पारिश्रमिक लिन भौंतारिरहेका क्रिकेट खेलाडी

क्रिकेट खेलाडीले खेलेबापतको पारिश्रमिक, पुरस्कार रकम पाएका छैनन् भने टिमसँग उपाधि जितेको डमी चेक छ, नगद छैन

चैत्र २, २०८२

विनोद पाण्डे

Cricket players wandering around to collect their salaries

What you should know

काठमाडौँ — अघिल्लो साता हाई स्कोरिङ ट्वान्टी–२० विश्वकपको फाइनलमा न्युजिल्यान्डका जिम्मी निसमले भारतविरुद्ध एक यस्तो ओभर फाले, जसको चर्चा जति गरे पनि कम हुन्छ । भारतीय ब्याटरहरूले निर्मम प्रहार गरिरहेको समयमा निसमले एकै ओभरमा ३ विकेट लिएर सनसनी बलिङ प्रदर्शन गरेका थिए ।

अहमदाबादको नरेन्द्र मोदी रंगशालाबाट त्यसको बाछिटा नेपालसम्म आइपुग्यो । निसमले एकै ओभरमा ३ विकेट लिएको जोसमा उनी खेल्ने नेपाल प्रिमियर लिग (एनपीएल) को टोली पोखरा एभेन्जर्सले सामाजिक सञ्जालमा तारिफ गर्दै एउटा पोस्ट गरेको थियो । निसमले जवाफ फर्काइहाले, ‘ठीकै छ, आफ्नो खेलाडीको पारिश्रमिक भुक्तानी गर ।’

निसमले डिसेम्बरमा सम्पन्न एनपीएलको दोस्रो सिजनमा पोखराबाट सुरुका ४ खेल खेलेका थिए । त्यो खेल्दाको पारिश्रमिक नपाएको उनको जवाफबाट स्पष्ट भइहाल्यो । निसमले त्यो रिप्लाई पछि हटाए पनि अहिले पोखराको व्यवस्थापन टोली पारिश्रमिक ढिला हुनुको कारण दिँदै बसेको छ । यो नै पारिश्रमिक ढिला हुनु वा जानी–जानी नदिनुको पहिलो उदाहरण भने नेपाली क्रिकेटमा होइन । 

नेपाल क्रिकेट संघ (क्यान) ले १ वैशाख २०७९ मा भैरहवामा बसेको बोर्ड बैठकले स्कोरर, अभिलेख राख्ने तालिम दिन मेहबुब रेजालाई मासिक २० हजार तलब तोकेर नियुक्त गर्ने निर्णय गरेको थियो । ‘मैले सो अनुरूप २२ महिना काम गरें तर मैले निकै मुस्किलले ९ महिनाको मात्र तलब पाएँ, तलब नपाएको विषय क्यानमा राख्दा मलाई निलम्बन गरियो,’ रेजाले भने, ‘मैले बाँकी १३ महिनाको २ लाख ६० हजार तलब अझै पाउन सकेको छैन ।’

उनका अनुसार २०२३ मा भएको एसीसी प्रिमियर लिगको २४ हजार र नेपाल ट्वान्टी–२० लिगमा स्कोरिङ गरेबापतको ३२ हजार गरी कुल २ लाख ७७ हजार पारिश्रमिक क्यानबाट अझै पाएका छैनन् । क्यानले निलम्बन गरेपछि आफू बेरोजगार हुनुपरेकाले रोजगारीका लागि कतार पुगेको जनाए । दोहो पुगेपछि उनी कतार क्रिकेट संघको सम्पर्कमा सप्ताहान्तमा शनिबार र आइतबार स्कोरिङ गरिरहेकै जनाउँछन् । 

‘मध्यपश्चिममा अहिले तनाव रहेको छ, इरानले कतारमा आक्रमक गरिरहेको छ, त्यही हो, कतार आएर मिसाइल हेर्न पाइएको छ, मोबाइलमा अलार्म आउनेबित्तिकै अपार्टमेन्ट छिर्नुपर्छ, जिन्दगी के कस्तो हुने हो तनावमै बितिरहेको छ,’ रेजाले कान्तिपुरसँग भने, ‘क्यानमा जागिर गरेर १३ महिनाको तलब नपाउँदाको तनाव पनि योभन्दा कमचाहिँ थिएन ।’

ललितले नपाएको मोटरसाइकल

सात वर्षअघि क्यान अन्तर्राष्ट्रियस्तरमा निलम्बनमा रहेको अवस्थामा राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले नेपालय इन्टरनेसनलसँग मिलेर प्रधानमन्त्री कपको आयोजना गरेको थियो । प्रतियोगितापूर्व राखेपले उत्कृष्ट बलर र ब्याटरलाई जनही ३० हजार र प्लेयर अफ द सिरिजलाई ५० हजार दिने घोषणा मेरियट होटलमा पत्रकार सम्मेलन गरेर गरेको थियो भने नेपालयले प्लेयर अफ द सिरिजलाई एक थान मोटरसाइकल दिने घोषणा गरेको थियो । 

