रशिद खानको उत्कृष्ट बलिङपछि आर्मीले अन्तिम ५ विकेट केवल २२ रनमा गुमाउन पुग्यो ।
What you should know
काठमाडौँ — त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लबबीच भएको जय ट्रफी मेन्स इलिट कप क्रिकेटको फाइनलको पहिलो दिनको खेल रोमाञ्चक रह्यो । तीन दिवसीय खेलमा पहिलो इनिङ्समा एउटा टोलीले अधिकतम ८० ओभर ब्याटिङ गर्न पाउने प्रावधान थियो ।
अघिल्लो दिनको हुरीबतास र वर्षाका कारण मैदान भिजेकाले लञ्चपछि मात्र खेल सुरु भएको थियो । टस हारेपछि ब्याटिङ निम्तो पाएको आर्मीले मंगलबार माथिल्लो मूलपानी मैदानमा सुरुआती ब्याटिङ जसरी गरेको थियो, त्यसले टोलीलाई ८० ओभरको ब्याटिङ पनि पर्याप्त नहुने देखिएको थियो । तर, रशिद खानको उत्कृष्ट बलिङपछि आर्मीले अन्तिम ५ विकेट केवल २२ रनमा गुमाउन पुग्यो ।
त्यसमध्ये रशिदले ४ विकेट लिए । उनले सोक्रममा ४ ओभरमा १ मेडन राख्दै १७ रनमात्र खर्चेका थिए । ललित राजवंशी र करण केसीले ३–३ विकेट लिए । माथिल्लो क्रममा ३ विकेट लिएका ललितले १८ ओभरमा ३ मेडन राख्दै ४५ र करणले १३.२ ओभरमा १ मेडन राख्दै ४९ रन खर्चे ।
एक समय आर्मी १ विकेट गुमाई १ सय ५ रनको स्थितिमा थियो । त्यसपछि १९९–५ रहेको आर्मी अन्त्यमा ५८.२ ओभर खेल्दै २ सय २१ रनमा अलआउट भयो । ओपनर तृतराज दासले ३४ बल खेलेर ६ चौकासहित ३२ रन बनाए । अर्का ओपनर इमरान शेखले १ सय ३७ बल खेलेर ५० रन बनाए ।
भीम सार्की ३९ रनमा आउट भए । उनले ४९ बलमा ५ चौका र १ छक्का प्रहार गरे । कप्तान विनोद भण्डारी ९ रनमै आउट भए । बसिर अहमद र कुशल मल्लले क्रमशः ३० र ३८ रनको महत्त्वपूर्ण इनिङ्स खेले । बसिरले ३५ बलमा ४ चौका र १ छक्का तथा कुशलले ४८ बलमा ५ चौका र २ छक्का प्रहार गरे ।
तर त्यसपछि रशिदले एकै ओभरमा सोमपाल कामी, नरेन साउद र पवन कार्कीलाई आउट गरे । सोमपालले १७ रन बनाए भने नरेन र पवनले खाता खोल्न भ्याएनन् । रशिदले शाहब आलमलाई पनि शून्यमै आउट गरे । कुशल आउट हुने अन्तिम ब्याटर थिए ।
पहिलो दिनको खेल समाप्तिमा साबिक विजेता पुलिसले पनि ४१ रन बनाउँदा ३ विकेट गुमाइसकेको छ । ओपनर दिनेश खरेल ३३ बल खेल्दै २ चौकासहित ११ र रशिद ३ रन बनाई अविजित छन् । अमित श्रेष्ठ १, कुशल भुर्तेल १८ र दिलसाद अली १ रनमा आउट भए । आर्मीबाट सोमपालले २ र आकाश चन्दले १ विकेट लिए ।
