प्रोफेसनल गल्फर शुक्रबहादुर राई, भुवन नगरकोटी, भूबहादुर गुरुङ र जयराम श्रेष्ठसहित एमेच्योर राहुल विश्वकर्माले इभन–पार ६९ को स्कोर बनाएर अग्रता लिएका छन् ।
What you should know
पोखरा — २६ औं संस्करणको सूर्य नेपाल वेस्टर्न ओपन गल्फको पहिलो दिन बुधबार ५ गल्फर संयुक्त अग्रता बनाएका छन् ।
प्रोफेसनल गल्फर शुक्रबहादुर राई, भुवन नगरकोटी, भूबहादुर गुरुङ र जयराम श्रेष्ठसहित एमेच्योर राहुल विश्वकर्माले इभन–पार ६९ को स्कोर बनाएर अग्रता लिएका छन् ।
हिमालयन गल्फ कोर्समा १ ओभर ७० को स्कोरमा सञ्जय लामा छैटौं, २ ओभर ७१ को स्कोरमा रमेश अधिकारी सातौं र ३ ओभर ७२ सहित भुवनकुमार रोक्का आठौं स्थानमा छन् । ४ ओभर ७३ स्कोर निकालेका रवि खड्का र प्रदीपकुमार लामाले संयुक्त नवौं स्थान ओगटे ।
शुक्रले फ्रन्टनाइन २ ओभर ३६ मा सके । पहिलो, तेस्रो, छैटौं र सातौं होलमा बोगी खेपेका उनले पा“चौं र नवौं होलमा एक–एक शट बचाए । ब्याकनाइनमा सम्हालि“दै २ अन्डर ३३ खेले । १५ औं होलमा एक शट खेर फाल्दा १०, १४ र १७ औं होलमा बर्डी प्रहार गरे ।
पछिल्लो दुई प्रतियोगिता जितेका भुवनले फ्रन्टनाइन इभन पार ३४ मा सक्ने क्रममा पहिलो ९ होलमा पार जोगाए । ब्याकनाइन पनि इभन–पार ३५ खेले । १० र १३ औं होलमा बर्डी प्रहार गर्दा ११ र १२ औं होलमा बोगी खेपे । उनले १४ होलमा पार जोगाए ।
पोखराका स्थानीय गल्फर भू बहादुरले पनि फ्रन्टनाइन इभन पार ३४ र ब्याकनाइन इभनपार ३५ मा सके । उनले तेस्रो होलमा बर्डी र सातौं होलमा बोगी खेपे । यसपछि १२ र १६ औं होलमा बोगी खेप्दा १० र १५ औं मा बर्डी प्रहार गरे ।
जयरामले बोगीबाट दिनको सुरुआत गरे । पाँचौं र नवौं होलको बर्डीले फ्रन्टनाइन १ अन्डर ३३ मा सके । यसपछि १६ औं होलमा बोगी खेल्दा बाँकी होलमा पार जोगाएर ब्याकनाइन १ ओभर ३६ मा सके ।
एमेच्योर राहुलले फ्रन्टनाइन इभन पार ३४ र ब्याकनाइन इभन पार ३५ मा पूरा गरे । पहिलो र १७ औं होलमा एक–एक सट बचाउँदा नवौं र दसौं होलमा बोगी खेले । एमेच्योरतर्फ राहुलले ५ स्ट्रोकको अग्रता बनाए । प्रज्वल गुरूङ ५ ओभर ७४ सहित दोस्रोमा छन् । ८ ओभर ७७ खेलेका कवि थापा तेस्रो स्थानमा छन् ।
