हिमालयन क्वीन्स ग्याम्बिटमा सदीक्षाले जितिन् ट्रफी

हिमालयन क्वीन्स ग्याम्बिटको दोस्रो संस्करणको उपाधि अधिवक्ता सदीक्षा आचार्यले जितेकी छन् । उनले थापाथाली चेस पार्कमा आइतबार सम्पन्न खेलमा अपराजित रहँदै ६.५ अंक बनाएर सफलता हात पारेकी हुन् ।

चैत्र १, २०८२

कान्तिपुर संवाददाता

Sadiksha wins the trophy in Himalayan Queens Gambit

काठमाडौँ — हिमालयन क्वीन्स ग्याम्बिटको दोस्रो संस्करणको उपाधि अधिवक्ता सदीक्षा आचार्यले जितेकी छन् । उनले थापाथाली चेस पार्कमा आइतबार सम्पन्न खेलमा अपराजित रहँदै ६.५ अंक बनाएर सफलता हात पारेकी हुन् ।

स्वीस लिग प्रणालीको आधारमा सात चरणमा सञ्चालित ब्लिट्ज चेस प्रतियोगितामा सोनालिका सर्राफले पनि सदीक्षा समान ६.५ अंक बनाएकी थिइन् । बराबरी अंक भए पनि टाइब्रेकरको आधारमा पायोनियर एसोसिएट लकी सदीक्षाले उपाधि जितेकी हुन् । प्रिसियस अधिकारी र शुभश्री श्रेष्ठले पनि समान ६ अंक बनाए । तर, टाइब्रेकरको आधारमा अगाडि रहँदै प्रिसियस तेस्रो भइन् ।

प्रकृति न्यौपाने (५.५ अंक), अस्मिता दाहाल (५.५), मेघना अधिकारी (५) र आरती राई (५) ले शीर्ष आठमा रहँदै पदक हात पारे । त्यस्तै, यू-७ मा रुथ्वी सिंह (४ अंक), यू-१० मा संगीता दास (४.५), यू-१३ मा सुप्रिया खत्री (५), यू-१६ मा गृष्मा पौडेल (५) र ४० वर्षमाथि शिवांगी नाथ (५ अंक) पहिलो स्थानमा रहे ।

स्कुलतर्फको उपाधि मार्भलस इंग्लिस बोर्डिङले जित्यो । उसले शीर्ष तीन खेलाडीको मूल्यांकनको आधारमा आठ अंक बटुल्दै ट्रफी जितेको हो । ग्रिनल्यान्ड इन्टरनेसनल स्कुल पाँच अंकसहित उपविजेता भयो । श्री पञ्चकन्या आधारभूत विद्यालय चार अंक बनाएर तेस्रो स्थानमा रह्यो ।

Sadiksha wins the trophy in Himalayan Queens Gambit

विश्व बुद्धिचाल महासंघको फिडे वुमेन्स कमिसन फर चेसले मार्च महिनामा ‘फिडे वुमेन्स चेस म्याराथन’ सञ्चालन गरिरहेको छ र त्यसैअन्तर्गत हिमालयन चेस एकेडेमीले नेपालमा हिमालयन क्वीन्स ग्याम्बिट आयोजना गरेको हो, जसमा ६ वर्षदेखि ४७ वर्षसम्मका एक सय तीन खेलाडी सहभागी थिए । रोयल सिंगी होटलमा शनिबार दोस्रो बार्षिकोत्सव मनाएको हिमालयन चेस एकेडेमीले क्वीन्स ग्याम्बिटसँगै क्लासिकल, र्‍यापिड, ब्लिट्ज र पजल सोल्भिङ गरी कुल १४ प्रतियोगिता आयोजना गरेको छ ।

विजेता खेलाडीहरूलाई ट्रफी, मेडल तथा पुरस्कार हिमालयन चेस एकेडेमीकी संस्थापक मोनालिशा खम्बू, कोसी प्रदेश बुद्धिचाल संघका अध्यक्ष सुरेन्द्रकुमार राई, राष्ट्रिय स्वतन्त्र पार्टीकी नेतृ सिर्जना श्रेष्ठ, थापाथाली चेस पार्कका अध्यक्ष सानुराज बज्राचार्य र २०४५ सालका राष्ट्रिय बुद्धिचाल च्याम्पियन नवीन तन्डुकारले प्रदान गरेका थिए ।

कान्तिपुर

Link copied successfully