चित जस्तै थियो, जसले लिगमा सहभागी १७ टिममध्ये अन्तिम स्थानमा रहने टिमको निर्णय गर्नेछ ।
काठमाडौँ — राष्ट्रिय लिग फुटबलको उपाधि कसले जित्ने हो, अहिलेसम्म त्यसको छनक नै छैन । तर यही प्रतियोगिताको सबैभन्दा पुछारमा कुन टिम रहने हो, सम्भवतः त्यसको भने टुंगो लागेको छ ।
सातदोबाटोस्थित एन्फा कम्फ्लेक्समा मंगलबार नव जनजागृति र काँत्रेबिहार भिड्दा त्यो त्यस्तो खेल रहने निश्चित जस्तै थियो, जसले लिगमा सहभागी १७ टिममध्ये अन्तिम स्थानमा रहने टिमको निर्णय गर्नेछ ।
त्यतिमात्र होइन, यो दुई त्यस्ता टिमको खेल थियो, जसले त्यसअघि एउटै जित निकाल्न सकेको थिएन । त्यही खेलमा नव जनजागृति २–१ ले विजयी रह्यो । यो जितले टोलीको ४ अंक भएको छ । नव जनजागृति ११ औं खेलमा आइपुग्दा पहिलो खुसीको जित निकाल्न सफल रह्यो । संयोग कस्तो रह्यो भने जनजागृतिको खाताको ४ अंक पछिल्ला २ खेलमै प्राप्त भएको हो । यसअघि नव जनजागृतिले सातदोबाटो युवालाई बराबरीमा रोकेको थियो ।
जनजागृतिका लागि सुनिल मल्लले पहिलो हाफको इन्ज्युरी समयको पहिलो मिनेटमा गोलको खाता खोले । त्यसपछि सोनम आचार्यले ८७ औं मिनेटमा दोस्रो गोल थपे । काँक्रेबिहारका लागि उदीतनारायण चौधरीले दोस्रो हाफको इन्ज्युरी समयको पहिलो मिनेटमा एक गोल त फर्कार्ए, तर यो सान्त्वना गोलभन्दा बढी केही पनि रहेन । यो हारले काँक्रेबिहार १ अंकमा सीमित रह्यो । अब टोलीमाथि प्रतियोगितामा जित निकाल्न असफल रहने एकमात्र टिम हुने डर हुनेछ ।
दिनको पहिलो खेलमा श्री भगवतीले मनाङ मर्स्याङ्दी क्लबलाई १–० ले हराएको थियो । त्यसमा सीमान्त थापाले ६३ औं मिनेटमा निर्णायक गोल गरे । यो जितले श्री भगवतीको १२ खेलबाट १२ अंक भएको छ । टोलीको यो तेस्रो जित मात्रै हो । पछिल्ला दुई खेलबाट पनि भगवतीले ४ अंक बटुलेर आफ्नो स्थिति सुधारेको हो । मनाङ पनि १२ खेलबाट १२ अंकमै सीमित रह्यो ।
