मध्यपूर्वमा चलिरहेको तनावबीच यस स्थितिलाई लिएर फिफाले बोलेको यो पहिलो पटक हो ।
लाउसाने — फिफा अध्यक्ष जियानी इन्फाटिनोले बुधबार दाबी गरेका छन्, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबाट मध्यपूर्व तनावका बीच पनि विश्वकप फुटबलमा इरानलाई स्वागत रहेको बताएका छन् । फेब्रुअरी २८ मा अमेरिका र इजरायलले संयुक्त रूपमा इरानमाथि आक्रमण गरेपछि अहिले मध्यपूर्व युद्धको भुमरीमा छ । यसैले अमेरिकासहित क्यानडा र मेक्सिकोले संयुक्त आयोजना गर्ने विश्वकपमा इरानको सहभागिता अनिश्चित बनेको हो ।
प्रतियोगिताको तयारीलाई लिएर भएको भेटवार्ताबारे इन्स्ट्राग्राममा इन्फाटिनोले लेखेका छन्, ‘हामीले छलफलका क्रममा इरानमा रहेको स्थितिबारे पनि कुराकानी गरेका थियौं । यसैक्रममा राष्ट्रपति ट्रम्पले अमेरिकामा हुने विश्वकपमा सहभागी हुन इरानलाई स्वागत हुने बताएका थिए ।’ मध्यपूर्वमा चलिरहेको तनावबीच यस स्थितिलाई लिएर फिफाले बोलेको यो पहिलो पटक हो ।
फिफाले गत डिसेम्बरमा शान्ति पुरस्कार स्थापना गरेर पहिलो पटक राष्ट्रपति ट्रम्पलाई नै प्रदान गरेको थियो । इन्फाटिनोले इरानको सहभागितालाई लिएर सकारात्मक सन्देश दिन चाहेको भएता पनि गत साताको राजनीतिक घटनाक्रमले त्यस्तो छनक भने दिएको छैन । राष्ट्रपति ट्रम्पले मिडियासँगको कुराकानीमा भनेका छन्, ‘इरानले खेल्छ वा खेल्दैन, त्यसमा मलाई कुनै मतलब छैन ।’
पछिल्लो समय राष्ट्रपति ट्रम्प र फिफा अध्यक्ष इन्फाटिनोबीच नजिकको सम्बन्ध छ । यस क्रममा उनले राष्ट्रपति ट्रम्पको दोस्रो कार्यकाल सुरु हुँदा भएको शपथ ग्रहण कार्यक्रममा पनि सहभागिता जनाएका थिए । यसबीच इरानी फुटबल संघका अध्यक्षले विश्वकपमा आफ्नो टिमको सहभागितालाई लिएर मंगलबार मात्रै अनिश्चितता पोखेका थिए ।
अस्ट्रेलियामा भइरहेको महिला एसिया कपमा इरानका केही खेलाडीले आफ्नो देश नफर्कने निर्णय गरेपछि यो स्थिति बनेको हो । आधा दर्जनभन्दा बढी महिला खेलाडीले शरण मागेका छन् । अध्यक्ष मेहदी ताजले इरानी सरकारी टेलिभिजनसँग भनेका छन्, ‘अबको विश्वकप यस्तै हुने हो भने कुनै पनि देश आफ्नो टिमलाई बाहिर पठाउन इच्छुक रहने छैन ।’
इरानले समूह चरणमा खेल्ने विश्वकपका तीन खेलमध्ये दुई लस एन्जलसमा रहेको छ भने एक खेल सियाटलमा हुनेछ । इरानले अबको विश्वकपमा भाग लिएन भने त्यो सन् १९५० मा ब्राजिलमा भएको प्रतियोगितामा फ्रान्स र भारतले नाम फिर्ता लिएयताको पहिलो घटनाक्रम हुनेछ ।
