पहिलो चार खेल जितेर यी दुई टोली फाइनलतर्फ अग्रसर भएको थियो । ललितपुरलाई हराएर काठमाडौं लगातार पाँचौं जित्दै फाइनल सुरक्षित गर्न सफल भयो ।
काठमाडौँ — काठमाडौं जिल्ला शनिबार प्रधानमन्त्री कप बागमती प्रदेश पुरुष क्षेत्रीय क्रिकेट प्रतियोगिताको फाइनलमा पुगेको छ । काठमाडौंले राउन्ड रोबिन लिगको निर्णायक मानिएको खेलमा ललितपुरलाई ७९ रनले हरायो ।
पहिलो चार खेल जितेर यी दुई टोली फाइनलतर्फ अग्रसर भएको थियो । ललितपुरलाई हराएर काठमाडौं लगातार पाँचौं जित्दै फाइनल सुरक्षित गर्न सफल भयो । बागमती प्रदेशअर्न्तगतका ६ र त्रिभुवन विश्वविद्यालय गरी ७ टोलीले राउन्ड रोबिन लिगमा प्रतिस्पर्धा गरेपछि शीर्ष दुई टोलीले फाइनल खेल्ने प्रावधान छ । ललितपुरले सोमबार हुने लिगको अन्तिम खेलमा मकवानपुरलाई पराजित गरे काठमाडौंसँग फाइनल खेल्नेछ ।
मूलपानीको माथिल्लो मैदानमा टस जितेको काठमाडौंले निर्धारित ५० ओभरमा ९ विकेट गुमाई २ सय ८१ रन बनायो । सोनु देवकोटाले सर्वाधिक ७२ रन बनाए । प्लेयर अफ द म्याच उनले ५७ बलमा ३ चौका र ६ छक्का प्रहार गरे । उत्तम थापामगरले ८२ बलमा ९ चौकासहित ७१ रन बनाए ।
ओपनरद्वय रित गौतम २ र सम्राट शाह २३ रनमै आउट भए । अभिषेक बुढाऐरले ३९ रन बनाए । उनले ७६ बलमा ३ चौका प्रहार गरे । कप्तान इशान पाण्डेले २० बलमा ३ चौकासहित २८ रन बनाए । उपेन्द्र खत्री ७, प्रसिद्ध जैसी ५, सुमन विश्वकर्मा २ रनमा आउट भए । सन्दीप पराजुली ७ र दयानन्द मण्डल ९ रनमा अविजित रहे ।
जबाफमा ललितपुर ३५.४ ओभरमा २ सय १० रनमै अलआउट भयो । कप्तान आशुतोष घिरैया र विवेक रानामगरले अर्धशतक बनाए पनि अरू सस्तैमा आउट भए । आशुतोषले ३९ बलमा ९ चौका र १ छक्कासहित ५१ तथा विवेकले ७२ बलमा ६ चौका र ५ छक्कासहित ८८ रन बनाए ।
रोनिम तिवारी ७, आदिल खान १३, सचिन लेखक १२, विपिन आचार्य १७ रनमा आउट भए । ललितपुरले अन्तिम ६ विकेट १२ रनमा गुमाएको थियो । दयानन्द र सोनुले काठमाडौंबाट ४–४ विकेट लिए । दयानन्दले ५.४ ओभरमा ३९ र सोनुले ९ ओभरमा ४४ रन खर्चे । इशान र उपेन्द्रको नाममा १–१ विकेट रह्यो ।
भक्तपुरको आशा जीवितै
भक्तपुरले फाइनलमा पुग्ने झिनो आशा कायमै राखेको छ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भक्तपुरले नुवाकोटलाई १ सय ६४ रनले हरायो । भक्तपुरको ५ खेलमा यो तेस्रो जित हो । नुवाकोटको भने यो पाँचौं हार हो ।
शिवम तिवारीको शतकमा टस जितेर ब्याटिङ रोजेको भक्तपुर ४९.५ ओभर खेल्दै ३ सय ८० रनमा अलआउट भयो । शिवमले १ सय १३ रन बनाए । उनले ७९ बलमा १२ चौका र ४ छक्का प्रहार गरे । रिङजिन लामा ९ र कप्तान क्रिस कार्की शून्यमा आउट भएको अवस्थामा शिवमले तेस्रो विकेटमा सौरभ साखकर्मीसँग १ सय ११ रनको साझेदारी गरे । सौरभले ७१ बलमा १३ चौका र २ छक्कासहित ८९ रन बनाए ।
अविनाश बस्याल ४१ बलमा समान १ चौका र छक्कासहित ३३ रनमा अविजित रहे । सक्रियप्रताप कार्की २७, सुवास खत्री २३, विवेक यादव २१ र भूपेन्द्र आचार्य १८ रनमा आउट भए । नुवाकोटका इशान पाली र विधान खतिवडाले ३–३ विकेट लिए । इशानले १० ओभरमा ६५ र विधानले ८ ओभरमा १ मेडन राख्दै ६८ रन खर्चे । अफजल मन्सुरले २ तथा गणेश गौतम र योगेश भाट क्षेत्रीले १–१ विकेट लिए ।
नुवाकोटले पुरै ५० ओभर खेल्दा ९ विकेट गुमाई २ सय १६ रनमात्र बनाउन सक्यो । अनुभव खनालले सर्वाधिक ४७ रन बनाए । उनले ८४ बल खेल्दै ४ चौका प्रहार गरे । राजेश रिमाल ३५ बलमा ५ चौका र २ छक्काका साथ ३८, मन्जित थपलिया ४३ बलमा ५ चौकासहित ३७, कैलाश भट्टराई २४, योगश १४ र आयुश दुलाल १२ रनमा आउट भए । इशान १२ रनमै अविजित रहे ।
अलराउन्ड प्रदर्शन गर्नेक्रममा शिवमले ४ विकेट लिए । उनले १० ओभरमा ३६ रन खर्चे । सुवासले १० ओभरमा ४८ रन खर्चेर ३ तथा क्रिस र अविनाशले १–१ विकेट लिए ।
