एपीएफको चित्लाङसँग निराशाजनक बराबरी

एपीएफको यसपल्ट गोल गर्न नसकेको यो दोस्रो खेल मात्रै हो ।

चैत्र १, २०८२

कान्तिपुर संवाददाता

APF's disappointing draw with Chitlang

What you should know

काठमाडौँ —  नेपाल एपीएफ क्लब राष्ट्रिय लिग फुटबलमा आफ्नो ११ खेल क्रममा अपराजित मात्र रह्यो तर सातदोबाटोको एन्फा कम्प्लेक्समा आइतबार चित्लाङ एफसीविरुद्धको खेल गोलरहित बराबरीमा टुंगिनु उसका लागि निराशाजनक रहनेछ । एपीएफको यसपल्ट गोल गर्न नसकेको यो दोस्रो खेल मात्रै हो । 

यो नतिजापछि एपीएफ २५ अंकमा दोस्रो स्थानमै रह्यो । चित्लाङलाई हराएको भए, त्यसले एपीएफलाई शीर्षमा उकाल्ने थियो । अब मछिन्द्र एफसीसामु अबको आफ्नो खेल जितेर स्पष्ट तीन अंकको अग्रता लिने अवसर हुनेछ । मछिन्द्रको पनि समान २५ अंक नै रहेको छ र गोल अन्तरले शीर्ष स्थानमा छ । उसले एक खेल कम पनि खेलेको छ । 

यस्तोमा प्रतियोगिताको सुरुआतदेखि उपाधि होडमा रहेको एपीएफका लागि अहिलेको बराबरी नतिजा ठूलो धक्काका रूपमा रहेको छ । उसले पछिल्ला चार खेलमा ६ अंक मात्र बटुल्न सकेको छ । त्यसको विपरीत मछिन्द्रले भने पछिल्ला तीन खेल लगातार जितेको छ र उपाधि होडमा सबैभन्दा बलियो देखिएको छ । चित्लाङका लागि एपीएफविरुद्ध प्राप्त एक अंक बहुमूल्य रहनेछ । उसको १२ खेलबाट आठ अंक भएको छ । चित्लाङले पछिल्ला चार खेलमा लगातार हार बेहोरेको थियो । अहिलेको नतिजाले उसको हारको क्रम पनि रोकिएको छ ।  

उपाधि होडमा रहेको चर्च ब्वाइज युनाइटेड दशरथ रंगशालामा दिनको तेस्रो तथा अन्तिम खेलमा पनि फ्रेन्ड्स क्लबको हातबाट २–० ले पराजित रह्यो । फ्रेन्ड्सका लागि भने यो प्रतियोगितामै उसको सबैभन्दा ठूलो जित रह्यो । उसका लागि मासायात ताहाराले २८ औं मिनेटमा पहिलो गोल गरेपछि मौसम सुब्बाले ४५ औं मिनेटमा दोस्रो गोल गरे । दोस्रो हाफमा थप गोल हुन सकेन र फ्रेन्ड्स जितका लागि पूर्णतः हकदार रह्यो ।

यो जितले फ्रेन्ड्सको ११ खेलबाट १२ अंक भएको छ । उसको यो लगातार दोस्रो र समग्रमा तेस्रो जित हो । सहिद स्मारक लिग ए डिभिजन विजेता चर्च ब्वाइज भने आफ्नो दसौं खेलपछि २२ अंकमा रोकियो । यससँगै चर्च ब्वाइजको सात खेलको लगातार जित क्रममा पनि पूर्णविराम लागेको छ । चर्च ब्वाइजले प्रतियोगितामा गोल गर्न नसकेको यो पहिलो पटक हो र यो उसका लागि ठूलै घाटाको प्रदर्शन रह्यो ।  

यसअघि दिनको पहिलो खेलमा जावलाखेल युथ क्लबले काँक्रे विहार क्लबलाई सजिलै ४–१ ले हराएको थियो । सातदोबाटोको एन्फा कम्प्लेक्समा भएको खेलमा जावलाखेलका लागि निकोलस ह्यामल्टनले दुई गोल गरे, ५० र दोस्रो हाफको इन्ज्युरी समयको चौथो मिनेटमा । खेलमा अग्रता लिने काम झने काँत्रे विहारले गरेको थियो, जति बेला दीपेन्द्र चुनाराले छैटौं मिनेटमा गोलको खाता खोले ।

त्यसपछि बोबाकर सिसिखोले १६ औं मिनेटमा बराबरी गोल फर्काए । जावलाखेलको तेस्रो गोल भने विकास दर्नाली मगरको नाममा रह्यो र उनले ६४ औं मिनेटमा गोल गरेका हुन् । यो जितपछि जावलाखेलको १० खेलबाट १४ अंक भएको छ । उसको यो प्रतियोगितामा चौथो जित हो । काँक्रे विहार भने दसौं खेलमा नवौंपल्ट पराजित रह्यो र उसको एक मात्र अंक रहेको छ । अर्को जितहीन नव जनजागृति पनि एकै अंकमा रहेको छ । 

कान्तिपुर

Link copied successfully