‘फुटबल भन्नु नै एक प्रकारले विश्वास हो, खेलाडी, समर्थक र फुटबलसँग जोडिएका सबैले विश्वास गर्नुपर्छ, नेपाली फुटबलले पनि केही गर्न सक्छ भनेर’
काठमाडौँ — हेर्दैमा गुग्लिएर्ल्मो एरेना सौम्य देखिन्छन् । त्यसै पनि इटालीका फुटबल व्यक्तिहरू ‘ह्यान्डसम’ हुन्छ भनिन्छ । उनी पनि कम्तीका छैनन् । यहाँ चर्चा गरिरहेका छौं, नेपाली राष्ट्रिय पुरुष टिमका नवनियुक्त इटालियन प्रशिक्षक एरेनाको । अखिल नेपाल फुटबल संघ (एन्फा) ले शुक्रबार उनलाई मिडियासामु प्रस्तुत गर्दा उनको व्यक्तित्व दमदार नै रह्यो । उनको हाउभाउले भनिरहेको थियो, धेरै बोल्न मन पराउने व्यक्तित्व होइन ।
अब प्रश्न हो, यत्तिको प्रशिक्षकले नेपाली फुटबललाई कहाँ पुर्याउने छन् त ? उनी कति आक्रामक हुनेछन् त ? अहिले राम्रा, गुनिला कुरा गरेर पछि नेपालीहरू आफैंमा खराब छ भन्ने आरोप लगाएर अन्यत्र जाने त होइनन् ? उनको सबैभन्दा ठूलो चुनौती ठ्याक्कै अगाडि छ, सेप्टेम्बर–अक्टोबर ताका हुने मेन्स साफ च्याम्पियनसिप फुटबल । त्यसमाथि अहिले नेपाली फुटबल आफैंमा कहाँ मज्जाले अगाडि बढिरहेको छ त ?
सायद यी प्रशिक्षक चलाख उत्तिकै छन् । त्यसैले उनले पहिलो पटक औपचारिक रूपमा अगाडि आउँदा खासै धेरै वाचा गरेनन् । यस्तो र उस्तो गर्ने छु भनेर धाक पनि लगाएनन् । उनको ठ्याक्कै उत्तर थियो, ‘अबको केही सातामा चाहिँदो उत्तर दिनेछु ।’ त्यसो त सातदोबाटोस्थित एन्फा कम्प्लेक्स र दशरथ रंगशालामा उनी देखिन थालेको पनि साता दिनभन्दा बढी भइसकेको छ । अहिले चलिरहेको रौनकविहीन राष्ट्रिय लिगलाई उनले खुबै गम्भीर भएर हेरिरहेका छन् ।
सायद उनी धेरै गम्भीर देखिनुको कारण उनीसँग भएको यूईएफए ‘प्रो लाइसेन्स’ पनि हुनसक्छ । यसअघि आएका विदेशी प्रशिक्षकले जस्तै उनले भने, ‘नेपाली फुटबल खेलाडीमा अन्तर्राष्ट्रिय खेलका लागि चाहिने गुण छ । तर यसलाई फैलाउने काम अहिले चलिरहेको लिगले गर्न सक्दैन ।’
उनलाई लाग्छ, अहिलेको लिगले खेलाडीलाई चाहिने ‘फिटनेस’ र खेलको अनुभव दिँदैन । अरू सबैलाई जस्तो उनलाई पनि लागिरहेछ, नेपाली फुटबलमा अब्बल दर्जाका स्ट्राइकर छैनन् ।
त्यसैले एरेनाले भने, ‘मलाई लाग्छ, नेपाली फुटबलको समस्या भनेकै गोल गर्नुमा छ जस्तो लाग्छ । अहिलेको लिग हेर्दा अधिकांश टिमका लागि अगाडि खेल्ने खेलाडी भनेकै विदेशी छन् ।’ अरू धेरै प्रशिक्षक जस्तो उनी खेलाडी छँदा राम्रा थिएनन् । उनले खालि स्विट्जरल्यान्डमा ‘सी’ डिभिजनसम्मको खेल खेलेका छन् । तर प्रशिक्षक भएर उनले बाक्लै अनुभव कमाइसकेका छन् । त्यो पनि विशेषतः एसियामै । त्यसमा क्लब अनि राष्ट्रिय टिम पनि पर्छ ।
सन् २००३ यता उनमा अफ्रिका र युरोपमै काम गरेको अनुभव छ । उनको पछिल्लो सबैभन्दा राम्रो अनुभव भनेकै लाओसको राष्ट्रिय टिम सम्हाल्नु हो । संयोग पनि कस्तो भने उनकै नेतृत्वमा नेपालले एसिया कप छनोटको तेस्रो चरणको अन्तिम खेलमा खेल्ने भनेकै त्यही लाओसविरुद्ध हो । अर्को संयोग, दुवै टिमको यो छनोटमा चुनौती सकिएको छ । दुवैका लागि यो खेल खासमा प्रतिष्ठाको लडाइँ मात्र हो ।
छनोटको एउटा खेलमा नेपाल लाओससँग पराजित रहेको थियो । त्यसअघि लाओस त्यही टिम थियो, जुन नेपालविरुद्ध खेल्दा जहिल्यै कमजोर हुन्थ्यो । अहिले पनि लाओसले नेपाललाई हराउने काम गर्छ भने त्यो नेपाली फुटबलकै लागि एउटा असाध्यै खराब प्रदर्शन हुनेछ । यहाँनिर एउटा गाह्रो कुरा के छ भने नेपालले यो खेल दशरथ रंगशालामा खेल्न पाउने छैन, खेल्ने चाहिँ कता हो, त्यो पनि टुंगो छैन ।
त्यसअगाडि नेपालले मैत्रीपूर्ण अन्तर्राष्ट्रिय खेलमा हङकङको सामना गर्दै छ । प्रशिक्षक एरेना यसैको सेरोफेरोमा भन्छन्, ‘एसिया कप छनोटको तेस्रो चरणमा हाम्रो चुनौती सकिसकेको छ । त्यसैले मलाई लाग्छ, अबको दुवै खेल मैत्रीपूर्ण नै हो । यी यस्ता खेल हुन्, जसमा हामीले केही न केही प्रयोग भने गर्न सक्छौं । मलाई के थाहा छ भने यतिबेला नेपाली फुटबल समर्थकलाई राम्रो नतिजा चाहिएको छ ।’
त्यसैले उनी के भन्छन् भने टिमको प्रदर्शनमा सुधार चहिएको छ अनि नेपाली समर्थकलाई खुसी बनाउनु छ । उनले यसबीच एउटा अर्थपूर्ण आफ्नो धारणा राखेका छन्, नेपाली फुटबलमा अहिले केही पनि छैन र भइरहेको छैन भन्ने पृष्ठभूमिमा । उनको भनाइ थियो, ‘फुटबल भन्नु नै एक प्रकारले विश्वास हो । म भन्छु खेलाडी, समर्थक र नेपाली फुटबलसँग जोडिएका सबैले विश्वास गर्नुपर्छ, नेपाली फुटबलले पनि केही गर्न सक्छ भनेर ।’ सायद उनलाई थाहा छ, नेपाल जस्तो देशमा आफूले भने जस्तो सबै हुने पनि छैन ।
