गण्डकी प्रदेश क्रिकेटलाई भीआईटीको साथ

गण्डकीले शनिबार सुरु हुने प्रधानमन्त्री कप क्रिकेटमा भीआईटीको लोगो अंकित जर्सी लगाएर खेल्ने छ ।

चैत्र ४, २०८२

कान्तिपुर संवाददाता

काठमाडौँ — गण्डकी प्रदेश क्रिकेट संघको क्रिकेट टोलीलाई मेलबर्नमा अवस्थित अस्ट्रेलियाको शैक्षिक संस्था भिक्टोरियन इन्स्टिच्युट अफ टेक्नोलोजी (भीआईटी) ले प्रायोजन गर्ने भएको छ । 

यस सम्झौतासँगै गण्डकी प्रदेशमा क्रिकेटको दीर्घकालीन विकास, प्रतिभा पहिचान तथा संरचनागत सुदृढीकरणमा उल्लेखनीय योगदान पुर्‍याउने विश्वास छ । गण्डकी प्रदेशको महिला र पुरुष क्रिकेट टोलीले भीआईटीको लोगो अंकित जर्सी लगाएर खेल्नेछ । गण्डकीले शनिबार सुरु हुने प्रधानमन्त्री कप क्रिकेटमा यही जर्सी लगाएर खेल्ने छ । बुधबार पोखराको होटल पौवामा पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले गण्डकी प्रदेश क्रिकेट टोलीको नयाँ जर्सी सार्वजनिक गरेका थिए । 

अस्ट्रेलियामा सन् १९९८ देखि सञ्चालनमा रहेको भीआईटीको मेलबर्नसहित सिड्नी, एडिलेड, जिलङलगायतका सहरमा शाखा छ । गण्डकी प्रदेशले यो सम्झौताका लागि भीआईटीका ग्लोबल डाइरेक्टर बाबु खनाललाई धन्यवाद दिएको छ ।

कान्तिपुर

Link copied successfully