Cricket players wandering around to collect their salaries

त्रिभुवन आर्मी क्लबलाई फाइनलमा ४ विकेटले पराजित गरी नेपाल पुलिस क्लब च्याम्पियन बन्यो । फाइनलमा ४ विकेट लिँदै पुलिसका स्पिनर ललित राजवंशीले प्रतियोगितामा आफ्नो विकेट संख्या २० पुर्‍याए । उनी नै प्लेयर अफ द सिरिजमा चुनिए । तर पुरस्कार वितरण समारोहमा उनलाई नगद ५० हजार मात्र दिइयो । ललितले मोटरसाइकल पाएनन् । आयोजक नेपालयले पर्याप्त प्रायोजक ल्याउन नसकेको भन्दै मोटरसाइकल घोषणाबाट पन्छिएको थियो । 

‘धेरै पटक सोधीखोजी गर्दा पनि मोटरसाइकल दिएनन्, नेपालयलाई भन्दा राखेपलाई भन्नु भने, राखेपमा जाँदा त्यो नेपालयले घोषणा गरेको हो, उसैले दिन्छ भने तर मैले खेलेर पाउनुपर्ने घोषणा भएको मोटरसाइकल पाइनँ,’ ललितले कान्तिपुरसँग भने । त्यसयता उनले उत्कृष्ट खेलाडीमा चुनिँदै ३ वटा थप मोटरसाइकल पाइसकेका छन् । उनले भने, ‘त्यो पनि पाइएको भए चार वटा हुन्थ्यो ।’

आयोजक नै भागेपछि खेलाडीको बिचल्ली

सन् २०२२–२३ मा विवादास्पद ढंगले आयोजना भएको नेपाल ट्वान्टी–२० लिग ‘म्याच फिक्सिङ’ का कारण निकै प्रभावित बन्यो । त्यसमा खेलेका खेलाडीहरू अहिलेसम्म पारिश्रमिक नपाएर छटपटिरहेका छन् । क्यानले भारतीय कम्पनी सेभेन थ्री स्पोर्ट्सलाई कमर्सियल एन्ड स्ट्रेजेटिक साझेदार बनाउँदै आयोजना गरेको प्रतियोगिताको बीचैमा भारतीय पक्ष भागेपछि विवाद झनै चुलिएको थियो । 

प्रतियोगिता सुरु हुनुअघि खेलाडीको पारिश्रमिकको ४० प्रतिशत रकम भुक्तानी गर्नुपर्ने सम्झौता भएको थियो । तर प्रतियोगिता बीचमा पुग्दा पनि केही टोलीका खेलाडीले पारिश्रमिक नपाएको गुनासो गरेका थिए । काठमाडौं नाइट्सबाट खेल्न आएका इंग्लिस खेलाडी एलेक्स ब्लेकले प्रतियोगिता दौरान भनेका थिए, ‘क्रिसमसको दौरान परिवार छाडेर हामी यो प्रतियोगिता खेल्न आएका छौं तर पारिश्रमिकको अझै कुनै टुंगो लागेको छैन ।’ काठमाडौं नाइट्सबाटै खेलेका मलेसियाका वीरनदीप सिंहले झन्डै ३ वर्षपछि हालै आफूले पाउनुपर्ने ६ हजार ४ सय ७५ डलर पारिश्रमिक रकम पाएको कान्तिपुरलाई बताए । मलेसियन क्रिकेट संघले क्यानमार्फत समन्वय गरेर सो रकम भुक्तानी गरिदिएको सिंहले जनाए ।

ब्लेक र वीरनदीपसँगै खेलेका अविनाश बोहराले अझै पूरै पारिश्रमिक पाएका छैनन् । उनी ड्राफ्टमार्फत १० लाख रुपैयाँमा नाइट्समा आबद्ध भएका थिए । अहिलेसम्म नाइट्सका खेलाडीहरूले ५० प्रतिशत रकम मात्र पाएको अविनाशले जनाए । ‘मेरो सम्झौताअनुसार १० लाख रुपैयाँ हो, ५० प्रतिशत भनेर ५ लाख दिएको थियो, कर काट्दा पनि मैले अझै ३ लाख ५० हजार रुपैयाँ जति पाउन बाँकी छ,’ अविनाशले भने, ‘धेरै पटक अनुरोध गर्दा पनि अझै रकम पाइएको छैन ।’

