प्रतियोगिताको शुक्रबार दशरथ रंगशालामा कृत्रिम प्रकाशमुनि भएको खेलमा लालीगुराँसले मनाङ मर्स्याङ्दीसँग गोलरहित बराबरी खेलेको हो । यो नतिजाले पोखरेली क्लबको ११ खेलबाट २१ अंक भएको छ ।
काठमाडौँ — राष्ट्रिय लिग फुटबलमा पछिल्लो समय लालीगुराँस टिमलाई एउटा बानी परेको छ, बराबरी खेल्ने । यसले कम्तीमा टोलीको अपराजित यात्रा भने कायम छ । प्रतियोगिताको शुक्रबार दशरथ रंगशालामा कृत्रिम प्रकाशमुनि भएको खेलमा लालीगुराँसले मनाङ मर्स्याङ्दीसँग गोलरहित बराबरी खेलेको हो । यो नतिजाले पोखरेली क्लबको ११ खेलबाट २१ अंक भएको छ । टोलीको यो लगातार चौथो बराबरी हो ।
लालीगुराँसले समग्रमा बराबरी खेलेको भने ६ खेल भएको छ । त्यसमा तीन खेल त गोलरहित बराबरी रह्यो । केही सुधारिएको मनाङको भने ११ खेलबाट १३ अंक भएको छ । सुरुआती तीन खेल गुमाएर खराब सुरुआत गरेको मनाङले पछिल्ला तीन खेलबाट भने ५ अंक बटुलेको छ । मनाङको पनि यो चौथो गोलरहित बराबरी हो ।
त्यसअघि दिनको दोस्रो खेलमा मछिन्द्रले पुलिस क्लबमाथि १–० को जित रच्यो । यससँगै मछिन्द्र अंकतालिकाको पहिलो स्थानमा उक्लेको छ । टोलीको १० खेलबाट २५ अंक भएको छ । मछिन्द्रको यो लगातार तेस्रो जित हो । त्यसभन्दा महत्त्वपूर्ण के भने यी तीन खेलमा टोलीले लगातार क्लिन सिट राखेको छ । त्यतिमात्र होइन, मछिन्द्रले आफ्ना ७ खेलमा क्लिन सिट राखेको छ । यसले टिम आफैंमा कति सुदृढ छ, त्यो भने प्रस्ट देखिन्छ । त्यस्तै प्लानिङ ब्वाइजले चित्लाङलाई ५–२ ले हराएको थियो । यसपल्टको लिगमा एकै खेलमा सात गोल भएको यो तेस्रोपल्ट मात्रै हो । प्लानिङको जितमा दुई गोल गर्ने खेलाडी रहे, पापा कबे । उनले सुरुमै गोलको खाता खोले । अन्तिम गोल पनि उनकै रह्यो । यसबीच एलेक्स विलाने, निङ्मा घिसिङ र प्रताप राईले एक–एक गोल गरे । चित्लाङबाट दुवै गोलसोलोमन एडेयिन्काको नाममा रह्यो । यो नतिजाले प्लानिङ ११ खेलबाट २२ अंकमा रह्यो ।
प्लानिङको यो छैटौं जित हो । लगातार तीन जितपछि टोलीको भागमा यो जित निस्केको थियो । चित्लाङ भने ११ खेलबाट ७ अंकमै सीमित रह्यो । लगातार ४ हारले टिममाथि दबाब भने हुनुपर्ने हो । पछिल्ला ९ खेलमा टोलीले २ अंकमात्र बटुल्न सकेको छ । यसले टिमले लय गुमाएको प्रमाणित हुन्छ । चित्लाङले सुरुआती दुई खेलमा ४ अंक बटुलेर केही राम्रो गर्ने संकेत दिएको थियो, पछि त्यसलाई कायम राख्न भने सकेन ।
