सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा मैदानमा शनिबारको खेलमा नव जनजागृतिले त्यसको उत्तर दिएको छ । त्यो हो, अब त्यस्तो हुने छैन । कम्तीमा अंकविहीन भएर रोकिने क्लबको नाममा पछि सम्झिनुपर्ने छैन ।
काठमाडौँ — लिग फुटबलमा एक अंकको अर्थ कति धेरै हुन्छ, त्यो नव जनजागृति क्लबलाई सोधे हुन्छ । अहिले चलिरहेको राष्ट्रिय लिग फुटबलमा नव जनजागृतिलाई जोडेर एउटा प्रश्न थियो, कतै यो टिमले अंकविहीन भएर प्रतियोगिता सकाउने त होइन ?
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा मैदानमा शनिबारको खेलमा नव जनजागृतिले त्यसको उत्तर दिएको छ । त्यो हो, अब त्यस्तो हुने छैन । कम्तीमा अंकविहीन भएर रोकिने क्लबको नाममा पछि सम्झिनुपर्ने छैन ।
प्रतियोगितामा आफ्नो दसौं चरणको खेलमा पहिलो अंक जोड्न नव जनजागृतिले सातदोबाटो युवालाई १–१ को बराबरीमा रोकेको थियो । यसअघिका सबै ९ खेलमा लगातार हार बेहोरेको थियो । विक्रम थोकरले २६ औं मिनेटमा गोल गर्दै नव जनजागृतिलाई सुरुआती अग्रता दिलाएको थियो । त्यसपछि सातदोबाटोको तर्फबाट अरुण लामाले बराबरी गोल फर्काए । यो नतिजाले नव जनजागृतिलाई धेरै राहत दिनेछ । सातदोबाटो भन १० खेलबाट ८ अंकमै सीमित रह्यो । टोलीको यो लगातार दोस्रो र समग्रमा पाँचौं बराबरी पनि हो ।
शनिबार नै दशरथ रंगशालामा भएको दोस्रो खेल पनि बराबरीमा टुंगिएको थियो । यसपल्ट एनआरटीले श्री भगवती क्लब टोखालाई १–१ को बराबरीमा रोकेको हो । निश्चित हारतर्फ अग्रसर रहेको एनआरटी अन्त्यमा एक अंक बटुल्न सफल रह्यो । कप्तानी भूमिकामा रहेका अञ्जन विष्टले दोस्रो हाफको इन्ज्युरी समयको चौथो मिनेटमा बराबरी गोल फर्काए । उनको यो लगातार दोस्रो गोल हो ।
त्यस अगाडि श्री भगवतीले ६६ औं मिनेटमा बाख्रोमजानको गोलबाट अग्रता लिएको थियो, तर अन्त्यमा त्यसलाई कायम राख्न सकेन । भगवतीको ११ खेलबाट ९ अंक भएको छ । यससँगै टोलीको लगातार दुई खेलको हारमा पनि उपलब्धिमूलक पूर्णविराम लागेको छ । एनआरटीको भने ११ अंकमा २० अंक भएको छ । एनआरटीको यो लगातार दोस्रो बराबरी रह्यो । यो क्लबलाई पनि बराबरी खेल्ने बानी परेको छ ।
यसअघि जितको संघारबाट कमजोर प्रदर्शन गर्ने एनआरटीले यसपल्ट यसको ठीक विपरीत हारको स्थितिबाट एक अंक खोसेको छ । एनआरटीको यो पाँचौं बराबरी हो । यसमा टिम खुसी रहने छैन । पाँचै बराबरी ६ खेलमा निस्केको हो । सबैभन्दा उल्लेखनीय के छ भने एनआरटी १० खेलमा अपराजित छ । यो एनआरटीका लागि चिन्ताको विषय भने हुन सक्नेछ ।
