युनाइटेड भिजनलाई कोहलपुर प्राइड लिगको उपाधि

युनाइटेडले सोमबार न्यु होराइजन स्पोर्ट्स क्लबलाई सुपर ओभरमा हराएर उपाधि उचालेको हो ।

चैत्र २, २०८२

रूपा गहतराज

United Vision wins Kohalpur Pride League title

What you should know

नेपालगन्ज — युनाइटेड भिजन क्रिकेट क्लबले क्याम्पा कोहलपुर प्राइड लिग (केपीएल) टी–२० क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ । युनाइटेडले सोमबार न्यु होराइजन स्पोर्ट्स क्लबलाई सुपर ओभरमा हराएर उपाधि उचालेको हो ।

न्यु होराइजनले टस जितेर फिल्डिङ रोजेको थियो । पहिला ब्याटिङ निम्तो पाएको युनाइटेड भिजनले निर्धारित २० ओभरमा १ सय ३६ रन बनायो । दीपेन्द्रसिंह ऐरीले ४२ बलमा सर्वाधिक ६९ रन बनाए । विपिन शाहीले १८ रन र अर्जुन साउदले १५ बलमा १६ रन बनाए । अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

न्यु होराइजनका प्रेम गुप्ताले ११ रन मात्रै खर्चेर सर्वाधिक ५ विकेट लिए । निश्चल ज्ञवालीले २, प्रिन्स पाल, मोहम्मद हुसेन र अमर मिश्रले १–१ विकेट लिएका थिए ।

जवाफमा युनाइटेडले १९.३ ओभरमा अलआउट हुँदा १ सय ३६ रन बनायो । त्यसपछि खेल सुपर ओभरमा पुग्यो । मोहम्मद हुसेनले २९ रन र अमर मिश्र २९ रन बनाए ।

सुपर ओभरमा न्यु होराइजनले १ ओभरमा २ विकेट गुमाएर ६ रन बनायो । अमर मिश्रले ३ र सन्दीप मौर्याले १ रन बनाए । ७ रनको लक्ष्य पाएको युनाइटेड भिजनले बलमै बनाएर जित हासिल गरेको थियो । दीपेन्द्रसिंह ऐरीले ३ र आदिल आलमले २ रन बनाए ।

विजेता युनाइटेडले ४ लाख र उपविजेता न्यु होराइजनले २ लाख पुरस्कार पाए । १ सय ६५ रन बनाउनुका साथै ६ विकेट लिएका होराइजनका अमर मिश्र उत्कृष्ट खेलाडी घोषित भए । उनले बीबी साइकल स्टोर्सको तर्फबाट साइकल र १० हजार रुपैयाँ पुरस्कार पाए ।

१ सय ७१ रन बनाएका होराइजनका आरिफ खान उत्कृष्ट ब्याटर बने भने ८ विकेट लिएका युनाइटेडका सन्तोष यादव उत्कृष्ट बलर भए । दुवैले १० हजार पुरस्कार पाए ।

विजेतालाई कोहलपुर नगरप्रमुख पूर्णप्रसाद आचार्य, नगर खेलकुद विकास समितिका अध्यक्ष चक्र चिमाला क्षेत्री र प्रतियोगिता संयोजक विनायक गिरीलागायतले पुरस्कृत गरे ।

रूपा

Link copied successfully