टोलु एराकोडारेले खेलको अन्त्यतिर गोल गरेपछि लिग तालिकाको पुछारमा रहेको उल्भ्सले एक अंक बटुलेको हो ।
काठमाडौँ — उल्भ्सले दुई गोलले पछाडि रहेको स्थितिबाट सोमबार इंग्लिस प्रिमियर लिगमा ब्रेन्टफोर्डलाई २–२ को बराबरीमा रोकेको छ । टोलु एराकोडारेले खेलको अन्त्यतिर गोल गरेपछि लिग तालिकाको पुछारमा रहेको उल्भ्सले एक अंक बटुलेको हो ।
ब्रेन्टफोर्डले माइकल कयोडे र इयोर थिएगोको गोलमा अग्रता लिएको थियो । एडम आम्स्ट्रङले एक गोल फर्काएपछि नाइजेरियाली खेलाडी एराकोडारेले बराबरी गोल गरेका हुन् । उल्भ्स लिगका पछिल्ला तीन खेलमा अपराजित रहेको छ ।
त्यस अगाडि उसले एस्टन भिल्ला र लिभरपुलमाथि जित निकालेको थियो, तर सात चरणका खेल मात्र बाँकी छँदा उल्भ्स रेलिगेसनमा पर्ने निश्चित जस्तै रहेको छ । उल्भ्स सुरक्षित क्षेत्रबाट १२ अंक पछाडि छ । ब्रेन्टफोर्ड भने ४५ अंकमा सातौं स्थानमा रह्यो ।
