पोखरामा पाँच वर्षपछि प्याराग्लाइडिङ च्याम्पियनसिप हुँदै

नवौं राष्ट्रिय खेलकुदमा प्याराग्लाइडिङ दुर्घटनामा परेर पोखराका निसिम थापाको निधन भएपछि नागरिक उड्डयन प्राधिकरणले सोलो उडान बन्द गरेसँगै प्रतियोगिता रोकिएको थियो ।

चैत्र २, २०८२

दीपक परियार

Paragliding Championship to be held in Pokhara after five years

What you should know

पोखरा — साहसिक पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यसहित पोखरामा २१ औं संस्करणको नेपाल ओपन प्याराग्लाइडिङ च्याम्पियनसिप (एक्युरेसी प्रतियोगिता) आयोजना हुने भएको छ ।

नेपाल हवाई खेलकुद संस्था (ना) को आयोजनामा आगामी ५ देखि ७ चैतसम्म सञ्चालन हुने प्रतियोगिता ५ वर्षपछि हुन लागेको हो ।

यसअघि नवौं राष्ट्रिय खेलकुदमा प्याराग्लाइडिङ दुर्घटनामा परेर पोखराका निसिम थापाको निधन भएपछि नागरिक उड्डयन प्राधिकरणले सोलो उडान बन्द गरेसँगै प्रतियोगिता रोकिएको थियो ।

गत वर्षदेखि सोलो उडानको अनुमति पाएपछि यस वर्ष प्रतियोगिता हुने भएको हो । प्रतियोगिता यसपल्ट पनि अन्तर्राष्ट्रिय मान्यता प्राप्त एफएआई क्याटेगोरी–२ अन्तर्गत सञ्चालन हुनेछ । प्रतियोगिताको तयारी करिब ९० प्रतिशत पूरा भइसकेको आयोजकले सोमबार पोखरामा पत्रकार सम्मेलन गरी  जानकारी दिएको छ ।

संस्थाका अध्यक्ष अनिल केसीका अनुसार ७ देशका एक सयजना पाइलटले प्रतियोगितामा भाग लिनेछन् । प्रतियोगितामा सहभागिताका लागि चासो दिएका युरोपेली पाइलट भने पश्चिम एसियामा भइरहेको तनावका कारण सहभागी हुन नसकेको उनले सुनाए । ‘फेब्रुअरीमा गर्नुपर्ने प्रतियोगिता चुनावका कारण मार्चमा सर्न पुग्यो,’ उनले भने, ‘मध्य एसियाको युद्धले युरोपबाट आउनुपर्ने १०–१५ जना पाइलट उतै रोकिए ।’

सराङकोटस्थित पुरानै उडानस्थलबाट खपौंदीमा अवतरण हुने भएकोले पोखराको प्याराग्लाइडिङ पुरानै लयमा फर्किने सन्देश दिन प्रतियोगिताले सहयोगी भूमिका खेल्ने उनले बताए ।

प्रतियोगिता मूल आयोजक समितिका संयोजक एवं संस्थाका निर्वतमान अध्यक्ष सुनिलबहादुर भट्टराईका अनुसार प्रतियोगितामा स्वदेशी तथा विदेशी गरी करिब ९० खेलाडीले हालसम्म नाम दर्ता गराइसकेका छन् भने अन्तिम सहभागिता संख्या करिब एक सय पुग्ने अनुमान गरिएको छ ।

प्रतियोगिताले साहसिक खेलमार्फत नेपालको पर्यटन प्रवर्द्धनमा टेवा पुर्‍याउने अपेक्षा गरिएको छ । ‘प्याराग्लाइडिङ नेपालको सम्भावना बोकेको साहसिक खेल हो । यो प्रतियोगिताले पर्यटन क्षेत्रलाई चलायमान बनाउन र नेपाली खेलाडीलाई अन्तर्राष्ट्रिय प्रतिस्पर्धाका लागि तयार पार्न सहयोग पुग्ने विश्वास लिएका छौं,’ उनले भने ।

