नारायणी रंगशालाको मर्मत तथा पुनर्निर्माण सुरु

३ वर्षअघि यो ब्लकको आधा अर्थात् करिब ५० मिटर प्याराफिट ५ करोड रुपैयाँमा लागतमा निर्माण गरिएको थियो ।

फाल्गुन २९, २०८२

शंकर आचार्य

पर्सा — वीरगन्जस्थित नारायणी रंगशालाको मर्मत तथा पुनर्निर्माण सुरु गरिएको छ । जीर्ण रंगशालाको ‘सि ब्लक’ प्याराफिट भत्काएर बिहीबारदेखि नयाँ प्याराफिट निर्माण सुरु गरिएको हो ।

३ वर्षअघि यो ब्लकको आधा अर्थात् करिब ५० मिटर प्याराफिट ५ करोड रुपैयाँमा लागतमा निर्माण गरिएको थियो । हाल २ करोड १७ लाख ७२ हजार ४ सय २३ रुपैयाँ ७० पैसामा (मुअकर र पिएस बाहेक) ठेकेदार अंकुर निर्माण सेवा प्रालिले थप ५२ मिटर प्याराफिट निर्माणको ठेक्का सकार गरेको हो ।

संघीय सरकारले ४ करोड रुपैयाँको टेण्डर आह्वान गरेकोमा अंकुर निर्माण सेवाले आधाभन्दा बिलोमा गई ठेक्का सकार गरेको हो । राष्ट्रिय खेलकुद परिषद्‍का इन्जिनियर शिवचन्द्र यादवले सम्झौताअनुसार, ठेकेदार कम्पनीले २०८३ असार १० सम्ममा निर्माण सम्पन्न गरी सक्नु पर्ने छ ।

इन्जिनियर यादवले फुटबल स्टेडियमको रुपमा पुनर्निर्माण भइरहेको यो रंगशालामा ८ वटा एथलेटिक ट्र्याक पनि निर्माण गरिने छ । 

रंगशालामा कूल चार ब्लक रहेकोमा चार वटै ब्लक जीर्ण भइसकेको छ । १५ हजार दर्शक क्षमताको यो रंगशाला करिब ४५ वर्ष पुरानो हो । अब यो निर्माण कार्य सम्पन्न भएपछि सि ब्लक नयाँ स्वरुपमा देखिनेछ । यस वर्ष जेन-जी सरकारले राखेपको एक सय योजनामध्ये नारायणी रंगशाला र सातदोबाटोस्थित तेक्वान्दोको पुरुष आवासगृहको योजना फुकुवा गरेको र अत्य सबै योजना रोक्का गरेको छ ।

यो रंगशाला नयाँ स्वरुपमा निर्माण गर्न पाँच वर्षअघि राखेपले तयार गरेको गुरुयोजना १ अर्ब १६ करोड रुपैयाँको रहेको छ । जसमा फुटबल रंगशालाको साथै अर्को क्रिकेट रंगशाला पनि समावेश छ । डीपीआरमा रंगशालासँगै ट्र्याक एण्ड फिल्ड, प्याराफिट, पार्किङ, क्रिकेट ग्राउण्ड, बहुउद्देश्यीय कभर्ड हलसमेत निर्माण गर्ने प्रस्ताव छ ।

जिल्ला खेलकुद विकास समितिका अध्यक्ष दीपक साह कानुले यस अघिको संघीय सरकारले चालु आर्थिक वर्ष २०८२/८३ को बजेटमार्फत रंगशाला पुनर्निर्माणका लागि ४ करोड रुपैयाँ विनियोजन गरेकोमा बजेट निकासा भएपछि निर्माण कार्य अघि बढाइएको जानकारी दिए ।

उनले पनि हाल उपलब्ध बजेटबाट प्रारम्भिक चरणका काम मात्र सम्पन्न हुने भएकाले रंगशालाको पूर्ण मर्मत तथा स्तरोन्नतिका लागि थप बजेट आवश्यक पर्ने बताए ।  

पहिलो चरणको निर्माण पूरा भएपछि नेपाल सरकार र युवा तथा खेलकुद मन्त्रालयसँग थप बजेट माग गर्ने तयारी गरिएको छ । लामो समयदेखि मर्मत अभावका कारण यो रंगशाला जीर्ण भएको छ ।

विगतमा यहाँ राष्ट्रियस्तरका विभिन्न खेलकुद प्रतियोगिता आयोजना हुने गरे पनि पछिल्ला वर्षहरूमा संरचना कमजोर भएपछि ठूला प्रतियोगिता संचालन हुन सकेको छैन । विगतमा तेजबहादुर अमात्य गोल्डकप प्रतियोगिता आयोजना भएको यो रंगशालामा अन्तिम पटक विशाल मेमोरियल गोल्डकप प्रतियोगिता आयोजना भएको थियो । त्यसयता कुनै खेलकुद प्रतियोगिता आयोजना हुन सकेको छैन ।  

२०३८ सालमा तत्कालीन नारायणी अन्चल अञ्चलाधीश लक्ष्यबहादुर गुरुङको पहलमा १७ बिघा १० कठ्ठा जग्गा खरिद गरी यसको योजना अघि बढाइएको थियो । २०४२ सालमा निर्माण सम्पन्न भएको रंगशालाको उद्घाटन तत्कालीन राजा वीरेन्द्रले गरेका थिए । 

२०४२ सालमा निर्मित यो रंगशालामा २०४३ सालमा तेस्रो राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना गरिएको थियो ।

शंकर आचार्य कान्तिपुरका पर्सा संवाददाता हुन् ।

Link copied successfully