प्रधानमन्त्री कप क्रिकेटको कोशी छनोटमा झापा र उदयपुर विजयी 

मंगलबारसम्म चल्ने प्रतियोगितामा कोशी प्रदेशको झापा, मोरङ, सुनसरी, इलाम, उदयपुरका खेलाडीहरू प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगिताबाट उत्कृष्ट प्रदर्शन गर्ने १८ जना खेलाडी छनोट गरिनेछ ।

फाल्गुन ३०, २०८२

अर्जुन सुवेदी

Jhapa and Udayapur win in Koshi selection for Prime Minister's Cup cricket

What you should know

सुनसरी — प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताको कोशी छनोट अन्तर्गत शनिबार भएको खेलमा झापा र उदयपुर विजयी भएका छन् । आफ्नो पहिलो खेलमा झापाले सुनसरीमाथि १ सय १२ रनको फराकिलो जित निकालेको छ ।

विराटनगरस्थित मेरीबोन ज्वाला क्रिकेट खेल मैदानमा झापाले प्रस्तुत गरेको २ सय ५ रनको विजयी लक्ष्य पछ्याएको सुनसरी २१ दशमलव ५ बलमा ९२ रनमा समेटियो । सुनसरीका लागि कप्तान भूपाल लुइँटेलले २४ रन बनाउँदा रविन मण्डलले १५ र गौरव कटुवालले १३ रन बनाउनु बाहेक अन्यले रन जोड्न सकेनन् । झापाका ज्ञानबहादुर श्रेष्ठले ५ विकेट लिँदा छविलाल खड्काले ४ विकेट हात पारे ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको झापाले निर्धारित ५० ओभरको खेलमा ८ विकेट गुमाउँदै २ सय ४ रनको योगफल खडा गरेको थियो । झापाको मध्यम योगफलमा भूपाल दंगालले सर्वाधिक ५१ रन बनाउँदा भूषेश दंगालले ४३, आशिष राणामगरले ३२, समिर कार्कीले ३१ र अंकित सुवेदीले २४ रनको योगदान दिए । सुनसरीका कविराज खत्रीले ३ विकेट लिए ।

शनिबार नै इटहरीमा भएको अर्को खेलमा सोनु अन्सारीको विस्फोटक ब्याटिङको मद्दतमा उदयपुरले इलामलाई ३१ रनले पराजित गरेको छ । इटहरीस्थित जनता क्रिकेट खेल मैदानमा पहिले ब्याटिङ गरेको उदयपुरले निर्धारित ५० ओभर पूरै खेल्दै ५ विकेटको क्षतिमा २ सय ७६ रनको उच्च योगफल बनाएको थियो । उदयपुरको जितमा १ सय ६ बलको सामना गरेका सोनुले १९ चौका र ८ छक्काको मद्दतमा १ सय ५३ रनको सानदार पारी खेले ।

सुमन श्रेष्ठले ५४ रन बनाउँदा सुशान्त तिमल्सिनाले २७ र आइस भट्टराईले १४ रन जोडे । इलामका सुयोग भट्टराईले २ विकेट लिए । जवाफमा २ सय ७७ रनको विजयी लक्ष्य पछ्याएको इलाम ३८ दशमलव २ बल खेल्दै २ सय ४५ रनमा समेटियो । इलामका शिवांश बजगाईँले सर्वाधिक ७२ रन बनाए पनि त्यो जितका लागि पर्याप्त बन्न सकेन । अनिल लामिछानेले ३८, लब कामतले ३७ र विशाल आचार्यले १८ रन जोडे ।

मंगलबारसम्म चल्ने प्रतियोगितामा कोशी प्रदेशको झापा, मोरङ, सुनसरी, इलाम, उदयपुरका खेलाडीहरू प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगिताबाट उत्कृष्ट प्रदर्शन गर्ने १८ जना खेलाडी छनोट गरिनेछ । छनोट भएका उनीहरूले चैतको पहिलो साता काठमाडौं, वीरगन्ज र जनकपुरमा हुने प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा कोशी प्रदेश टिमबाट खेल्ने छन् ।

अर्जुन

Link copied successfully