आर्मीलाई हराएर एपीएफ शीर्षस्थानमा

हारले आर्मी उपाधिको हकदार नरहेको देखिएको छ । आर्मीको यो १० खेलमा दोस्रो हार हो । आर्मीले चर्च ब्वाइजसँगको खेलमा पनि पराजय भोगेको थियो ।

फाल्गुन २९, २०८२

कान्तिपुर संवाददाता

APF takes the top spot after defeating Army

काठमाडौँ — विभागीय टोली एपीएफ क्लबले राष्ट्रिय लिग फुटबलमा बिहीबार त्रिभुवन आर्मी क्लबमाथि १–० को महत्त्वपूर्ण जित निकालेको छ । यो जितले एपीएफको प्रतियोगितामा अपराजित यात्रा मात्र कायम रहेन, उपाधिका लागि साँच्चैको बलियो प्रत्याशी पनि बनेको छ ।

हारले आर्मी उपाधिको हकदार नरहेको देखिएको छ । आर्मीको यो १० खेलमा दोस्रो हार हो । आर्मीले चर्च ब्वाइजसँगको खेलमा पनि पराजय भोगेको थियो । यता एपीएफले भने १० खेलमा सातौं जित निकालेको छ र टोलीको २४ अंक भएको छ ।

दशरथ रंगशालामा भएको खेलमा एपीएफका लागि सबिन गुरुङले निर्णायक गोल गरेका थिए । उनले ७६ औं मिनेटमा गरेको गोलले एपीएफलाई बहुमूल्य ३ अंक दिलाएको हो । यो दोस्रो स्थानमा रहेको मछिन्द्र क्लबमाथि २ अंकको अग्रता हो । आर्मी भने २० अंकमै सीमित रह्यो । आर्मीले लालीगुराँस एसोसिएसनसँग बराबरी खेलेको थियो ।

त्यस अगाडि दिनको पहिलो खेलमा चर्च ब्वाइजले काँक्रेबिहारलाई २–१ ले पराजित गरेको थियो । सहिद स्मारक लिग ‘ए’ डिभिजन विजेताले जितका लागि एक प्रकारले संघर्ष गर्नुपरेको थियो । सुदनविक्रम सिंहले फेनाल्टीबाट काँत्रेविहारका लागि एक गोल फर्काएपछि चर्च ब्वाइज लगभग दबाबमा परेको थियो । यद्यपि थप गोल भने भएन । चर्च ब्वाइजले रिचार्ड कोफीको गोलबाट सातौं मिनेटमा अग्रता लिएको थियो । त्यसपछि उनले नै २९ औं मिनेटमा दोस्रो गोल पनि थपेका थिए ।

यो जितले चर्च ब्वाइजको ९ खेलबाट २२ अंक भएको छ । विजय नतिजाले चर्च ब्वाइज केही घण्टाका लागि भएता पनि अंक तालिकाको दोस्रो स्थानमा उक्लेको थियो । मछिन्द्र पनि समान अंकमै छ । गोल अन्तरले सहिद स्मारक लिगको अर्को पूर्व विजेता चर्च ब्वाइज अगाडि छ । चर्च ब्वाइजको यो लगातार सातौं जित हो । काँक्रेबिहार भने लगातार तेस्रो हारपछि १ अंकमै सीमित रह्यो । टोली अहिलेसम्म जितविहीन छ ।

दोस्रो खेलमा संकटाले श्री भगवतीलाई १–० ले हरायो । त्यसमा निर्णायक गोल गर्ने खेलाडी रहे, कृष्णबहादुर आले । उनले ६९ औं मिनेटमा गोल गरेका हुन् । राष्ट्रिय लिगमा उनको यो तेस्रो गोल हो । यससँगै संकटाको १० खेलबाट १२ अंक भएको छ । यसमा ३ जित समावेश छ । आफ्ना पछिल्ला ३ खेलमा संकटाले ७ अंक बटुलेको छ । श्री भगवती भने १० खेलबाट ८ अंकमै सीमित रह्यो । टोलीको यो लगातार दोस्रो र समग्रमा छैटौं हार हो ।

कान्तिपुर

Link copied successfully