Cricket players wandering around to collect their salariesसाथै नेपाल ट्वान्टी–२० लिगमा १९ विकेट लिँदै अविनाश उत्कृष्ट बलरमा चुनिएका थिए । उत्कृष्ट बलरबापत उनले २ लाख ५० हजार रुपैयाँ पुरस्कार रकमको चेक बुझेका थिए । तर नगद भने अझै पाएका छैनन् । सेभेन थ्री स्पोर्ट्सका संस्थापक जतिन अहुलावालिया बीचैमा भागेपछिको क्षण अविनाश झलझली सम्झन्छन् । 

जतिन भागेपछि र काठमाडौं नाइट्सका मालिक नभेटिएपछि खेलाडीहरूले पारिश्रमिकको सुनिश्चितता नभएसँग खेल्न मानेका थिएनन्, जसका कारण काठमाडौं नाइट्स र विराटनगर सुपर किंग्सबीचको खेल खेलाडीले खेल्न नमानेका कारण २ घण्टा ढिला सुरु भएको थियो । क्यानका अध्यक्ष चतुरबहादुर चन्द, प्रशान्त मल्ल, महाप्रबन्धक वृतान्त खनालको रोहवरमा कागज बनाई पारिश्रमिकको सुनिश्चितता गरेपछि खेल सुचारु भएको थियो । तर नाइट्सका खेलाडीले खेलेबापतको पूरा पारिश्रमिक अझै पाएका छैनन् । सम्झौताअनुसार खेलाडीलाई दिनुपर्ने पारिश्रमिक रकम क्यानले स्विकार्दै ६ महिनाभित्र भुक्तानी गर्ने उल्लेख छ । 

नाइट्सको कप्तानी गरेर नेपाल ट्वान्टी–२० लिगमा खेलेका ज्ञानेन्द्र मल्लले सबैखाले क्रिकेटबाट संन्यास लिएर घोषणा गरी नेपाली राष्ट्रिय टोलीको प्रशिक्षक बनेर राष्ट्रिय स्वतन्त्र पार्टीको समानुपातिक सूचीमा परिसके पनि ३ वर्ष बढी भइसक्दा पनि पारिश्रमिक अझै पाएका छैनन् । ‘पारिश्रमिकका लागि सरोकारवालाहरू लगभग सबैलाई अनुरोध गरियो तर कसैले ध्यान दिएका छैनन्, 

तत्कालीन क्यानलाई पनि भनेका थियौं, अहिलेको क्यानलाई भन्दा त्यतिखेरको हिसाब हो भनिदिन्छ,’ ज्ञानेन्द्रले गुनासो गरे । मार्की खेलाडीबापत उनको १५ लाख रुपैयाँ पारिश्रमिक तोकिएको थियो तर उनले ७ लाख ५० हजार मात्र पाएको जनाए ।

सोही प्रतियोगितामा फार वेस्ट युनाइटेडबाट खेलेका करण केसी आफूले त्यसको पूरा पारिश्रमिक अझै नपाएको जनाउँछन् । ड्राफ्टबाट विदेशी लगानीको फार वेस्टले करणलाई १५ लाख रुपैयाँमा लिएको थियो । तर सो फ्रेन्चाइज टोलीले आफ्नो पारिश्रमिकको ५० प्रतिशत रकम मात्र दिएको करणले बताए । 

‘हामीले फार वेस्ट युनाइटेडको व्यवस्थापन टोलीलाई पारिश्रमिकका लागि भनेका थियौं, उनीहरूले क्यानमा रकम पठाइदिएको भन्छन् तर क्यानमा कसैले ठोस निर्णय दिँदैनन्,’ करणले भने, ‘अहिलेको क्यानलाई यसबारे जानकारी गराउँदा यो पुरानो क्यानले दिनुपर्ने जनाउँछन्, खेलेको पारिश्रमिक नपाएर खेलाडीहरू प्रत्यक्ष मारमा परेका छन् ।’

नगद पुरस्कार रकम पनि चेकमै सीमित 

अमेरिकामा रहेका युवा नेपालीहरूको लगानीमा रहेको लुम्बिनी अल स्टार्स नेपाल ट्वान्टी–२० लिगको विजेता बनेको थियो । सोबापत टोलीले घोषित ५५ लाख रुपैयाँको चेक पाएको थियो । तर त्यो रकम नगदमा अझै नपाएको लुम्बिनी अल स्टारका लगानीकर्तामध्येका एक उत्सव सिग्देलले जनाए । 

‘हामीले उपाधि जितेर पाउनुपर्ने पुरस्कार रकमका लागि धेरै पटक ताकेता गर्‍यौं तर पाउन सकेनौं, आयोजक को हो र कसले दिने भनेर सबै पन्छिरहेका छन्,’ सिग्देलले भने, ‘अहिले त हामीले यो रकम माया नै मारिसक्यौं, नेपाली क्रिकेटको विकासका लागि भनेर खर्चिएको रकम भनेर आफैं मन शान्त पारेका छौं ।’

विनोद पाण्डे कान्तिपुरका खेलकुद ब्यूरो प्रमुख हुन् ।

Link copied successfully