उनका अनुसार प्रतियोगिताबाट छनोट हुने खेलाडीले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका विभिन्न प्याराग्लाइडिङ प्रतियोगितामा भाग लिन पाउनेछन् । यसबाट १० औं राष्ट्रिय खेलकुदका लागि गण्डकी प्रदेशस्तरीय खेलाडी छनोट गर्ने पनि योजना छ ।

नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश कार्यालय प्रमुख मणिराज लामिछाने पोखरा आउने पर्यटकका लागि प्याराग्लाइडिङ छुटाउनै नहुने गतिविधि भएको बताए । ‘यस्ता अन्तर्राष्ट्रियस्तरका कार्यक्रमले विश्व समुदायमा नेपालको पर्यटनबारे सन्देश पुर्‍याउछन्,’ उनले भने, ‘बढीभन्दा बढी साहसिक पर्यटक भित्र्याउने आशा गरेका छौं ।'

नेपाल हवाई खेलकुद संस्था र ट्रेकिङ एजेन्सीज एसोसिएसन अफ नेपाल (टान) गण्डकी प्रदेशको सहकार्यमा यसअघि पनि प्रतियोगिता आयोजना हुँदै आएको थियो । पछिल्ला वर्षहरूमा नेपालमा प्याराग्लाइडिङ वर्ल्ड कपको तयारीका रूपमा प्रि–वर्ल्ड कप तथा एसियन कन्टिनेन्टल च्याम्पियनसिपसमेत आयोजना भइसकेको छ ।

कोभिड–१९ महामारी र नेपाल नागरिक उड्डययन प्राधिकरणले केही समय सोलो उडानमा लगाएको प्रतिबन्धका कारण बीचमा रोकिएको प्रतियोगिता पुनः निरन्तरता दिन लागिएको हो । प्रतियोगिताको अनुमानित लागत करिब ३० लाख रुपैयाँ रहेको छ ।

प्रतियोगितामा एक्युरेसी पुरुष, एक्युरेसी महिला र टिम गरी तीन विधामा प्रतिस्पर्धा हुनेछ । पुरुषतर्फ पहिलो, दोस्रो र तेस्रो हुनेले क्रमशः १ लाख ५० हजार, १ लाख र ५० हजार रुपैयाँ पुरस्कार पाउनेछन् । महिलातर्फ र टिमतर्फका पुरस्कार राशि ७५ हजार, ५० हजार र २५ हजार रुपैयाँ रहेको छ ।

प्रतियोगिता सुरक्षित बनाउन मौसमको अवस्था हेरेर उडान गराइने प्रतियोगिताका सुरक्षा संयोजक योगेश भट्टराईले बताए । ‘खेलअघि आधिकारिक मौसम पूर्वानुमान अध्ययन गरिने र खेलाडीलाई हावाको दिशा, तापक्रम, थर्मल गतिविधि तथा सम्भावित जोखिमबारे विस्तृत ब्रीफिङ गराइनेछ,’ उनले भने ।

आयोजकका अनुसार प्रतियोगिता स्थलमा उद्धार टोली, मोटरबोट, आवश्यक सुरक्षा उपकरण, स्वास्थ्यकर्मी र एम्बुलेन्स तयारी अवस्थामा राखिनेछ । सहभागी सबै खेलाडीको अनिवार्य बीमा गरिएको छ । नेपाल प्याराग्लाइडिङ तथा ह्याङग्लाइडिङ संघ, नेपाल प्याराग्लाइडिङ पाइलट्स क्लब, नेपाल पर्यटन बोर्ड, पोखरा महानगरपालिका, प्रदेश खेलकुद परिषद् गण्डकी र पोखरा पर्यटन परिषद्को समन्वयमा प्रतियोगिता सञ्चालन हुने जनाइएको छ ।

दीपक परियार कान्तिपुरका पोखरा संवाददाता हुन् ।

Link copied successfully