नेपाल ओलम्पिक कमिटी (एनओसी) ले ओलम्पिक काउन्सिल अफ एसिया (ओसीए) को कार्यक्रमअन्तर्गत नेपालमा पनि एसियन गेम्स फन रन आयोजना गर्न लागेको हो ।
काठमाडौँ — २० औं एसियाली खेलकुदको प्रवर्द्धनका लागि शनिबार ‘एसियन गेम्स फन रन’ हुन भएको छ । नेपाल ओलम्पिक कमिटी (एनओसी) ले ओलम्पिक काउन्सिल अफ एसिया (ओसीए) को कार्यक्रमअन्तर्गत नेपालमा पनि एसियन गेम्स फन रन आयोजना गर्न लागेको हो ।
२० औं एसियाली खेलकुद जापानको आइची/नागोया सहरमा सेप्टेम्बर १९ देखि अक्टोबर ४ सम्म हुनेछ । प्रत्येक चार वर्षमा हुने एसियाडलाई उत्सवको रुपमा मनाउने क्रममा फन रन हुँदै आएको एनओसीले जनाएको छ । शनिबार बिहान ७ः३० बजे सातदोबाटोस्थित एनओसी मुख्यालयबाट फन रन सुरु हुनेछ । त्यसबाट विभिन्न स्थान हुँदै पाटन दरबार स्क्वायर पुगेर सकिनेछ । करिब ३ किलोमिटर दुरीमा हुने रुटमा सहभागीले पाटनका सम्पदा क्षेत्रको अवलोकन गर्ने अवसर पाउने जनाइएको छ ।
ओलम्पिकको भावनाअनुरुप हुने यस परम्परालाई कायम राख्न एनओसीले विगतका एसियन गेम्स अगाडि पनि फन रन आयोजना गर्दै आएको एनओसी अध्यक्ष जीवनराम श्रेष्ठले बताए ।
ओलम्पिक काउन्सिल अफ एसियाका डेपुटी डारेक्टर विनोदकुमार तिवारी, आइची/नागोया एसियन गेम्सको आयोजक कमिटीका मिडिया विभाग र पीआर निर्देशक फुमिहितो कानाइजुका र विभागका म्यानेजर मानामी ओकुमुराको पनि फन रनमा उपस्थिति रहने छ । फन रनका लागि एनओसी सचिव रामकृष्ण श्रेष्ठको संयोजकत्वमा ५ सदस्यीय एसियन गेम फन रन आयोजक समितिको गठन गरिएको छ ।
२० औं एसियाली खेलकुदमा भाग लिनका लागि एनओसीमार्फत् नेपालबाट ३२ खेल दर्ता भइसकेको अध्यक्ष श्रेष्ठले जानकारी गराए ।
